कांग्रेस महाधिवेशनको सुरक्षा योजना : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता/कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण छ । नेपाल प्रहरीले महाधिवेशनका लागि आवश्यक सुरक्षा योजना बनाएको छ । प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले कांग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रूपमा बढी हुने भएकाले ज्यादा चुनौती रहन्छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले जिम्मेवारी पाएको छ । प्रस्तुत छ कांग्रेस महाधिवेशनमा सुरक्षा रणनीतिलगायतका विषयमा हामी मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसँग गरिएको कुराकानी :

कांग्रेस महाधिवेशन सुरु हुँदैछ, सुरक्षा व्यवस्था कस्तो मिलाइएको छ?

केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । त्यसमा पनि विशेष सुरक्षा योजनाअन्तर्गत काम गरेका थियौं । कांग्रेसको महाधिवेशन पनि आजदेखि सुरु भइसकेको भन्दा पनि हुन्छ । कार्यक्रम अवधिभर कुनै पनि किसिमको अप्रिय घटना नहोस्, झैझगडा नहोस्, ट्राफिक आवागमन सजिलैसँग होस् लगायत सुरक्षाको पाटोबाट कुनै पनि किसिमको चुनौती नआओस् भनेर हामीले विशेष सुरक्षा योजना बनाएका छौं ।

मुख्य सुरक्षा योजना के-के छन्?  

योजनाअन्तर्गत भृकुटीमण्डपमै रहनेगरी कमाण्ड पोस्ट रहन्छ । हाम्रो सञ्चार बेस पनि त्यहाँ रहन्छ । काम सुरु भइसकेको छ । यसलाई हामीले दुई तीन पाटोबाट विभाजन गरेका छौं । महाधिवेशन कार्यतालिका सुरु हुनुअघि नै ठूलो संख्यामा नेता कार्यकर्ताहरु विभिन्न जिल्लाबाट आउन थाल्नुभएको छ । उहाँहरु विभिन्न होटलहरु, विभिन्न इलाकामा बस्नुभएको छ । त्यस्ता स्थानमा सादा पोशाक निगरानी र युनिफर्म प्रहरीबाट मोबाइल गस्ती गर्ने, पेट्रोलिङ गर्ने मिलाइएको छ । जसले गर्दा कुनै सानोतिनो विवादमा झगडा नहोस्, त्यसले ठूलो रुप नलिओस् भनेर हामीले सतर्कता अपनाएका छौं ।

त्यसैगरी कार्यतालिका सुरु भइसकेपछि कार्यतालिकालाई लक्षित गरेर एकातर्फ निर्वाचन प्रक्रियाअन्तर्गत मतदान नामावली प्रकाशन गर्ने, उम्मेदवारी दर्ता गर्ने, दाबी विरोध, फिर्ता लिने, फाइनल लिस्ट निकाल्ने प्रक्रियाहरूमा सुरक्षाको हिसाबले कुनै असर नगरोस् भनेर हामीले विभिन्न टोलीहरू परिचालन गरेका छौं । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेका छौं ।



उद्घाटन सत्रमा कसरी व्यवस्थापन गरिएको छ?

उद्घाटन सेसनलाई छुट्टै सुरक्षा व्यवस्था मिलाएका छौं । किनभने त्यो बेला स्वदेशी विदेशी भीभीआईपी, भीआईपी कार्यक्रममा सरिक हुनुहुन्छ । उहाँहरुको आगमनदेखि सुरक्षासम्म विशेष प्रबन्ध मिलाइएको छ । मञ्चको सुरक्षादेखि लिएर ठूलो संख्यामा नेता कार्यकर्ता उपस्थित हुने हुनाले त्यो कार्यक्रम अवधिभर सबैखाले सुरक्षाका उपायहरु अपनाइएको छ । त्यसमा डग स्निफिङ (कुकुर परिचालन)देखि लिएर भृकुटीमण्डप प्रस्थान गर्ने विभिन्न स्थानहरुमा चेक प्वाइन्ट राखिएको छ । जसले कानुनले निषेध गरिएका हातहतियार खरखजाना अथवा अन्य प्रतिबन्धित चिजहरू कसैले लिएर जान नपाओस् ।



यसैगरी भृकुटीमण्डप प्रवेश गर्ने गेटहरूमा पनि कडा चेकजाँचको व्यवस्था मिलाइएको छ । कार्यक्रम स्थल प्रवेश गर्ने ठाउँमा पनि सुरक्षा व्यवस्था मिलाइएको छ । मञ्चको सुरक्षाका लागि चारैतिर टोलीहरू हुन्छन् । सादा पोशाकका प्रहरीले निगरानी पनि हुन्छन् ।

बन्दसत्रमा कस्तो रणनीति अपनाइएको छ?

उद्घाटन सेसनपछि बन्द सेसनलगायतका कार्यक्रमहरूमा अर्को सुरक्षा योजना बनाइएको छ । मतदानको प्रक्रियादेखि निर्वाचन अवधिभर, मतगणना स्थलको सुरक्षा, मतगणना सकिसकेपछि निस्किने विजय र्‍याली जुलुसको सुरक्षाका लागि पनि विशेष रणनीति अपनाएका छौं । समग्रमा भन्दा देशका विभिन्न भागबाट आएर होटलमा बसेका प्रतिनिधिको विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । उहाँहरूको विभिन्न कार्यक्रम, छलफल, गोष्ठी, आपसी अन्तक्र्रिया स्थलमा पनि कुनै किसिमको विवाद नहोस् भनेर हामीले सादा पोसाकबाट निगरानी गरिरहेका छौं । आवश्यकताअनुसार परिचालन हुनेगरी टोलीहरू स्ट्याण्ड बाइ राखेका छौं ।

भीभीआईपी सुरक्षाका सबै उपायहरू र ठूलो जनशक्ति कार्यक्रम स्थलमा आउने अवस्थालाई मध्यनजर गर्दै हामीले वाटर क्यानन, दमकलजस्ता परिआयो भने भीड नियन्त्रण गर्नसक्ने टिमहरू पनि राखेका छौं । कहिलेकाही भीडमा भागदौड मच्चिने सम्भावनालाई मध्यनजर गर्दै उद्धार टोली पनि खटिएको छ ।

त्यसकारण देशको राजधानीमा हुन लागेको कांग्रेसको महाधिवेशनमा शान्ति सुरक्षाको दृष्टिले कतै केही खबर नपुगोस् भनेर हामीले व्यवस्थापन गरेका छौं ।

महाधिवेशन केन्द्रीत सुरक्षाका लागि जनशक्ति कति खटाइएको छ?

जनशक्तिको परिचालन दिन हेरेर हुन्छ । सामान्यतया उद्घाटनको दिन धेरै मान्छे आउने र भीआईपी भीभीआईपी मुभमेन्टलाई पनि छुट्टै ड्युटी खटाउनुपर्ने भएकाले त्यो दिन साढे ११ सयसम्म जनशक्ति खटिन्छ भने अरु दिन त्यो दिनको कार्यक्रम हेरेर घटीमा पाँच सयदेखि ८ सयसम्म हाम्रो परिचालन हुन्छ ।

पछिल्लो समय लगातार दलका महाधिवेशन भए । यस्ता महाधिवेशन हुँदा सुरक्षा चुनौती कत्तिको हुन्छ? तपाईँहरूको विश्लेषण केछ?

पक्कै पनि चुनौती हुन्छ । कुनै पनि राष्ट्रिय पार्टीको महाधिवेशन, जो लोकतन्त्रको प्रक्रियाअनुसार हुन्छ । त्यस्ता प्रक्रियामा विभिन्न स्वार्थ समूह हुन्छन् । सानो कुराले आपसी विवाद पनि हुनसक्छ । कार्यक्रम भाँड्न घुसपैठ पनि हुनसक्छ । अपराधिक प्रकृतिका मान्छेले भीडभाडको फाइदा उठाएर विभिन्नखाले अपराध गर्नसक्ने प्रयास गर्नसक्छन् । त्यसैले मान्छेको ठूलो जमघट हुने, स्वार्थ समूहहरु हुने हुनाले हामीले सुरक्षा चुनौती महसुस गरेका हुन्छौं । र त्यहीँ थ्रेट एसिसमेन्ट, कस्ता कस्ता चुनौती  आउँछन् भन्ने आँकलनका आधारमा सुरक्षा रणनीति बनाएर हामी अघि बढेका छौं ।

अन्तिममा, यो महाधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ?

हामीले सुरक्षा चुनौती विश्लेषणको आधारमा बृहत् सुरक्षा योजना बनाएका छौं । सबै कमाण्डरहरूलाई ब्रिफिङ गर्ने क्रम जारी छ । जवानसम्म ब्रिफिङ हुन्छ । सबैलाई आ-आफ्नो जिम्मेवारी बोध गराइएको छ । त्यसकारण हामी विश्वस्त छौं कुनै उच्छृङ्खल गतिविधिबिना शान्तिपूर्वक सम्पन्न हुन्छ ।

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ७:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया