प्रकाशमान र शेखरले किन एक-अर्कालाई मान्दैनन्?

कांग्रेस महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । पार्टीभित्रको आन्तरिक विवाद झाँगिदै जाँदा नेताहरूबीच अहिलेसम्म पदाधिकारीको विषय सुल्झन सकेको छैन् । 

सभापतिमा संस्थापन र इतर पक्षका नेताहरूबीच आ–आफ्नो अडान कायमै छ । प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति शेरबहादुर देउवाले सकेसम्म सहमतिको प्रयास गर्ने नभए प्रतिस्पर्धामा जाने घोषणा गरिसकेका छन् । 

संस्थापन इतरका नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहबीच अझै सहमति हुन नसक्दा अहिलेसम्म उम्मेदवारको टुंगो लाग्न सकेको छैन । संस्थापन इतरका दुई नेताहरू कोइराला र सिंहले एकअर्कालाई नमान्दा पौडेल निर्विरोध उम्मेदवार बन्न सकेका छैनन् । यदि सिंहले सभापतिका लागि रामचन्द्रलाई छाडिदिएको अवस्थामा आफू ब्याक भएर पौडेललाई सहयोग गर्ने शेखरले बताइसकेका छन् । 

यद्यपि कांग्रेसमा ‘त्यागी’ नेताको छवि बनाएका पिता गणेशमान सिंहको लिगेसीलाई महत्व दिएका प्रकाशमान अझै ब्याक हुने कुनै संकेत भने दिएका छैनन् । सिंह र कोइरालाबीचको चपेटामा यतिबेला पौडेल छन् । यी दुई नेताहरू एकअर्कालाई मान्ने अवस्थामा नभएको कांग्रेसका एक नेताले फरकधारलाई बताए । 

त्यसपछि हामीले ती नेतालाई यी दुई नेताहरू किन एकअर्कालाई मान्दैनन् भनेर प्रश्न गरेका थियौं । उनको जवाफलाई आधार मान्दा प्रकाशमान पिताको लिगेसी र पार्टीमा आफू सधैं पछि नपर्ने कुरामा दृढ छन् । आफ्ना बुबाको लिगेसीलाई ध्यानमा राख्दै कांग्रेसको नेतृत्वमा आफू सक्षम भएको सिंहको बुझाइ छ । 

ती नेताले भने, ‘यसअघि महामन्त्री, उपसभापति पनि भइसकेको र आफूले पार्टीलाई योगदान दिएको आधारमा अबको नेतृत्व आफ्नो हातमा पुग्नुपर्ने सिंहको अडान छ । यसमा शेखरले उनलाई क्रस गर्न खोजेका छन् ।’



त्यसो भए शेखरको घमण्ड केमा हो त भन्ने अर्को प्रश्न हामीले ती नेतालाई गर्यौं । उनले सुनाए, ‘पार्टी संगठनमा आफ्नो पकड रहेको, युवा पुस्तालाई नेतृत्वमा ल्याउन पहल गरेको र ७७ वटै जिल्लामा आफू परिचालित भएको भन्दै नेतृत्वमा सिंहभन्दा आफू आउनपर्ने शेखर दाईको बुझाइ छ ।’

ती नेताका अनुसार शेखरको बुझाइमा सिंह काठमाडौंमा मात्रै केन्द्रित भएका नेता हुन् । उनले काठमाडौं बाहिरका नेता कार्यकर्तादेखि संगठन निर्माणमा कुनै योगदान नगरेको निकटस्थहरूसँग शेखरले भन्ने गरेका छन् । 



काठमाडौंमा मात्रै केन्द्रित भएर राजनीतिलाई अगाडि बढाएको र बाबुको विरासतको फाइदा लिन खोजेको प्रकाशमानमाथि आरोप लाग्ने गरेको छ । शेखर पनि सोही भनाइबाट विचलित नभएर सिंहले नछाडेको अवस्थामा रामचन्द्रसँग प्रतिस्पर्धा गर्नै परे पनि पछि नहट्ने मुड बनाएर अघि बढेका छन् । 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १२:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया