खुकुरीको धारमा रामचन्द्र पौडेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन अब धेरै घन्टा बाँकी छैन । महिना, दिन हुँदै अब काउन्टडाउन घन्टामा सुरु भइसकेको छ । तर, कांग्रेसको नेतृत्व गर्ने चाहना राखेर लामो समयदेखि आफ्नो गुट सन्चालन गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल न आफूले सभापतिमा उम्मेदवारी घोषणा गर्न सकेका छन्, न आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न सकेका छन् ।

१३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाबाट पराजित भए पछि पौडेलले १४ औं महाधिवेशनमा सभापति बन्ने लामो दौडको सुरुवात गरेका थिए । तर, उनी बीचमा यसरी चुक्दै गए कि अहिले उनको समूहका नेताहरु नै छिन्नभिन्न भएका छन् । कतिसम्म भने पौडेलले पाँच दशकभन्दा लामो राजनीतिक विरासत बोकाएको गृहजिल्ला तनहुँको जिल्ला सभापतिमा पनि उनका उम्मेदवार पराजित भएका छन् ।

बरु उनलाई छाडेर देउवा समूहको समर्थन पाएका जीतप्रसाद आले सभापतिमा निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित भएसँगै आलेले तनहुँमा मात्र होइन, काठमाडौंमा समेत पौडेलको अपरिपक्व निर्णयमाथि हाँसो गरिरहेका छन्, व्यंग्य गरिरहेका छन् ।

अर्कोतिर पौडेल आफ्नो समूहका नेताहरुलाई मनाउन प्रयास गरिरहेका छन् । तर, अवस्था कस्तो बनिसकेको छ भने उनीनिकट शेखर कोइराला र प्रकाशमान सिंह दुवै सभापतिको दाबी छाड्ने मनाशयमा देखिन्नन् । हो, यही समूहका शशांक कोइरालाले यी दुईलाई मिलाएको खण्डमा साझा उम्मेदवारमा पौडेललाई समर्थन गर्न सक्ने तुरुप फालेका छन् । तर, उनको यो तुरुपले पौडेललाई सहज होइन, थप समस्यामा धकेलेको छ ।

यसको अनुमान मंगलबार र बुधबार यो समूहका र पौडेलले गरेका बैठकहरुको म्याराथनले प्रमाणित गर्छ । सबैभन्दा पहिले मंगलबार चाक्सीबारीमा प्रकाशमान सिंह निवासमा पौडेलले तीन नेताहरुलाई भेला गरेर अरु केन्द्रीय सदस्यहरुलाई साक्षी राखेर साझा उम्मेदवार चयन गर्न छलफल सुरु गरे । 

तर, छलफलमा न प्रकाशमानले आफू पछाडि हट्न तयार रहेको बताए, न शेखर कोइरालाले । महामन्त्री र उपसभापति भइसकेको बताउँदै प्रकाशमानले आफू सभापतिको स्वभाविक दाबेदार भएको बताउँदै आएका छन् । अर्कोतिर, शेखर कोइरालाले आफूले चार वर्षयता नै सभापतिका लागि तयारी गरेको, जिल्लाजिल्लामा पुगेको र कांग्रेसमा युवा नेतृत्वलाई अग्रसर गराउन सक्ने भन्दै सभापतिमा दाबी गरिरहेका छन् ।



यी दुईले यो दाबीमा अडान लिएपछि बुधबार चाक्सीबारीको बैठकमा त पौडेलले मुखै फोरे, ‘एकजना मात्र उम्मेदवार नहुने हो भने म राजनीतिबाट नै सन्न्यास लिइदिन्छु ।’

खासमा यो पौडेलको स्वभाविक अभिव्यक्ति होइन । उनले यसलाई ‘अल्टिमेट अप्सन’का रुपमा प्रयोग गर्न खोजेका हुन् । उनी यही अस्त्र फालेर भए पनि प्रकाशमान र शेखरको समर्थन आफूलाई होस् भन्ने चाहन्छन् ।



‘उहाँलाई एकपटक पार्टी सभापति जसै गरि बन्ने रहर छ,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यसका लागि उहाँले आवश्यक सबै विकल्पहरुको प्रयोग गरिरहनु भएको छ ।’

बुधबार विहान गौशालामा आफ्नो समूहको बैठक बीचमै छाडेर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकहाँ पौडेल पुग्नुको कारण पनि यही हो । उनले सिटौलालाई आफूलाई सभापतिमा सहयोग गर्न अनुरोध गरेका थिए । त्यसो त उनको समूहले यसअघि पनि सिटौलालाई बारम्बार अप्रोच गरेको थियो । यसअधिका सन्दर्भहरुमा जस्तै बुधबार पौडेललाई भेट्दा पनि सिटौलाले पूर्ण विश्वस्त हुन सकिने जवाफ दिएनन् ।

साँझ चाक्सीबारीमा भएको बैठकमा त्यसैले पनि अलिक फरक रुपमा प्रस्तुत भए, पौडेल । प्रकाशमान र शेखरको अडानको अगाडि उनले गलाउने अरु कुनै अस्त्र भेटेनन्, त्यसैले आफूले राजनीति नै छोड्नसमेत सक्ने बताए ।

‘उहाँले यसलाई आफ्नो नाममा सहमति जुटाउन फाल्नु भएको अस्त्र हो, तर यही कारण उहाँ अब थप समस्यामा पर्नु भएको छ,’ कांग्रेसका उनीनिकट एक नेता भन्छन् । 

अर्थात्, अब पौडेल छन्, खुकुरीको धारमा । बुधबार बैठकको प्रस्तुतिलाई हेर्ने हो भने प्रकाशमान सिंह सभापतिको दाबीबाट पछाडि हट्ने देखिँदैनन् । अनि उनलाई नेता मान्न तयार छैनन्, शेखर ।

अब यी दुईलाई मिलाउन सक्ने अवस्थामा छैनन् पौडेल । के प्रकाशमान र शेखर दुवैले सभापतिमा उम्मेदवारी दिए भने पौडेलले राजनीतिबाट नै सन्न्यास लेलान् त ? कि उनी पनि यो समूहबाट सभापतिको उम्मेदवार होलान् ? अब केही घन्टा पर्खिँदा यसबारे प्रष्ट जवाफ पाइनेछ ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ६:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया