बलिउडमा गिरेको भारतीय पत्रकारिताको छवि

दीपावली-भाइटीकाको बिदाको अवसरमा उही थोत्रा राजनीतिका विषय नउठाएर आउनुस्, केही कुरा सिनेमा (बलिउड)को गरौं र आफ्नो पेशा पत्रकारिताका बारेमा निचोड निकालौं । अचेलका सम्पादक ‘नटग्राफ’ माग गर्छन् अर्थात् आफ्नो लेखको सार पहिलो अनुच्छेदमै दिन सकियोस् भन्ने चाहन्छन् । त्यसकारण, यो यहाँ प्रस्तुत छ- पछिल्ला दशकहरूमा पत्रकारका बारेमा बलिउड र लोकसंस्कृतिको हेराइ कसरी बदलिएको छ । 

१९५० को दशकमा पत्रकारलाई बदमासहरूलाई सिध्याउने र नायिकाको मन जित्ने असल मानिसको रूपमा प्रस्तुत गरिन्थ्यो । त्यसपछि धूर्त, कपटी, षड्यन्त्रकारी, टिआरपी लोभी र जोकरका रूपमा प्रस्तुत गर्न थालियो ।

पत्रकारहरूलाई देखाउने सवालमा त्यस्तो परिवर्तन कसरी आयो ? प्रायः मानिसहरू भन्छन्- हिन्दी सिनेमा (म केवल हिन्दी सिनेमाका बारेमा मात्रै जान्दछु) जनताको मुड र समाजमा आइरहेको परिवर्तनलाई पहिला सुँघ्छन् । त्यसैले १९५० र १९६० को दशकमा सिनेमा समाजवादी रहेको बुझ्न सकिन्छ । १९७० पछिको दशकमा त्यो लोकरिझ्याइँमा केन्द्रित रह्यो र आर्थिक सुधारपछिको समयमा त्यो धनी मानिसको सहरी आडम्बरमा अल्झिन पुग्यो ।

हिन्दी सिनेमाका बारेमा मभित्र यो विचार तब सुझ्यो जब लकडाउनको समयमा दुईथरिका कुरा भए । एक, पहिलो पटक हामीले घरमा स्मार्ट टिभी जोड्यौं र दोस्रो, हामीले ओटिटी प्लेटफर्मको प्रयोग गर्न थाल्यौं । हामीले आमटेलिशृंखला हेर्नुका साथै १९५० र १९६० को दशकमा बनेका ती क्लासिक सिनेमा पनि हेर्‍याैं जुन मैले पहिला हेर्न पाएको थिइनँ या हेरे पनि बाल्यकालमा हेरेका कारण त्यतिविधि सम्झना थिएन । हेर्नका लागि सिनेमा चयन यसरी गरियो कि, तिनका लोकप्रिय गीतलाई आधार बनाइयो, जुन गीत कयौं पिँढीले गुनगुनाइरहेका छन् । 

पहिलो सिनेमा १९५८ मा बनेको राज खोसलाको ‘कालापानी’लाई चुनियो । यो सिनेमा चुन्नुमा यसका दुई यादगार गीत ‘हम बेखुदी में तुमको पुकारे चले गए’ र ‘अच्छा जी मैं हारी चलो मान जाओ’ रहे । यसका नायक देवानन्द पत्रकार बनेका छन्, जो एक व्यक्तिको हत्याको झुटो आरोपमा जन्मकैद भोगिरहेका आफ्ना पितालाई जेलबाट छुटाउन चाहन्छ । उनी बम्बईबाट हैदरावाद पुग्छन् । र, पुराना अखबारमा यसबारे लेखिएका समाचार पढ्न पत्रिकाको कार्यालय पुग्छन् । पत्रकारीय दृष्टिकोणमा यो रोचक सन्दर्भ हो, किनकि त्यो अखबारमा नायिका मधुबाला रिपोर्टरको काम गरिरहेकी छन् । अब तपाईं कल्पना गर्न सक्नुहुन्छ कि, सिनेमाको कथा कसरी अघि बढ्छ र दुई पत्रकारको जित हुन्छ । 

