नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा भएको प्रतिनिधिसभा क्षेत्रअन्तर्गत मकवानपुरको दुई क्षेत्रले नयाँ नेतृत्व पाएको छ । दुई क्षेत्रमा नै संस्थापन पक्ष विजयी भएका हुन् ।
संस्थापन पक्षका नेता इन्द्र बानियाँको बलिया पकड रहेको क्षेत्रमा बानियाँको टिमले सभापतिसहित ‘क्लिन स्वीप’ गरेको हो । मकवानपुर जिल्लामा रहेको प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा दामोदर खनाल र प्रतिनिधिसभा क्षेत्रमा लोकबहादुर मोक्तानले विजय हासिल गरेका हुन् । खनाल मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष हुन भने मोक्तान साबिक ४ नम्बर क्षेत्रका सभापति हुन् ।
बानियाँलाई सर्वाधिक मत, खनाल पराजित
मंगलबार सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानबाट प्रत्यक्ष खाल्लातर्फ कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ सर्वाधिक मतसहित निर्वाचित भएका छन् । उनले ६७६ मत प्राप्त गरेका छन् ।
महाधिवेशन प्रतिनिधि लडेकी कांग्रेस मकवानपुरकी प्रभावशाली नेतृ रीता खनाल भने पराजित भएकी छिन् । आक्रामक भाषण शैलीमा जिल्लामा चर्चित उनी संस्थापन इतर टिमबाट उठेकी थिइन् । महिला खुल्लामा प्रत्यासी रहेकी नेपाली कांग्रेसकी नेतृ खनालले ३८८ मत प्राप्त गरिन ।
यसैगरी प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली, अमृतकुमार लामा जिल्ला उपसभापति विष्णु कुमार लामिछाने, दिनेश उपाध्याय, पुर्व सभापति रघु रमण न्यौपाने, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सल्लाहकार प्रभात कुमार दाहाल, राम बाबू बानियाँ र ताराचन्द्र बजगाईं विजयी भएका छन् ।
यसैगरी खुल्ला महिलातर्फ उर्मिला पुलामी, पवित्रा बिक, अन्जना उपाध्याय र मिरा बन्जारा विजयी भएका छन् । यस्तै प्रत्यक्ष जनजाती खुलातर्फ भएको मतदानबाट चम्पुरत्न लामा, अशोकराज शाक्य शुभात थिङ विजयी भएका छन् । यसैगरी क्षेत्रीय समितिको सचिवमा दोर्जे लामा स्याङ्तान र कविन संगामी विजयी भएका छन् ।
यसअघि सोमबार नै क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका थिए । सभापतिका लागी उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल संघीय सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी समितिको क्षेत्रीय सहसचिवमा ईन्द्रहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध भएका छन् । यसैगरी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् भने खस आर्य महिलातर्फ राधा कोइराला, जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा तथा दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध निर्वाचित भएका छन् ।
सचिव पद र महाधिवेशन प्रतिनिधिका लागी प्रत्यक्ष खुल्ला, महिला खुल्ला र जनजाति पुरुष खुल्लामा मतदान भएको थियो ।
२ नम्बरमा मोक्तान
यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम आएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सभापतिमा देउवा पक्षका लोक मुक्तान विजयी भएका छन् । संस्थापन इतरका ईश्वरनाथ पौडेले भारी मतले पराजित भएका हुन् ।
सभापति मुक्तानसहित सचिवमा थल बहादुर थापा सन्तोष, बलराम घिमिरे, सहसचिवमा निर्मला रुम्बा र चुनारी माया थिङ विजयी भएका छन् । अहिले प्रतिनिधिसभा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको मतगणना भइरहेको छ । मतगणना सकिएपछि विजयी हुनेहरुको नाम घोषणा गर्ने प्रमुख निर्वाचन अधिृकत गोपि शर्मा सुवेदीले जानकारी दिए ।
१७९० मत खस्यो
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुरमा सोमबार भएको संघीय क्षेत्र अधिवेशनमा १७ सय ९० मत खसेको छ । कुल १८ सय ८२ मत मध्ये १७ सय ९० मत खसेको मतदान अधिकृतहरूले जानकारी दिएका हुन् ।
संघीय क्षेत्र नम्बर १ मा कुल ७ सय ९१ मतदाता रहेकोमा ७ सय ४८ मत खसेको मतदान अधिकृत कृष्णप्रसाद दाहालले जानकारी दिए । उता, संघीय क्षेत्र नम्बर २ मा कुल एक हजार ९१ मत रहेकोमा एक हजार ४२ मत मात्रै खसेको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।