महोत्तरीको लोहारपट्टी नगरपालिका-७ की सुजिता ठाकुरको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय जलेश्वरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पक्राउ परेका ४ जना आरोपितलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेहरूमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहरपट्टी वडा नम्बर-७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बन्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मृतकको पति ३१ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनामा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरी मृतक सुजिताको बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको जानकारी दिए ।
उनले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनीले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्याएकाले पक्राउ गरिएको र घटनाको अनुसन्धान अझै पनि जारी रहेको भन्दै छिट्टै यस घटना सम्बन्धमा विस्तृत जानकारी दिइने बताए ।
गत जेठ २० गतेदेखि लोहारपट्टी नगरपालिका वडा नम्बर-७ भ्रमरपुरा बस्ने मुकेश ठाकुरको २७ वर्षीया श्रीमती सुजिता देवी ठाकुर आफ्नै घरबाट बेपत्ता भएको हुँदा खोज तलास गरी पाउँ भन्दै पिपरा गाउँपालिका वडा नम्बर-६ रतौली बस्ने सुजिताकी आमा सुनिता कुमारी पाण्डेले असार ६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन । उनकै निवेदनको आधारमा प्रहरी घटनाको अनुसन्धानमा जुटेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।