फ्रेन्च फरवार्ड निकोलस एनेल्काले पेरिस सेन्ट जर्मन (पिएसजी)बाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका थिए । उनी करिअरको अन्त्यतिर फेरि पिएसजीमै फर्किए ।
एनेल्काले युवा अवस्थामा चुनौतीलाई स्वीकार गर्दै युरोपका ठुला क्लबबाट खेले । उनले रियल मड्रिड, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, जुभेन्टस जस्ता ठुला क्लबमा व्यावसायिक जीवन बिताए ।
४५ वर्षीय एनेल्काले फ्रेन्च स्टार केलियन एमबाप्पेको बारेमा केही कुरा खोलेका छन् । उनले एमबाप्पेले विश्व फुटबलको सबैभन्दा ठुलो व्यक्तिगत अवार्ड बलुन डी’ओर जित्नका लागि पिएसजी छाड्नुपर्ने कुरा बताएका छन् ।
‘यदि ठुला सपना देख्छौ भने तिमीले कुनै समय पिएसजी छाड्नुपर्ने हुन्छ । पेरिसमा तिमीले उत्कृष्ट प्रदर्शन गरिरेहका छौँ र यो केवल फ्रान्समा मात्र सीमित छ’, एनेल्काले द एट्लेटिकसँगको कुराकानीमा भने, ‘विश्वको उत्कृष्ट लिग भनेको इङ्लिस वा स्पेनिस हो । तिमीले उत्कृष्ट लिग र खेलाडीसँग प्रतिस्पर्धा गरेकै छैनौँ ।’
‘तिमीले उत्कृष्टहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ जुन अवसर फ्रेन्च लिग वानले दिँदैन । फ्रेन्च लिग त्यति सहज पनि छैन, यसलाई गलत अर्थमा नलिनु तर मलाई लाग्छ इङ्लिस लिग सबैभन्दा प्रतिस्पर्धात्मक छ ।’
‘यदि तिमी उत्कृष्ट मात्र बन्न चाहन्छौ भने पिएसजीमा जे गरिरहेका छौ त्यो ठिक छ तर सर्वोकृष्ट बन्नका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल लिभरपुल वा म्यानचेस्टर सिटी जानु पर्ने हुन्छ । स्पेनिस क्लब रियल मड्रिड वा बार्सिलोना तथा इटालीबाट पनि विश्व फुटबलमा प्रभाव पार्न सकिन्छ’, एनेल्काले थपे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।