कांग्रेसको १३ औं महाधिवेशन सकिए लगत्तै एक जुट भएर सभापति शेरबहादुर देउवाको आलोचना गरिरहेको नेता रामचन्द्र पौडेल समूह भने अहिले आफैंमा विभाजित भएको छ ।
यो समूहबाट प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला कांग्रेस सभापतिका आकांक्षी देखिन्छन् । यी सबैलाई मिलाउन सकेको खण्डमा पनि आफैं पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन्, रामचन्द्र पौडेल ।
तर, पछिल्लो समय प्रकाशमान सिंह, शशांक र शेखर कोइरालाले बारम्बार आफूहरु नै सभापति हुनु पर्ने दाबीलाई निरन्तरता दिएका छन् ।
यहीबीच अब कांग्रेसका यी आकांक्षीहरुबीच भेटघाट बाक्लिन थालेको छ, छलफल चल्न थालेको छ । शनिबार मात्रै पनि शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटघाट भएको थियो । यो भेटमा उनीहरुले आफूले एकअर्कालाई नै सभापतिको उपयुक्त उम्मेदवार भएकोमा दाबी गरेका थिए ।
शनिबारको यो भेटभन्दा अगाडि शुक्रबार सिंह निवास चाक्सीबारीमा यी दुई नेता छलफलमा जुटेका थिए । यो छलफलमा पनि यी दुई नेताले एकअर्कालाई नै सहयोग गर्न कुराकानी गरेका थिए ।
यसको अघिल्लो दिन अर्थात् बिहीबार मात्र चाक्सीबारीमा नै रामचन्द्र पौडेल पुगेका थिए, सिंहसँग भेट्न । यो भेटमा पौडेलले सिंहलाई साझा उम्मेदवार तय गरेर आफूहरु अगाडि जानु पर्ने बताएका थिए ।
‘साझा उम्मेदवारका रुपमा शेखरलाई अगाडि सार्न खोजिएको छ,’ पौडेलनिकट एक नेताले फरकधारलाई भने, ’अहिले तत्काल प्रकाशमान सिंहलाई ब्याक गराउने रणनीतिमा पौडेल र दुई कोइराला रहेका छन् ।’
यसअघि शशांकले चाहिँ सभापतिमा आफूले शेखरलाई सहयोग गर्ने बताइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।