विश्व फुटबल बजारमा पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई भित्र्याउने हल्ला चलिरहेको थियो ।
रियलले पनि यो हल्लालाई सही साबित गर्ने प्रयासको सुरुवात गरेको छ । उसले एमबाप्पे भित्र्याउनका लागि पिएसजीसँग पहिलोपटक आधिकारिक प्रस्ताव राखेको छ।
रियल यी युवा फ्रेन्च फरवार्डका लागि मोटो रकम खर्च गर्न तयार देखिएको छ । स्पेनिस खेल पत्रिका मार्काले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एमबाप्पेका लागि १६० मिलियन युरोको प्रस्ताव गरेको बताएको छ ।
पिएसजी र एमबाप्पेबीचको सम्झौता अर्को वर्ष सकिँदैछ । त्यसैले क्लब उनीलाई कम्तीमा पनि एक वर्ष आफूसँगै राख्ने प्रयासमा छ । अर्को वर्ष फ्री एजेन्ट बन्ने भएकाले पिएसजीले राम्रो मूल्यमा एमबाप्पेलाई बेच्ने अपेक्ष सहित रियलले मोटो रकमको प्रस्ताव गरेको हो । यसमा क्लब र खेलाडी दुवै आशावादी छन् ।
सन् २०१८ मा अर्को फ्रेन्च क्लब मोनाकोबाट पिएसजी आएका एमबाप्पेले क्लबका लागि १७४ खेलमा १३३ गोल गरेका छन् ।
यो सिजनको ३ खेलमा १ गोल गरेका एम्बाप्पेले पिएसजीका लागि समान ३–३ लिग वान र कप दि फ्रान्स, दुई-दुई पटक कप दि ला लिग र ट्रफी डेस च्याम्पियनको उपाधि जितेका छन् । उनले एक च्याम्पियन्स लिग फाइनल पनि खेलेका छन् ।
आशावादी रियल मड्रिड
यहीं समरमा एमबाप्पेलाई भित्र्याउन सकिनेमा रियल आशावादी छ । उनले पिएसजीसँग नयाँ सम्झौता गर्न आनाकानी गरिरहेकोले पनि क्लबको आशा बढेको हो । यो सिजनको समर ट्रान्सफर ३१ अगस्टमा सकिँदैछ ।
क्लबका प्रशिक्षक कार्लो एन्लोट्टी पनि एमबाप्पे रियल आउनेमा आशावादी छन् । पछिल्लो समय क्लबका कसैले पनि एमबाप्पेको विषयमा कुनै टिप्पणी गरेका छैनन्। यसको मतलब उनीहरू एम्बाप्पेलाई स्वागत गर्न आतुर छन् ।
पिएसजी छाड्ने एमबाप्पेको इच्छा
एमबाप्पेले पछिल्लो केही समय यता क्लबसँग नयाँ सम्झौता गर्न आनाकानी गरिरहेकाले पनि एमबाप्पे पेरिस छाड्न चाहन्छन् भन्ने बुझ्न सकिन्छ ।
उनले रियलका लागि खेल्ने मनसाय बनाइसकेका छन् । पिएसजी अझै पनि एमबाप्पेले सम्झौता नवीकरण गर्ने कुरामा आशावादी रहे पनि उनको आनाकानी र रियलको प्रस्तावले अहिलेको अवस्था भने परिवर्तन भएको छ ।
१६० मिलियन युरोको प्रस्ताव सानो होइन तर पिएसजीले यसमा कस्तो प्रतिक्रिया दिने हो, त्यो भने समयले नै बताउला ।
(स्पेनिस खेलपत्रिका मार्काबाट साभार)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।