कांग्रेस महाधिवेशन : सुवास नेम्वाङको ड्रिम टिम

नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन सकिसकेको छ । अब आफ्नो दल चुनावी माहोलमा होमिइसकेको एमालेले बताउन थालेको छ । चितवनमा चलेको ६ दिन लामो १० औं राष्ट्रिय महाधिवेशनमा सबैभन्दा बढी चर्चामा रहेका नेताहरुमध्ये एक हुन्, सुवास नेम्वाङ ।

उनले एमालेमा वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए । तर, पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउने अडान लिएपछि नेम्वाङले आफूलाई उपाध्यक्षमा नै चित्त बुझाउने वातावरण बनाए ।

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष पद छाडेर उपाध्यक्षमा मात्र ल्याउँदा एमाले अध्यक्ष ओलीले भावी राष्ट्रपतिको वचनसमेत दिएको त्यति बेला चर्चा चलेको थियो । एमालेबाट भावी राष्ट्रपतिमा उठ्ने सबैभन्दा बढी सम्भावना भएका नेम्वाङ यतिबेला सत्तारुढ पार्टी नेपाली कांग्रेसको महाधिवेशनलाई नजिकबाट हेरिरहेका छन् ।

यो पनि : कांग्रेस महाधिवेशन : मिलन पाण्डेको ड्रिम टिम

कांग्रेस यतिबेला महाधिवेशनको पूर्वसन्ध्यामा होमिइसकेको छ । तर, अहिलेसम्म कांग्रेसका दुई समूह रामचन्द्र पौडेल र शेरबहादुर देउवाले आफ्नो समूहका पदाधिकारीबारे निर्णय लिन सकिसकेका छैनन् । यहीबीच फरकधारले विभिन्न क्षेत्र र अन्य दलका नेताहरुलाई प्रश्न गर्न थालेको छ– तपाईं कांग्रेसको टिम कस्तो बनोस् भन्ने चाहनुहुन्छ ? यही विषयमा हामीले सुवास नेम्वाङसँग पनि कांग्रेसमा उनको ड्रिम टिमबारे कुराकानी गरेका छौँ ।

आफू फरक दलको भएकाले अर्को दलको आन्तरिक जीवनमा पस्न आफूले नचाहने सुवास नेम्वाङले बताए । त्यसैले पनि उनले कांग्रेस पदाधिकारीका लागि कुनै एउटा निश्चित नाम लिएनन् । बरु कांग्रेसले समयमा महाधिवेशन सक्नु पर्ने र जनताको काम तीव्र रुपमा गर्नु पर्ने उनको धारणा छ ।



‘पदाधिकारी को आउने भन्ने कुरा उहाँहरुको आन्तरिक विषय भयो,’ नेम्वाङले भने, ‘मैले कांग्रेसलाई शुभकामना त दिन्छु तर यो टिम वा यो व्यक्ति होओस् भन्ने विषयमा प्रवेश गर्न चाहन्नँ, उहाँहरुको आन्तरिक जीवनमा हामी प्रवेश नगरौँ ।’

यो पनि : कांग्रेस महाधिवेशन : विशाल भट्टराईको ड्रिम टिम



उनले कांग्रेस आफूहरुसँग विभिन्न आन्दोलनमा सहभागी भएको र लोकतान्त्रिक पार्टी भएकाले नेतृत्व चयन पनि उसले गर्न सक्ने बताए । ‘उहाँहरुले आफैं तय गर्न सक्नुहुन्छ,’ उनले भने, ‘सफल नेतृत्व चुनिन सकोस् र यो अझ सवल भएर जाओस् भन्ने कामना छ ।’

कांग्रेस महाधिवेशनबारे ठोस धारणा नराखे पनि नेम्वाङले अहिलेसम्म यो सरकारले कुनै सिन्को नभाँचेको चाहिँ बताए । उनले भने, ‘देशमा अहिले हामीले संघीय गणतान्त्रिक लोकतन्त्रलाई अपनाएका छौं । संविधानबाटै यसलाई स्थापित गरेका छौं । हाम्रो प्रणाली भनेकै संसदीय प्रणाली हो । आवधिक निर्वाचन, लोकतान्त्रिक प्रणाली नै हो ।’

संविधानले पनि लोकतान्त्रिक मुल्य र मान्यताको भावना बोकेको भन्दै घुमाउरो शैलीमा उनले आफ्नो महाधिवेशन र व्यवस्थापनको प्रचार गर्न भ्याए । ‘संविधानको अक्षर र भावना पनि यही हो । त्यसैल यो बेलामा अहिले दलहरु आफ्नो आन्तरिक जीवनसँग जोडिएर महाधिवेशन गर्न लागेका छन्,’ उनले भने, ‘हामीले त विधान महाधिवेशनदेखि लिएर वडा, पालिका हुँदै राष्ट्रिय महाधिवेशन पनि सफलतापूर्वक सम्पन्न गरिसकेका छौं ।’

महाधिवेशनको संघारमा रहेको कांग्रेसलाई शुभकाना दिँदै उनले थपे, ‘अझै नेपाली कांग्रेस त हामी सँगसँगै निरकुंशताविरुद्धका प्रत्येक आन्दोलनमा सँगै लागेर हिँडेका हौं । संविधान बनाउन संगै हिँडेका हौं । स्वभाविक रुपमा सफलतापूर्वक महाधिवेशन सम्पन्न गर्न कांग्रेसलाई मेरो र हाम्रो पार्टीको शुभेच्छा रहन्छ ।


  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १७:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया