बाग्लुङमा बिहीबारबाट निषेधाज्ञामा कडाइ गरिएको छ । आगामी भदौ ५ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप गर्दै थप कडाइ गरिएको हो ।
नयाँ नियमअनुसार अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने गरिएको छ । गत मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण दर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो ।
केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमद्वारा जारी निषेधाज्ञाको आदेशअनुसार सबैखाले यातायात बन्द भएका छन् ।
बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी–गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न र पशुपक्षीका पसल हरेक आइतबार, बुधबार र शुक्रबार मात्र सञ्चालन हुनेछन् ।
यस्तै, तरकारी, फलफूल, दूध, मासु, पानीलगायत अत्यावश्यक सेवाका पसल स्वास्थ्य मापदण्डको पालना गरेर दैनिक बिहान १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । विवाहलगायत संस्कारजन्य कार्यमा पनि एक पक्षबाट जम्मा सातजना मात्र सहभागी भएर घरमै गर्नुपर्ने नियम तोकिएको छ ।
काम नपरी घरबाहिर ननिस्कन र भिडभाडजन्य कुनै पनि क्रियाकलाप नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा र व्यावसायिक तालिम परिषद्बाट सञ्चालन हुने पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुने जनाइएको छ ।
कोभिड–१९ विरुद्धको खोप अभियानले भने निषेधाज्ञामा पनि निरन्तरता पाउने केन्द्रले जनाएको छ । एम्बुलेन्स, दमकल, शववाहनलगायत अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधन सञ्चालनमा भने कुनै अवरोध छैन ।
सदरमुकामदेखि जिल्लाका विभिन्न भेगमा हुने खाद्यान्नको ढुवानीका लागि आइतबार, बुधबार र शुक्रबार सवारी साधन चलाउने दिइने भएको छ । बागलुङ भएर अन्य निषेधाज्ञा नभएका जिल्लामा जाने सवारीसाधनले भने जिल्लाभित्र यात्रु चढाउन र ओराल्नसमेत नपाउने भएका छन् ।
दोस्रो चरणको महामारी भित्रिएपछि गत वैशाख तेस्रो सातादेखि यहाँ निषेधाज्ञा जारी छ । बीचमा संक्रमणदर केही घटेपछि खुकुलो पारिएको निषेधाज्ञा पुनः सङ्क्रमण बढेसँगै कडा पारिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ६४८ छ । कोरोनाका संक्रमणका कारण ६३ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।