देवानन्द १९५६ को गुरुदत्तको सिनेमा ‘सिआइडी’ मा पनि नायक छन् । त्यो सिनेमा पनि ‘ले के पहला पहला प्यार’, ‘जाता कहाँ है दिवाने, सब कुछ यहाँ है सनम’, ‘कहीँ पे निगाहेँ कहीँ पे निशाना’ तथा ‘आँखो ही आँखो मेँ इशारा हो गया’जस्ता गीतहरूका कारण अमर छ । त्यो सिनेमामा देवानन्द पत्रकार होइन, एक इमानदार सिआइडी इन्स्पेक्टर बनेका छन् । उनी यति निडर छन् कि, आफ्ना कमिस्नरकी छोरी रेखा (शकिलाले भूमिका निर्वाह गरेको)को पछि लाग्छन् । तर यसको कथाको केन्द्रमा एक कुशल सम्पादक छन् । सम्पादक श्रीवास्तव सारा धम्कीहरू र प्रलोभनलाई लत्याएर माफियाविरुद्ध लाग्छन् । 



देवानन्दको काँधमा हत्यारा र मास्टरमाइन्डलाई पक्रने जिम्मेवारी हुन्छ र उनलाई आफ्नो बोसको रखैलको भूमिकामा रहेकी वहिदा रहमानबाट मद्दत मिल्छ । अन्त्यमा, सत्य र साहसी पत्रकारिताको जित हुन्छ ।

तेस्रो उदाहरण पनि देवानन्दकै सिनेमाको दिन्छु । यसबाट के स्पष्ट हुन्छ भने, म देवानन्द र एसडी बर्मनको संगीतको निकै ठूलो फ्यान हुँ । राज खोसलाको १९५८ को सिनेमा ‘सोलहवाँ साल’ (‘रोमन होलिडे’को नक्कलजस्तो लाग्छ) मा देवानन्द एक इमानदार र रुचाइएको रिपोर्टर प्राणनाथको भूमिकामा छन् । 



सिनेमामा उनी रेलमा यात्रा गरिरहेका बखत ‘है अपना दिल तो आवारा...’ (हेमन्त कुमारको आवाजमा)गाउँदै गर्दा वहिदा रहमनासँग ठोक्किन पुग्छन् । यस्तो घटना रिपोर्टरसँग प्रायः हुने गर्छ । वहिदा आफ्नो परिवारलाई छाडेर प्रेमी (खलनायक)सँग भागिरहेकी हुन्छिन् । कता रोमान्चक ढंगमा अघि बढिरहेको हुन्छ र नायिका रिपोर्टरको हुन्छिन् ।

अब देवानन्दलाई छाडेर राज कपूर-नरगिसको १९५६ को सुपरहिट सिनेमा ‘चोरी चोरी’ मा प्रवेश गरौं । के तपाईं अहिले पनि त्यो सिनेमाको गीत गुनगुनाउनु हुन्न ? ‘ये रातेँ भिगी भिगी...’, ‘जहाँ मैं जाती हूँ, वही चले आते हो’, ‘आ जा सनम मधुर चाँदनी मेँ हम...’, ‘पन्छी बनी उड्ती फिरुँ मस्त गगन मेँ’ आदि ।

नरगिस धनी बाबुको छोरी बनेकी छन्, जो घरबाट भागेकी छन् । र, उनका पिता छोरी पत्ता लगाइदिनेलाई ठूलो पुरस्कार दिने घोषणा गर्छन् । राज कपूरले उनलाई खोजेर भेट्टाउँछन्, तर पैसाको पछि लाग्दैनन् । सिनेमामा उनले एक बेरोजगार पत्रकार सागरको भूमिका निर्वाह गरेका छन् । उनलाई नरगिसको कथा निकै रुचिकार लाग्छ, त्यो कथा आफ्नो सम्पादकलाई दिएर राम्रै पैसा कमाउन उनी सक्छन् । सिनेमाको अन्त्य कसरी हुन्छ तपाईं सोच्न सक्नुहुन्छ, धन र युवती दुवै पत्रकारको हुन्छ ।

त्यही दशकको अर्को सिनेमा छ गुरुदत्तको ‘मिस्टर एन्ड मिसेस ५५’ । त्यो सिनेमाको याद तपाईंलाई त्यसबखत हुन्छ जब म त्यसको एक गीत ‘जाने कहाँ मेरा जिगर गया जी...’ सम्झाउँछु । त्यसको विषय त्यो समयका लागि निकै प्रासंगिक थियो र आजको भाषामा त्यसलाई ‘वोक’ भन्न सकिन्छ । त्यो वर्ष हिन्दुहरुलाई तलाक दिने अधिकार दिइएको थियो । त्यसको मुख्य कथा एक धनी उत्तराधिकारीको भूमिकामा रहेकी मधुबाला र उनकी संरक्षक काकी ललिता पवार (जसलाई दूधमा झिँगा मानिन्छ)को वरिपरि घुमेको छ । बाँकी कथा तपाईंले सिनेमा हेरेर थाहा पाउन सक्नुहुनेछ ।

गुरुदत्त एक बेरोजगार कार्टुनिस्ट बनेका छन्, जो आफ्नो साथी जोनी वाकरको मद्दतमा बाँचेका छन् । उनी कामको खोजीमा अखबारहरुको कार्यालय चहारिरहेका हुन्छन्, त्यहीँ जोनी वाकर फोटोग्राफरको काम गरिरहेका हुन्छन् । मलाई निकै मन परेको दृश्य त्यो हो– जब ललिता पवार आफ्नी भतिजीका लागि सम्भावित दुलहा खोज्दै जोनी वाकरको ठेगानामा पुग्छिन् ।

‘तिमी कुनै काम गर्दैनौ, कुनै कमाइ छैन, के तिमीलाई नरमाइलो लाग्दैन ?’

‘मेरो टाउकोमाथि छत छ । म तीनछाक खाना खान्छु । यो सहरमा कयौं त्यस्ता मानिस छन्, जो मरो भन्दा निकै खराब अवस्थामा छन् ।’

भित्ताहरुमा कार्टुन टाँसिएको देखेर नै पवारलाई रिस उठिसकेको थियो, त्यसमाथि कोठा अस्तव्यस्त थियो । उनी सोध्छिन्, ‘तिमी कतै कम्युनिस्ट त होइनौं ?’
‘होइन, म कार्टुनिस्ट हूँ,’ गुरुदत्त जवाफ दिन्छन् ।

कथा त्यसरी नै सकिन्छ, जहाँ केही ड्रामा हुन्छ र सिनेमा टुंगिन्छ । पैसालाई प्रेमले जित्छ, पत्रकार अति इमानदार हुन्छ । 

त्यसपछि हिन्दी सिनेमामा परिवर्तन सुरु हुन्छ । र, म खोज्न थाल्छु– पछिल्ला चार दशकमा बनेका त्यस्ता सिनेमा, जसमा पत्रकारलाई ठग, मूर्ख, खलनायक र बेवकुफका रुपमा प्रस्तुत गरेर उडाइएको नहोस् ! पत्रकारलाई निकै गालीसमेत गरिन्छ, त्यस्ता गाली छोप्ने सामान्य देखावटी प्रयाससमेत गरिएको पाइँदैन । तपाईं १९८३ को सिनेमा ‘जाने भी दो यारों’ हेर्न सक्नुहुन्छ, जसमा अखबारको सम्पादक (भक्ति बर्वे)ले धनी र भ्रष्ट मानिसको भण्डाफोर गर्नका लागि सिकारुखालका दुई फोटोग्राफर (नसिरुद्दीन शाह र रवि बासवानी)लाई प्रयोग गर्छिन् । तर अन्त्यमा उनले त्यस घटनामा सम्झौता गर्दै दुई फोटोग्राफरलाई जेल पठाइदिन्छिन् ।

सिनेमाको कथामा आएको यो परिवर्तनमाथि विचार गर्दा मलाई आफ्नो अनभिज्ञता पनि चिन्ने अवसर मिल्यो । त्यसो त मैले हालै ‘पिपली लाइभ’ र ‘पिके’जस्ता सिनेमा पनि हेरेँ । वास्तवमा जबदेखि टेलिभिजन पत्रकारिता सुरु भयो तबदेखि नै पत्रकारहरुसँग बलिउडको रोमान्स पनि पुनः सुरु भयो । कारगिल युद्धमा केन्द्रित २००४ को सिनेमा ‘लक्ष्य’ मा प्रिती जिन्टाले पत्रकार बरखा दत्तसँग मिल्दोजुल्दो भूमिका निर्वाह गरेकी छन् ।

तर त्यसपछि नै पतन सुरु भयो । अजिल मिर्जाको सिनेमा ‘फिर भी दिल हिन्दुस्तानी’ (२००० को) मा शाहरुख खान हामीलाई भन्छन्– टिभी च्यानलहरुका एंकर कसरी गडबड गरिरहेका छन् । २०२० मा ‘पिपली लाइभ’ को समयसम्म मिडियालाई मूर्खतापूर्ण र टिआरपीको लोभी अर्थात् एक खराब कर्मका रुपमा निरन्तर चित्रण गरिएको पाइन्छ । 

अब त पत्रकारलाई असल छविका रुपमा प्रस्तुत गर्ने कल्पनासम्म पनि गर्न सकिँदैन, ‘स्क्याम १९९२’ जस्ता सिनेमा, जसमा खोज पत्रकार सुचेता दलालको भूमिकाको उपयोग गरिएको बाहेक । यो १९९२ को समयमा आधारित शृंखला हो । यसमा सुचेताको भूमिकामा अत्यन्तै प्रभावशाली अभिनेत्री श्रेया धनवन्तरी छन्, ,जसले हट स्टारको सिनेमा ‘मुम्बई डायरिज’मा टिभी पत्रकारको भूमिका निर्वाह गरेकी छन् । यो सिनेमामा उनले २६÷११ को आतंकवादी हमलाबारे ‘कभर’ गर्छिन् र घोर अनैतिक काम गरेको देखिन्छ । उनले उक्त घटनालाई साम्प्रदायिकताको रङमा घोलेर अति गरिदिन्छिन् ।

र, तपाईंले के ‘पाताल लोक’ हेर्नुभएको छ ? मैले लकडाउनको अवधिमा यो सिनेमा हेरेँ । यसमा यस्तो सम्पादकलाई चित्रण गरिएको छ जो आफ्नो छवि, तागत र सेक्स अपिलमा लोभिन्छन् र आफ्नो जिम्मेवारी भुल्छन् । नेटफ्लिक्समा निर्मित राम माधवानीको आगामी सिनेमा ‘धमाका’ मा एक टिभी एंकर प्राइम टाइममा फर्कनका लागि एक ‘बम धमाका’को प्रयोग गर्छन् । ‘चक दे’ सिनेमामा पनि मिडियालाई गैरजिम्मेवार र अनैतिक देखाइएको छ ।

‘पा’ मा अमिताभ बच्चन एक नेता र पिताका रुपमा मिडियामाथि खनिन्छन्, उता हिरानी आफ्नो सिनेमा ‘सन्जू’ मा सन्जय दत्तको जीवनमा एकमात्र खलनायक मिडियालाई बनाउँछन्, यद्यपि सिनेमाको अन्त्यमा ‘पत्रकार’, ‘आमा’, ‘बहिनी’ सबैलाई धन्यवाद दिइएको छ । हाम्रो लोक संस्कृतिमा पत्रकारिता, विशेषगरी महिला पत्रकारहरुको स्थिति सोसल मिडियामा तिनको निन्दा र उनीहरुमाथि हमलाका कारण गिरेको हो ।  

अब हामी के गर्न सक्छौं ? यसको जवाफ १९५० को सेरोफेरोमा बनेका सिनेमाले दिन सक्छन् । 

(गुप्ता दिप्रिन्टका संस्थापक प्रधानसम्पादक हुन् । दिप्रिन्टबाट अनूदित तथा सम्पादित ।)


  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १३:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया