'केपी ओलीलाई सत्तामै राखेर एमाले एक हुँदैन'
समानान्तर गतिविधि अझै बढ्छ, नयाँ पार्टी बन्दैन

विवाद उत्कर्षमा पुगेका बेला गत जेठ २ मा गठित एमालेको कार्यदल सोमबारबाट एक्कासि ब्यूँतिएको। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रोपटक संसद विघटन गरेपछि कार्यदल निस्क्रिय थियो। एमाले नेपाल–खनाल समूहका संयोजक भीम रावल नै कारबाहीमा परेपछि कार्यदलले काम गर्न सकेको थिएन। यद्यपि एमालेका दोस्रो तहका नेताहरु कयौँ पटक पार्टी एकता बचाउन सक्रिय छन्। 

ओलीले दोस्रोपटक गरेको संसद विघटनको मुद्दाबारे सर्वोच्च अदालतले यही असार २८ गते फैसला सुनाउने भएको छ। यसबीचमा सोमबार नै निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ मा हुने मध्यावधि निर्वाचनको पूरा कार्यतालिका नै सार्वजनिक गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेकै २३ सांसदहरुले गरेको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी शर्मा ओलीले दिएको ७२ घण्टे अवधि पनि हिजै सकिएको छ। ७२ घण्टे अल्टिमेटम सकिँदै गर्दा एमालेभित्र दुई रोचक दृश्य देखिए। पहिलो, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हार्डलाइनर नेता भीम रावलको बालुवाटार 'इन्ट्री'। दोस्रो-कारबाहीमा परेका नेता रावलसहितको कार्यदल ब्यूँतिनु।

सिंहदरबारमा सोमबार साँझ बसेको कार्यदलको बैठकपछि दुवै पक्षका नेताहरुले कुरा केही सकारात्मक भएको बताएका छन्। ओली-नेपालबीच लामो अन्तरद्वन्द्वमा दोस्रो तहका नेताहरुको सक्रियताले काम गर्ने केही सम्भावना देखिएका छन्। यो कुरा हिजो बसेको कार्यदल बैठकपछि दुवै पक्षका नेताहरुले बताएका छन्। यस्तोमा के एमाले एक बनाउन अध्यक्ष ओली लचक भएका हुन? वरिष्ठ नेता नेपाल ओलीसँगै मिल्न तयार भएका हुन्? यस्ता सवाल आममानिसमाझ उठेका छन्। तर, नेपाल-झलनाथ खनाल पक्षका हार्डलाइनरहरुको तर्क भने ओलीले आफ्नो सत्ता स्वार्थ पूरा गर्न मात्रै एकताको रटान लगाएको तर्क छ। ओलीकी कट्टर आलोचक नेपाल समूहकी एकजना नेतृ रामकुमारी झाँक्री ओलीले अझै पनि सत्तामा टिकिरहनका लागि एकताको रटान लगाइरहेको बताउँछिन्। दोस्रो तहका नेताहरु र कार्यदलको सक्रियताको अर्थ नहुने उनको तर्क छ। झाँक्रीले एमाले मिलाउने या फुटाउने सबै जिम्मा अहिले ओलीको काँधमा रहेको तर्क गरेकी छन्। ओली पार्टी अध्यक्ष रहेकाले पार्टी उनले चाहेमा मिल्ने झाँक्रीले बताइन्। माधव नेपाल या अन्य दोस्रो तहका नेताले चाहँदैमा एमाले एक हुन नसक्ने उनको बुझाइ छ। झाँक्रीले प्रधानमन्त्री पदमा टिकिरहन ओलीले नयाँ कार्ड फ्याँकेको अनुमान गरेकी छन्। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चबाट आउने सम्भावित फैसलाले उब्जाउने समस्याको अन्दाज लगाउँदै ओलीले एकताका नाममा नयाँ ‘डिजाइन’ गरेको हुन सक्न उनको अनुमान छ। यही सन्दर्भमा फरकधारले पूर्वसांसद झाँक्रीसँग संवाद गरेको छ।

एमाले मिलाउन अहिले पनि दोस्रो तहका नेताहरु लाग्नुभएको छ। फेरि एकताको टुसा पलाएको हो?

जति ठूला डम्फु, बाजागाजा बजाएर हामी अनसन बसे पनि हाम्रो चाहनाले पार्टी एकता हुँदैन। हामी नेपाल–खनाल समूहको आकांक्षाले एकता हुँदैन। पार्टी एकताका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले चाहनुपर्छ। उहाँले एकता चाहने भनेको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिए पनि पार्टी कार्यकाल र सरकारको नेतृत्वमा टिक्नका लागि  मात्रै हो। पार्टी नेतृत्वमा रहिरहने अर्कातिर प्रधानमन्त्रीमा विश्वासको मतको लफडा भयो भने पनि आफ्नो कार्यकालमै मध्यावधि चुनाव गर्ने वातावरण बनाउने गरी उहाँले पार्टी एकतामा चाहनुहुन्छ। 

महत्वपूर्ण मुद्दा ओली समूहका लागि यो हो कि सरकार बन्ने प्रक्रियामा हामी (नेपाल समूह) कहाँ उभिन्छौँ। हाम्रा नेताले कारबाही खाएर पनि कर्णालीमा फ्लोर क्रस त गरे। कर्णालीमा प्रदेशका सांसदले त त्यो कुरा गरे भने हामीले त्यो कुरा नगर्ने कुरै भएन। अर्को महत्वपूर्ण कुरा हामीले शेरबहादुर देउवालाई दिएको समर्थन हो। सरकार निर्माणका लागि देउवाको पक्षमा हामीले प्रक्रियागत रुपमा मात्रै समर्थन गर्‍यौं। निर्णायक अवस्थामा अर्थात् पेनाल्टी हान्ने बेलामा हामी त्यहीँ उभिन्छौँ कि उभिन्नौं भन्ने सवाल महत्वपूर्ण हो। अब हामीलाई फेरि कारबाही गरे पनि ओलीतिर उभिन्नौँ। हामीलाई अर्को कारबाही गरे पनि अब फरक पर्दैन। १० वर्षको कारबाही गरे पनि के भयो र? आखिर ओलीको प्रधानमन्त्री पद जाने भएपछि गर्ने कारबाहीले फरक पर्दैन।



ओली प्रधानमन्त्रीबाट बिदा नभई तपाईंहरुको समर्थन हुँदैन भन्न खोज्नुभएको हो?

हामी अर्को पार्टी बनाउँला वा कारबाही हुन्जेल यहीँ बसौँला। हामीलाई कारबाही गरेर मात्रै त प्रधानमन्त्री नामको चिज बाँकी छन्जेल न हो। त्यसकारण पार्टी एकता नामको वस्तुमा हामीलाई मिलाएर त्यो गर्न खोजिएको हो भने अदालतको निर्णय भएपछि संस्थागत निर्णय गर्नेगरी अगाडि बढ्ने। केपी ओलीबाहेकलाई हामीले प्रधानमन्त्रीबाट समर्थन गर्न नपाऊँ, विश्वासको मत लिन नपाऊँ भनेर पार्टीको निर्णय भन्नेबित्तिकै ओलीले अहिले एकलौटी मान्छे हालेर बहुमत पुर्‍याएछन्। त्यही निर्णयमा हामीलाई बाध्य पारौँ भन्न, फेरि प्रधानमन्त्रीमा एक डेढ वर्ष टिकिरहुँ भन्नका लागि अथवा  फेरि उनी विश्वासको मतमा जाऔं भन्लान्। त्यसबीचमा अब माओवादीले उनलाई मत हाल्दैन। महन्थहरु ठाकुरका मान्छेले दिँदैनन् होला। अस्ति महन्थका मान्छेहरु अल्मल्याएको पनि चुनावको लागि हो। किनभने अहिले भारतीय पक्ष संसद खारेज होस् भन्ने चाहन्छ। त्यहीकारण ओलीले राजेन्द्र महतोहरूलाई कोटा पुर्‍याउन उभ्याएका हुन्। महन्थहरु नउभिने भएपछि ओलीले १३६ को बहुमत पुर्‍याउने कुरा हामी यतै आए पनि अब सम्भव छैन। विश्वासको मत नभइसकेपछि संविधानको धारा ७६ (५) अनुसारको बहुमतको प्रधानमन्त्री अब जालसाजी रुपमा अघि बढ्छन्। ओलीले राष्ट्रपति त विद्या भण्डारीलाई बनाएका हुन्। हामीले संस्थागत निर्णय गर्ने भनियो भने देउवाले दिएको समर्थन नहुने भने। त्यो हुँदा देउवालाई बहुमत हुँदैन। देउवालाई बहुमत नहुनेबित्तिकै यिनीसँग बहुमत भएर आफैँ प्रधानमन्त्री हुने भए अहिलेलाई। १५३ जनाको हस्ताक्षर पेश गरिएको छ राष्ट्रपति कार्यालयमा। राष्ट्रपति कार्यालय मतको परीक्षण गर्ने ठाउँ होइन, त्यो काम त हाउसमा हुन्छ भनेर न्यायालयमा बहस चलिरहेको छ। 



