नेपाली कांग्रेसको २६ जिल्लाको अधिवेशन सक्दासम्म सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष अगाडि देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर पक्ष भने पछि छ ।
देउवा पक्षबाट १४ जिल्लामा सभापति निर्वाचित भएका छन् । इतर पक्षबाट १२ जिल्लामा सभापति छानिए । प्रारम्भिक यो परिणामले दुवै पक्षबीच आगामी महाधिवेशनमा चर्को प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
अधिवेशन भएका २६ जिल्ला हिमाली र पहाडी हुन् । अझै ५१ जिल्लामा अधिवेशन हुन बाँकी छ । एउटा संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा मात्रै अधिवेशन भएको हो । १३ हिमाली जिल्लामा दसैँअघि र बाँकी १३ जिल्लामा ६ मंसिरमा अधिवेशन भएको हो ।
दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा १० मंसिरपछि अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिकामा उल्लेख छ ।
यद्यपि, अधिवेशन भएका जिल्लाहरूमध्ये दुई जिल्ला सभापति भए पनि देउवा अगाडि देखिएका हुन् ।
प्रदेश १ मा संस्थापन पक्षबाट ताप्लेजुङ सभापति गजेन्द्रप्रसाद तुम्याङ, पाँचथर सभापति रूपनारायण जबेगू, बागमती प्रदेशको रामेछापमा पूर्णबहादुर तामाङ ‘कान्छाराम’, गण्डकी प्रदेशको म्याग्दीमा खमबहादुर गर्बुजा, मनाङमा शंकर गुरुङ र लम्जुङमा डा. टकबहादुर गुरुङ सभापति निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशको हुम्लामा मोहनविक्रम सिंह, मुगुमा ऐनबहादुर शाही, सल्यानमा केशरबहादुर विष्ट, डोल्पामा दीपेन्द्र शाही, जुम्लामा कर्णबहादुर शाही र जाजरकोटमा बेदराज सिंह सभापति भएका छन् ।
सुदूरपश्चिम प्रदेशको बझाङमा खडक बोहरा र डडेल्धुरामा भीमबहादुर साउद सभापति भएका छन् ।
इतर पक्षबाट प्रदेश १ को तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाम्फे, संखुवासभामा दीपक खड्का, भोजपुरमा विनोद बान्तवा, बागमती प्रदेशको दोलखामा बर्मा लामा, गण्डकी प्रदेशको मुस्ताङमा रोमी गौचन थकाली र गोरखामा नन्दप्रसाद न्यौपाने सभापति भए ।
यस्तै, लुम्बिनी प्रदेशको रूकुम पूर्वमा केशरमान रोका, प्युठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, कर्णालीको कालीकोटमा अम्मबहादुर शाही र सुदूरपश्चिमको बाजुरामा रामसिंह रावल र बैतडीमा चतुरबहादुर चन्द सभापति भएका छन् ।
गोरखा सभापति न्यौपाने भने इतर पक्षका नेता गगनकुमार थापा पक्षीय मानिन्छ ।
२६ जिल्लाको परिणाम, कुन पक्ष कहाँ बलियो ?
कर्णाली प्रदेशमा संस्थापन पक्ष सर्वाधिक बलियो देखिएको छ । १० जिल्लामध्ये सात जिल्लाको परिणाम आउँदा ६ जिल्लामा संस्थापन पक्षीय उम्मेदवार निर्वाचित भएका छन् । एउटा जिल्लामा मात्रै संस्थापनइतर पक्षीय उम्मेदवार सभापति भए ।
जिल्ला अधिवेशन भएको गण्डकी प्रदेशको पाँच जिल्लामध्ये तीन जिल्ला संस्थापन पक्षबाट सभापति भएका छन् । दुईमा इतर पक्षीय उम्मेदवार सभापति भएका हुन् । बागमतीको अधिवेशन भएको दुई जिल्लामा समान एक/एक र सुदूरपश्चिममा भएको चार जिल्लामा समान दुई/दुई जना सभापति निर्वाचित भएका छन् ।
लुम्बिनीको तीन जिल्लाको अधिवेशनबाट भने इतर पक्षका मात्रै सभापतिमा निर्वाचित भएका छन् । यहाँ संस्थापन पक्ष शून्य भयो । प्रदेश १ मा पनि अधिवेशन भएको पाँच जिल्लामध्ये तीन इतर र दुई संस्थापन पक्षबाट सभापति छानिएका छन् ।
१४ खस–आर्य, १२ आदिवासी
सभापति पदमा निर्वाचित भएकामध्ये १४ जना सभापति खस–आर्य समुदायका छन् । १२ जना आदिवासी जनजाति छन् । महिला, दलितलगायत समुदायबाट भने एक जना पनि सभापति पदमा निर्वाचित हुन सकेको छैन ।
मधेसी, थारू र मुस्लिम समुदायको बसोबास रहेको प्रदेश २ सँगै अन्य प्रदेशको तराईका जिल्लाहरूमा अधिवेशन हुन बाँकी छ । यही १० गतेदेखि अधिवेशन हुने निर्वाचन कार्यतालिका छ ।
पार्टीको २६ जिल्लामा अधिवेशन सकिए पनि प्रदेश २ को सर्लाहीमा वडा अधिवेशन हुन सकेको छैन । त्यहाँ निर्वाचित अधिकृत नै कुटिए । प्रदेशको अन्य जिल्लाहरूमा भने वडा अधिवेशन भइसकेको छ ।
केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले सबै तहको अधिवेशन गर्न नभ्याएको अवस्थामा वडा अधिवेशनदेखि सीधै संघीय निर्वाचन क्षेत्रको अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि चयन गर्न सकिने फरकधारलाई बताए ।
यद्यपि, सर्लाहीमा निर्वाचन गराउन मंगलबार निर्वाचित अधिृकत पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।