नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् । उनीहरू सचिव पदमा पराजित भएका हुन् । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् ।
सचिवमा संस्थापन समूहबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले १ हजार ८४ मत प्राप्त गरे । संस्थापनइतर समूहबाट बागी उठेका रतुवामाई नगरपालिकाका मेयर राईले ४५५ मत मात्र पाए ।
जिल्ला सचिवमा संस्थापनइतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । घिमिरेले १ हजार २३५ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ५६९ मत प्राप्त गरे ।
जिल्ला उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले १ हजार ९४० मत पाएका थिए भने थारूले १ हजार ३४३ मत मात्र प्राप्त गरे । सहसचिवमा भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।
सभापतिका संस्थापन इतरका डिकबहादुर लिम्बूले सभापतिमा जितेका छन् । सभापतिमा संस्थापन पक्षका दिलीप गच्छदारलाई हराउँदै लिम्बू विजयी बनेका थिए ।
गत १२ मंसिरमा भएको चुनावमा उठेको लिम्बू ,गच्छदार र यदु विष्टले ५१ प्रतिशत मत नल्याएपछि १४ गते पुनः चुनाव भएको थियो । अन्य पदाधिकारी तथा सदस्यहरूको भने १२ गते आइतवार चुनाव भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।