यो प्रक्रियामा फेरि नियुक्ति हुन्छ। फेरि उनको नेतृत्वमा संसद विघटन गर्ने कुरालाई राखेर मध्यावधिमा जानैपर्ने अवस्था ल्याइन्छ। संविधानलाई खारेज गर्ने भारतको डिजाइनमा काम भएको हुन सक्छ। अहिले एमालेको कार्यदल सक्रिय भएको छ। यो मिलाउन भन्दा ओली आफू निरन्तर प्रधानमन्त्री बन्नका लागि भएको डिजाइन हो। ७२ घण्टे अल्टिमेटम पनि त्यही हो। जुन कुरा हामीले गर्नै मिल्दैन, यदि देउवाको समर्थन फिर्ता गर्ने हो भने हाम्रो राजनीतिक अस्तित्व नै रहँदैन। ओलीले एकताका नाममा चाहेको त्यही हो। 

तपाईँहरुका पक्षका नेता भीम रावल पनि ओलीसँग वार्ता भन्दै नेपालको दूतका रुपमा बालुवाटार छिर्नुभयो। एकताका लागि दोस्रो तह सक्रिय छ भनिन्छ नि?

केही कुरा भइहाले पनि माधव नेपाललाई होला, तर दोस्रो तहका नेताहरुलाई केही हुनेवाला छैन। उनीहरुका खुफिया एजेन्सीले काम गरिरहेको छ। हुँदाहुँदा भीम रावल पनि बालुवाटार छिरेका छन्। मिल्ने सम्भावना अब बाँकी छैन। ओलीले प्रधानमन्त्री हुँदा मान्ने कि नमान्ने भन्ने विषयमा कुरो अड्कियो। त्यसमा हामीले समर्थन जनाउनै सक्दैनौँ।

कहिले भेटिएला एमालेको मिलन बिन्दु?

केपी ओली सत्ताबाट च्युत भएपछि मिलनबिन्दु भेटिन्छ। अब मिल्ने सम्भावना भनेको स्थानीय चुनाव पछाडि मात्रै सम्भव हुने कुरा हो। ओली पार्टी सक्नेतिर लागेका छन्। हिजो एमाले विघटन गराएर नेकपा बनाए। त्यसपछि नेकपा विघटन गराए। अहिले एमाले विघटन गराउँदैछन्। ओलीबाहेक यो धर्तीमा एमाले अध्यक्ष कोही हुन सक्दैनन् र? 

पृथ्वी सुब्बा गुरुङले माधव नेपाललाई प्रधानमन्त्री बनाएर पार्टी जोगाउन सकिन्छ भनेका थिए। यसमा के छ तपाईंको धारणा?

पृथ्वी सुब्बा गुरुङ एमालेभित्र विद्रोही आवाज हुन्। ओलीकै कारण उनले मुख्यमन्त्री पद गुमाउनु परेको छ। उनको आवाज विद्रोही आवाज हो। उनको पनि मुख्यमन्त्री पद भर्खरै गुमेको हो। उनको बोलीले ओलीसामू खासै अर्थ राख्दैन। ओली महाराजले यस्तो कुरा सुन्दैनन्। ओलीलाई बाँकी कार्यकाल प्रधानमन्त्री लेखेर दिने कुरा र आगामी महाधिवेशन नहुन्जेल पार्टी अध्यक्षमा कायमै रहने कुरा लेखेर दिए मात्रै मान्छन्। ओली प्रधानमन्त्रीबाट बाहिरिएर केही समय कुरेपछि मात्रै एमाले एक हुने सम्भावना केही रहनसक्छ। एकपटक लडेपछि, पार्टी सकिने अवस्थामा पुगेपछि धुलो टकटक्याएर उठेपछि मात्रै एकता हुन्छ। ओली सत्तामा रहिरहेर एकता हुन्‍न, यो सम्भव कुरा नै होइन। पहिला ठक्कर खानुपर्यो, लड्नुपर्यो अनि सम्हालिएर उठेपछि एकता हुन्छ। 

अब कसरी अगाडि बढ्नुहुन्छ त?

अहिले हामी समानान्तर गतिविधिबाट जान्छौं। नयाँ पार्टी तत्काल बन्दैन। हामी पार्टीभित्रै अन्तरसंघर्ष चलाइरहनेछौँ। नयाँ पार्टी आवश्यकताले बन्छ तर अहिले तत्कालै त्यो सम्भावना छैन। 

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ९:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया