‘तपाईको मास्क खोइ?’ अभियानको ४ महिना : के-के गर्‍यो प्रहरीले ?

नेपाल प्रहरी। यो भन्न साथ सबैको मानसपटलमा एउटै कुरा आउँछ कानुन मिच्नेलाई समाउने कारबाही गर्ने निकाय। सामान्य गल्तीदेखि लिएर गम्भीर प्रकृतिका अपराध गर्नेसम्म जोसुकैलाई कानुनको कठघरामा ल्याउने जिम्मेवारी पाएको छ प्रहरीले। 

नजिकै प्रहरी देखिनेवित्तिकै उनीहरु तिर नजर नलगाउने कमै हुन्छन्। कानुनको पालना गराउने हतियार र डण्डा बोकेर हिँड्ने प्रहरी तर पछिल्लो केही महिना यता फरक भूमिकामा पनि देखिएका छन्।

अहिले प्रहरीको आफ्नो नियमित ड्युटी गर्ने क्रममा अर्को फरक जिम्मेवारी पनि पाएका छन्। हुन त यो उनीहरुका लागि डबल ड्युटी होइन, तर थप जिम्मेवारी भने हो।

 

अर्थात् पछिल्लो समय प्रहरीले आफ्नो मुख्य जिम्मेवारीसँगै अर्को सचेतनामूलक जानकारी दिने काम पनि गरिरहेका छन्। त्यो हो,‘तपाईको मास्क खोइ?’ अभियान।

देशमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन। कोरोना भाइरस संक्रमणबाट बच्न अपनाउनु पर्ने विशेष सावधानी मध्ये भीडभाडमा जाँदा मास्क लगाउनु सबै भन्दा महत्वपूर्ण मानिएको छ। संक्रमण न्यूनिकरणका लागि सहयोग पुर्याउने उद्देश्यले यो अभियान प्रहरीले सुरु गरको हो। 



के हो यो अभियान ?

कोरोनाको तेस्रो लहर सुरु भएपछि नेपाल प्रहरीले ‘तपाईको मास्क खोइ ?’ अभियान सुरु गरेको थियो। कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले यो अभियानको सुरु गरेको ४ महिना पुगेको छ।



‘तपाईको मास्क खोइ?’ भन्ने नाराका साथै ६ वैशाखदेखि मास्क वितरण अभियान पनि सुरु भएको थियो। प्रहरी मुख्यालयका अनुसार यो अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै १६ हजार ३४३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
नयाँ भेन्टिलेटरसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यो अभियान सुरु गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।

कोरोना संक्रमणबाट उत्पन्न हुने समस्या र चुनौतीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनका लागि यो अभियान सुरु गरिएको प्रवक्ता कुँवरको भनाइ छ।

प्रहरीले सुरु गरेको यो अभियान एकदम उपलब्धिमूलक पनि रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अभियानले धेरै मान्छेमा सर्तकता बढेको छ। 

प्रहरी प्रवक्ता कुँवर भन्छन्,‘अभियान थालनी भएपछि धेरैले सोधखोज गर्न थाले, अनि सबैलाई सम्झाउँदै गएपछि अधिकांशको मास्क लगाउने बानी बसिसकेको छ।’

यसले कोरोना संक्रमण नियन्त्रणमा ठूलो बल पुगेको उनको दावी छ। ‘सायद यो अभियान नभएको भए अहिले भइरहेको संक्रमण दर अझै बढेर जान्थ्यो होला’ कुँवरले भने। त्यस अर्थमा अभियान एकदम उपलब्धिमूलक रहेको उनले बताए।

९ लाख भन्दा बढीलाई निःशुल्क मास्क

संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नारासहित प्रहरीले अन्य विभिन्न सचेतनामूलक कार्यक्रम सञ्जाल गरिरहेको प्रहरी मुख्यालयले जनाएको छ।

पछिल्लो ४ महिनामा मात्रै नेपाल प्रहरीले ९ लाख ११ हजार ७८६ जनालाई निशुल्क मास्क वितरण गरेको मुख्यालयले जानकारी दिएको छ।

यसैगरी स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाको नियम उल्लंघन गर्ने १२३ जनालाई कारबाही गरेको छ। प्रहरीले उनीहरुबाट १२ हजार ६०० जरिवाना तिराएको छ। 

स्वास्थ्य मापदण्डको नियम उल्लंघन गर्नेलाई समेत कारबाही गरेको छ। स्वास्थ्य मापदण्ड पालना नगर्ने २ हजार ३६८ जनालाई रोकेर कोरोनाको असरबारे सम्झाएर पठाएको प्रहरीले जनाएको छ। 

यसका अलावा नेपाल प्रहरीले देशभर माइकिङ गर्ने, प्लेकार्ड, पर्चा पम्प्लेटमार्फत १५ हजार ९७७ जनालाई सचेत गराएको जानकारी दिएको छ।

कहाँ–कहाँ हुँदैछ अभियान?

प्रहरीको यो अभियान अहिले जारी नै छ। काठमाडौं उपत्यकाबाट सुरु भएको ‘तपाईको मास्क खोइ?’ अभियान अहिले लगभग देशभरीको फैलिएको छ। अधिकांश जिल्लाका प्रहरीले अहिले यो अभियानलाई एउटा जिम्मेवारीका रुपमा पूरा गरिरहेका छन्। त्यसैले चारैतिर एउटा चर्चा छ–‘तपाईको मास्क खोइ?’

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १५:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया