बेमौसमी वर्षाका कारण बझाङ थलारा गाँउपालिका–४ डिक्लामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागि गएको टोली फिर्ता भएको छ ।
पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । कार्तिक पहिलो हप्ता आएको बेमौसमी बर्षापछिको पहिरोमा परी उनीहरु वेपत्ता भएका हुन् ।
कार्तिक २ गते डिक्लामा पहिरोमा परी बेपत्ता भएकामध्ये चार जनाको मात्र शव फेला परेको छ । दुईवटा शवको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो ।
आठ दिनसम्म लगातार खोजी गरेको उद्धार टोलीले शव नभेटिएपछि १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरेको हो । घटना भएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो ।
पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।
उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सम्मिलित टोली उद्धार कार्यमा संलग्न थियो । एक साता भन्दा बढी भयो खोज्न थालेको, अब मान्छे जिउँदै होलान् भन्ने आशा पनि छैन । अब भेटिने सम्भावना नदेखेर टोली बुधबार साँझ घटनास्थलबाट फर्केको हो ।’
बेपत्ता भएकाहरू जिवित भेटिने सम्भावना नरहेकाले खोजीकार्य बन्द भएको र आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।