घरभित्र बसेर पूजा पाठ गरेर समृद्धि आउँछ त : शेरधन राई
फाइल तस्बिर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नारा र कार्यक्रमलाई अन्यथा नलिन विपक्षीहरूलाई आग्रह गरेका छन् ।

प्रदेश सरकारले नारा नै नाराले भरिएको नीति तथा कार्यक्रम ल्याएको भन्दै संसदमा विपक्षीले आलोचना गरेपछि मुख्यमन्त्री शेरधन राईले नारा र सपनाले मात्र समृद्धिको बाटो निर्माण गर्ने बताए ।

प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशनको सातौं बैठकलाई सम्बोधन गर्दै नारा, सपना र आकांक्षा नै नदेख्ने हो भने  कुनै पनि काम गर्न नसकिने बताए ।

‘सपना नदेख्ने हो भने घरभित्र बसेर पूजा पाठ गरेर समृद्धि आउँछ त ?’, मुख्यमन्त्री राईको प्रश्न थियो, ‘हामीले सपना र नारा बोकेर हिँड्नै पर्छ ।’ सबै नारा पूरा नहुन सक्ने तर महत्त्वाकांक्षा र ती नारा पूरा गर्नका लागि धेरै कुराले साथ दिनु पर्ने राईले बताए ।

‘सपना र महत्त्वाकांक्षा पुरा हुनका लागि केही परिस्थिति, स्रोत, कानुन, मानसिकता तथा इच्छा शक्तिका कुराले पनि त्यसलाई काम गर्छ’, उनले भने,  ‘कुनै नारा र महत्त्वाकांक्षा बोकेर  नहिँड्ने हो भने समृद्धि आउन सक्दैन त्यसैले यसबाट नारा मात्र आयो भनेर आत्तिनु पर्दैन ।’

उनले शिर निहुर्याउनु पर्ने तथा अप्ठेरो मान्नु पर्ने कुनै पनि काम सरकारले नगरेको पनि स्पष्ट पारे ।



रक्सी ब्रान्डिङको कुरा गर्दा ज्वरो आयो

नीति तथा कार्यक्रममा स्थानीय उत्पादनको अन्वेषण र बजारीकरणको कुरालाई रक्सीसँग मात्र जोडिएकोमा मुख्यमन्त्रीले आपत्ति प्रकट  गरे ।



उनले ब्यान्ड भर्सेस ब्रान्डको कुराले कतिपय सांसदलाई १०४ डिग्रीको ज्वरो आएको बताए ।

‘कोभिडको बहानामा कुनै क्षेत्रको अध्ययन नै नगर्ने ? घरेलु उत्पादनको ब्रान्डिङको अनुसन्धान नै नगर्ने ? के त्यो स्थानीय उत्पादन भनेको रक्सी मात्र हो ?’, उनले प्रश्न गर्दै भने, ‘कोरियाले पठाएको छ्याङ खाएर नेपाली गफिने, दक्षिण कोरिया, जापानका उत्पादनको प्रचार गर्न जान्ने तर घरेलु उत्पादनको बारेमा अनुसन्धान र ब्रान्डिङको कुरालाई अन्यथा लिन मिल्दैन ।’

यसैबीच प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १८:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया