logo-img

कमनरकाे कथा
[कमनरको कथा ] ट्रान्जिट काठमाडौंमा जुत्ता सिलाइरहेका छन् भैरव, भेले भन्छन् ग्राहक, आफैंले सिलाएको जुत्ताको खान्छन् कुटाइ

काठमाडौं धेरैका लागि सपनाको सहर हो । अनि केहीका लागि एउटा ट्रान्जिट पोइन्ट पनि । सपनाको संसारलाई विपनामा ल्याउनका लागि केही मानिसहरु केही महिना काठमाडौंमा आफ्ना दैनिकी गुर्जाछन्, अनि उड्छन् समुद्रपारिको देशमा ।

सबै कुरा राम्रो भए अबको केही महिनापछि भैरव राम पनि ‘टाढाको देश’ पुग्नेछन् ।

सौभाग्य भनौँ कि दुर्भाग्य, साउदी जान पासपोर्टलाई ‘लाइन’मा राखिसकेका भैरवले अहिले काठमाडौंमै पनि आफ्नो इलम गरिरहेका छन् । काम गरेर पैसा जुटाइरहेका छन्, आफ्नो ट्रान्जिट जीवनका लागि ।

बाराबाट साउदीको सपना मनमा लिएर अहिले दैनिक काठमाडौंको कलंकी चोकमा पुग्छन्, भैरव राम । काठमाडौंकै कुनै महंगो एक कलेजको प्रचारका लागि बनाइएको ब्यानर भुइँमा ओच्छ्याउँछन् । अनि सुरु गर्छन् आफ्नो पसल । 

७ महिनाअघि झ्याप्पै साउदी उडौँला भनेर काठमाडौं आएका थिए, भैरव । तर, सोचेजस्तो भएन । केही समय काठमाडौंमा नै बस्नु पर्ने भयो । यतिको लामो समय काठमाडौंमा बस्दा उनले सोचे, केही काम नगर्ने हो भने साहुको ऋण बढ्दै मात्र जान्छ, उनले काम गर्ने निर्णय गरे ।

३ हजार रुपैयाँ बोकेर काठमाडौं आएका थिए, भैरव । 



केही दिनअघि कलंकी चोकमा आफूले लगाइरहेको मास्कलाई मिलाउँदै भैरवले यो तीन हजारको बेलिविस्तार सुनाए ।

‘१५ सय त आफू सुत्ने विछ्यौना किन्दैमा सकियो,’ उनको निधार खुम्चिएको देखियो, ‘१२ सयमा जुत्ता सिउने धागो र केही जोर जुत्ताका तलुवा, तुना र दुई वटा कैंची किनेँ ।’ त्यसपछि भैरवले आफ्नो पसलका लागि सबैभन्दा उपयुक्त ठाउँ छाने– कलंकी चोक ।



खासमा भैरवका काका काठमाडौंमा थिएनन् भने भैरवले यो काम सुरु गरिहाल्न सक्ने थिएनन् । यस अर्थमा मिश्रीलाल उनका मेन्टर हुन् ।

मेन्टर मिश्रीलाल हुँदैनथे भने ३३ वर्षका भैरवले घरका ३ छोराछोरी, श्रीमती र बाबुलाई कसरी सम्झाउन सक्थे होलान् ? यही प्रश्नको उत्तर उनी आफैंसँगै पनि छैन, यसको उत्तर खोज्न उनी लागेका पनि छैनन् ।

तर, भोलि साउदी जान पाएनन् भने भैरवले के गर्लान् ? 

यसका लागि सबैभन्दा ठूला आदर्श हुन् उनकै मेन्टर मिश्रीलाल । त्यो दिन भैरवकै पसलमा भेटिएका थिए, मिश्रीलाल । उनले आफ्नो कन्फिडेन्स सुनाए, ‘जुत्ता सिलाएरै मैले २ छोरी र २ छोराको विवाह गरेँ, छोरीहरुलाई दाइजोमा चाहिने सबै कुरा पनि यही जुत्ता सिलाएर पुर्याएँ ।’
 

मिश्रीलालको यो सफलताको कथाले भैरवलाई पनि भावुक बनाउँछ । अनि यसैमा मिश्रीलाल थप्छन्– काम गर्नुपर्छ, फल अवश्य मिल्छ ।

गीता कहिल्यै पढेका छैनन्, मिश्रीलालले । तर, उनलाई थाहा छ– कर्म गर, फल मिल्छ । यही सिद्धान्त र चाहना, यही विश्वास र दृढता लिएर भैरव अगाडि बढिरहेका छन्, छिमेकी काका मिश्रीलाललाई आदर्श मानेर, विश्वास र काठमाडौंमा जीवनको टेको मानेर ।

काठमाडौंमा दुई दशकभन्दा बढी बिताइसकेका ६४ वर्षका मिश्रीलालले अहिले भैरवलाई मात्र होइन, अरु तीन जनालाई ‘गार्जियनसिप’ गरिरहेका छन्, काठमाडौंमा । यी पाँचै जना एउटा कोठामा बस्छन्, एउटै भान्सामा पकाउँछन्, खान्छन् ।

‘गाउँमा खेती किसानी गरेर अब परिवार पाल्नै सकिँदैन,’ भैरवले साउदी जानै पर्ने कारणबारे सुनाए, ‘खानै नपुग्ने भएपछि नेपालमा बसेर के गर्नु ?’

नेपालमै बसेर काम गर्दाका दिन उनलाई अहिले राम्रोसँग सम्झना छ । केही महिनअघि मात्र कोरोना कहरका कारण काठमाडौंमा पनि लकडाउन भयो, देशभर कोरोना महामारीको ठूलो समस्या देखियो ।

काम भएन, भैरवले पनि कुनै काम गर्ने कुरै भएन ।

‘कमाइ नहुँदा के हुन्थ्यो भने साँझ र विहान अड्कल गरि गरि खान पथ्र्यो,’ भैरवको अनुहारको भाव मास्कले छोपेको छ, तर उनी पल्याकपुलुक यताउता फर्किए, उनको भाव बुझ्न कसले नसक्ला र ?

कामै नहुँदा पनि उनले आफ्नो जीवन धान्नका लागि हिसाब चाहिँ गर्न छोडेनन्; कोठाभाडा ४ हजार, बत्ती, पानीको पैसा र लत्ताकपडा ।

यसमा उनले कटाउन सक्ने भनेकै पैसा थियो, खानामा । काठमाडौंमा लकडाउन भइन्जेल उनले खाना कटौती गरे, उनका साथीहरुले खाना कटौती गरे ।

अहिले पनि त्यस्तो राम्रो कमाइ त छैन, भैरव रामको । तर, आशा छ– अब छिट्टै भिसा लाग्छ अनि उनी पुग्नेछन् उनको सपना पूरा गर्न सहयोग गर्ने देश ।

‘भिसा लागेपछि साउदी जान्छु,’ भैरवले फेरि भने ।

अनि साउदी गएपछि जीवनमा ठूलो भिन्नता आउनेमा विश्वास गरेका छन् उनले । र, उनी साउदी गएकै दिन उनको मात्र होइन, घरका सदस्यको सपना पनि उनले सँगसँगै लिएर जानेछन् ।

उनीसँग त यसको फेहरिस्त नै छ—

आमालाई नयाँ घर बनाउनु छ,
श्रीमतीलाई नयाँ गहना किन्नु छ,
छोराछोरीलाई नयाँ कपडा किन्नु छ
र, छ साहुको ऋण पूरै तिरेर ‘आजादी’ हुने सपना ।

यो लिस्ट सुनाइसकेपछि भैरवको आँखामा आँसु देखियो । तर, उनले हिम्मत हारेनन्, आँखाको डिलबाट आँसुलाई मास्कको फेरोसम्म आइपुग्न दिएनन् ।

बरु सुनाए एउटा खुसीको कथा ।

‘अहिले कम्तिमा पनि ९ सय जति त कमाइ हुन्छ,’ भैरवले भने, ‘कहिलेकाहीँ १२ देखि १३ सयसम्म पनि हुन्छ । जुन दिन अलिक धेरै कमाइ हुन्छ, त्यो दिन घर फोनमा अलिक लामो कुरा हुन्छ ।’

हामीसँग कुरा गर्दा खासमा भैरवले दुःखका कुरा कम सुनाउन चाहिरहेका थिए । उनले आफ्नो जीवनमा सुखदुःखको लिस्टलाई पक्कै ओल्टाइपल्टाइ पनि गरे ।

तर, बोल्दै जाँदा बारम्बार भावुक भएका भैरवको यो लिस्टमा सुखका कुरा होइनन्, दुःखका पोयाहरु पक्कै धेरै थिए ।

त्यसैले त उनले भने– यो देशमा हामीले काम गर्ने वातावरण पनि छैन ।

‘काम सानो ठूलो हुँदैन भन्छन्,’ उनले त्यो पोयाका डोरीहरु विस्तारै फुकाउन थाले, ‘तर, चार महिना यो काम गर्दा म खुस कम दुखी बढी भएको छु ।’

नहुन् पनि किन, त्यस्तै १५ दिन अगाडिको कुरा हो ।

४ जना केटाहरु भैरवको पसलमा आए । तीमध्ये एक जनाको जुत्ता च्यातिएको थियो । ती केटाहरुले भैरवलाई भने– जुत्ता सिलाइदे । 

जुत्ता सिलाएपछि भैरवले मागे, ५० रुपैयाँ ।

‘मेरो देशमा मैले काम गरेको पैसा माग्दा पिटाइ खाएँ, त्यही सिलाइदिएको जुत्ता लगाएर उनीहरुले मलाई गोदे,’ भैरवले भने, ‘बोली कसैको पनि मीठो हुँदैन, कसैले भेले भन्छन्, आफूभन्दा सानाहरुले पनि तँ भन्छन् ।’

जसै भैरव आफ्ना मनमा गाँठो परेर बसेका पोयाहरु खोलिरहेका थिए, उनको छेउमा बसिरहेका मिश्रीलालका आँखा पनि रसाइरहेका थिए । अनि जब जब भैरव अलिक भावुक कुरा गर्थे, मिश्रीलाल उनलाई मैथिली भाषामा केही भनिहाल्थे । त्यसपछि भैरवले आफ्ना कुरा बीचैमा रोक्थे ।

काठमाडौंमा आफूले पाइरहेको नराम्रो रेस्पोन्सबारे उनले सुनाउँदा पनि यस्तै भयो ।

मिश्रीलालले केही भने भैरवलाई । 

भैरवले आफ्नो हात हेरे । उनको हत्केलामा कोपिएको थियो, जुत्ता सिलाउँदा । अनि देखिएको थियो, छियाछिया । कुरालाई फ्याट्टै मोडेर मिश्रीलालले भैरवको हात हेर्दै भने– सिक्दै छ, अलिअलि त कोपिहाल्छ नि !

मिश्रीलालले यसो भनेपछि भैरवले फेरि आफ्नो हात हेरे । गाउँमा साहुको ऋणबारे सुनाउन खोजे, जीवनमा लिएको आशाबारे सुनाउन खोजे ।

अनि फेरि जोडे साउदीको कथा ।

रहरको सहर काठमाडौंमा जुत्ता सिलाउँदा खोपिएका हत्केलाका रेखाहरु के फेरिएका होलान् भैरव रामका ? के हत्केलका रेखाका डोबहरुमा आएको परिवर्तनले फरक पार्ला उनी साउदी पुगेपछिको जीवनमा ?

भैरव रामसँग यसको जवाफ छैन । तर, छ, मिश्रीलालसँग ।

‘आफूले त पढेको पनि छैन,’ उनले भने, ‘यसले त अलिअलि पढेको पनि छ, अब व्यवहार मिलाउँछ ।’

  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया