कांग्रेस बागमतीको सभापतिमा निर्वाचित बानियाँ भन्छन् : अवसरभन्दा चुनौती धेरै देखेको छु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको पहिलो अधिवेशनबाट सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणनामा बानियाँले अर्का उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मतले पराजित गर्दै बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

अवसरभन्दा धेरै चुनौती देखेको छु 

विजयी भएपश्चात बानियाँले भने, ‘यो अधिवेशनले नेपाली कांग्रेसले थप एकताबद्ध बनाएको छ । पार्टी भित्र हार र जितको भन्दा पनि जिम्मेवारीको कुरा छ । म नेपाली कांग्रेस सबै वर्ग र जातिको पार्टी बनाउन लाग्नेछु ।’ बानियाँले संघीयता कार्यान्वयन भइसकेपछि पहिलोचोटि भएको अधिवेशनले पार्टीलाई थप सुदृढ बनाउन अवसरभन्दा धेरै चुनौती देखिएको बताएका हुन् । आफूले भीमसेनदास प्रधानलाई अभिभावकका रुपमा लिएर सबैखाले साथ र समन्वय गर्ने उनले बताए । पहिलो चरणको मतदानमा तेस्रो भएका प्रधानले दोस्रो चरणमा बानियाँलाई सहयोग गरेका थिए ।
 
बानियाँले १०८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ९२७ मत मात्र प्राप्त गरेका छन। शनिबार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेन दास प्रधानले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्दा आइतबार पुनः मतदान भएको हो। 

सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो समर्थन इन्द्रबहादुर बानियाँलाई दिएका थिए । आइतबार भएको दोस्रो चरणको सभापतिको मतदानमा २०२५ जनाले मतदान गरेका थिए। 

निर्माण व्यवसायदेखि राजनीतिसम्म सफल बानियाँ  

देशकै ‘ए’ लेभलमा गनिने निर्माण व्यवसायी इन्द्र बानियाँ व्यावसायिक रुपमा जति सफल छन्, राजनीतिक रुपमा पनि त्यति नै सफल हुँदै गएका छन् ।बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए । 



२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ वर्षीय बानियाँले कम्युनिस्हरुको ‘लालकिल्ला’ भनेर चिनिने मकवानपुरमा २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएका थिए । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।  

२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहेका छन् । 



प्रधानको साथले संस्थापनइतरलाई धक्का 

नेपाली कांग्रेस बामगमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँलाई अर्का प्रत्याशी भीमसेनदास प्रधानले समर्थन गरेका थिए । कांग्रेस बागमती प्रदेश सभापति पदमा तीनजना उम्मेदवारमध्ये कसैले पनि विधानअनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा प्रधानले बानियाँलाई साथ दिएका थिए । प्रधान सिटौला समूहका हुन् भने बानियाँ देउवा समूहका हुन् । 

बानियाँले संस्थापनइतरका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै कांग्रेस भावी सभापतिमा पुनः शेरबहादुर देउवा नै बलियो हो भन्ने सन्देश दिएका छन् । यसै प्रदेशबाट कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका प्रकाशमान सिंह र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको युवा नेता गगनकुमार थापाले हेटौंडामै रहेर केसीको पक्षमा मत मागिरहेका थिए । 

बानियाँको विजयले पार्टी शुद्धीकरण र प्रधानमन्त्री देउवाविरुद्ध लामो समयदेखि अभियान सञ्चालन गरिरहेका सिंह र थापालाई सबैभन्दा बढी अप्ठ्यारोमा पारेको छ ।  संस्थापनइतर समूहका नेताहरुले महाधिवेशन प्रतिनिधिहरु बिक्री हुँदा निष्ठाको राजनीति सकिएको आरोप लगाएका छन् । 
 
प्रेम तामाङ जसपा कि कांग्रेस ?

जनता समाजवादी पार्टी (जसपा)बाट बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले आइतबार पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्। शनिबार राति हेटौंडा आएर मतदान गरेर फर्किएका सांसद तामाङले आइतबार पनि हेटौँडा आएर मतदान गरेका हुन्।  

शनिबार राति ९ बजेतिर मतदान गरेर फर्किएका तामाङले आइतबार पनि आएर कांग्रेस बागमती प्रदेश सभापतिको लागि मतदान गरेका एक कांग्रेस नेताले जानकारी दिए । तामाङ कसैले पनि नचिन्नेगरी मास्क र टोपी लगाएर मुख ढाकेर आएका थिए। उनकी श्रीमती धवामेन्दो तामाङले पनि मतदान गरेर गएको मतदान स्थलमा रहेका कांग्रेस कार्यकर्ताको दाबी छ।  

तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक मात्र सांसद हुन्। केही समयअघि मात्रै प्रदेशसभामा निर्वाचन आयोगबाट जसपाको मान्यता पाएका उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए।

नयाँ शक्ति जसपा बनेपछि स्वतन्त्र सांसदको रुपमा बसेका तामाङले केही समयअघि मात्रै जसपाको मान्यता पाएका थिए। प्रदेशसभा सदस्य बनेदेखि नै कांग्रेससँग निकट रहेका उनी औपचारिक रुपमा कांग्रेसमा प्रवेश गर्दा पद जाने भएपछि जसपाकै सांसदको रुपमा बसिरहेका छन्। 

बागमती प्रदेशसभामा पनि उनी कांग्रेसकै सांसदहरूसँग देखिन्छन्। तामाङलाई पार्टी प्रवेश गराउन शेरबहादुर देउवा रसुवासमेत गएका थिए। तर, प्रदेशसभा पद जाने भएपछि प्रवेश नगराईकन देउवा फर्किएका थिए।

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २३:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया