कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन, प्रदीप र विश्वप्रकाशमध्ये को बलियो र किन ?

सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदान प्रक्रिया सोमबार बिहानबाट काठमाडौंमा सुरु हुँदैछ । यसपटक यसअघि देखिएका कांग्रेसका गुटहरू पहिलेकै अवस्थामा रहेका छैनन् । त्यसैले सभापतिदेखि महामन्त्रीसम्म यसपटकको प्रतिस्पर्धालाई निकै रोचक रूपमा लिइएको छ ।

कांग्रेस महामन्त्रीका लागि डा. मिनेन्द्र रिजाल, प्रकाशशरण महत, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राजाराम कार्की गरी ६ जनाको उम्मेदवारी परेको छ ।

यीमध्ये अहिले सबैभन्दा बढी चर्चामा रहेका तीन नाम हुन्- गगन, प्रदीप र विश्वप्रकाश । तीनै जना विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारको राजनीतिमा आएका र भोलि यी तीनले नै कांग्रेसको नेतृत्व गर्नेछन् भन्ने अनुमानका आधारमा पनि एउटै पदमा उम्मेदवारी दिएकाले यी तीनको नाम अहिले चर्चामा आएको हो ।

विश्वप्रकाश, गगन र प्रदीप तीनै जनाले कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा लामो समय काम गरे । यसको संगठनमा यी तीनजनाको उत्तिकै चर्चा र चासो छ । त्यसैले पनि एउटै पदमा उम्मेदवारी दिएका यी तीनमध्ये कसले बाजी मार्ने हुन् भन्ने हेर्न बाँकी छ ।

यस पटकको महाधिवेशनमा १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापाले गुट परिवर्तन गरेका छन् । यसअघि सभापति शेरबहादुर देउवा निकट रहेका विश्वप्रकाश शर्मा पनि देउवा प्यानलमा अटेका छैनन् । त्यसैले उनले प्रकाशमान सिंह प्यानलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

१३औं महाधिवेशनपछि सिटौलासँग नजिकिएका प्रदीप पौडेलले चाहिँ सिटौलाकै समर्थनमा देउवा प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।



अब लागौं यी तीनमध्ये को सबैभन्दा बलियो उम्मेदवार हो र किन भन्ने विषयमा । 

यो महाधिवेशनमा सबैभन्दा बढी ख्याल गर्नु पर्ने विषय हो, यसमा आएका महाधिवेशन प्रतिनिधिबारे । आम रूपमा चर्चित भएर होइन, पार्टीको संगठनमा को बलियो छ भन्ने विषयले कांग्रेसको यो महाधिवेशनमा जितको सम्भावनालाई बढी बलियो बनाउँछ । यसपटक महाधिवेशन प्रतिनिधिहरूमा देउवापक्षका प्रतिनिधि बढी भएको अनुमान कांग्रेसका नेताहरूले गरिसकेका छन्।



त्यसो त यसअघि भएका जिल्ला अधिवेशनहरूमध्ये पौडेल समूहको भन्दा धेरैमा देउवा समूह हावी भएको स्पष्ट छ । त्यस्तै, प्रदेश अधिवेशनमा पनि देउवा समूहको नै वर्चश्व रहेको देखिन्छ ।

हो, केन्द्रमा देउवाको साथ छाडेर विमलेन्द्र निधिले आफैं पनि सभापतिमा उम्मेदवारी दिएका छन्। उनले देउवा विरोध क्याम्पलाई सहयोग गर्छु भनेर बारम्बार भनिरहेका पनि छन् । तर, उनले यसो भन्दै गर्दा पनि यसपटक उनको महाधिवेशन प्रतिनिधिमा खासै पकड देखिएको छैन । उनले महाधिवेशनमा उम्मेदवारी दर्ता गर्दा नै पदाधिकारीका लागि पनि पूरै प्यानल नपाउनुले पनि यसको पुष्टि गर्छ ।

अर्कोतिर उनीसँग निकट भनिएका विश्वप्रकाश शर्माले नै पनि उनको साथ छोडेका छन् । यसले पनि निधिले देउवाको उल्लेख्य भोट काट्न नसक्ने अनुमान धेरै छन् ।

निधिले छाडे पनि देउवासँग सिटौलाको साथ छ । कांग्रेस नेताहरूको अनुमान छ, यसपटक महाधिवेशनमा निर्णायक बनेर बसेका छन्- सिटौला । त्यसैले देउवालाई निधिको साथ छुट्दा पनि खासै फरक नपर्ने देखिन्छ । 

देउवासँग भएका विजयकुमार गच्छदार र सुनिल थापा समर्थनका प्रतिनिधिहरूले पनि महामन्त्रीका उम्मेदवार दिने मतले ठूलो अर्थ राख्ने देखिन्छ । 

यसले गर्दा देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार भएका प्रदीप पौडेल विश्वप्रकाश शर्मा र गगन थापाभन्दा बलिया देखिन्छन् । अर्कोतिर, गगन थापा शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बन्दा पनि पौडेललाई नै फाइदा पुगेको छ । यसअघि प्रकाशमान सिंहसँग निकट देखिएका थिए- थापा ।

तर, अन्तिम समयमा शेखरको प्यानलमा उनी पुगेपछि प्रकाशमान सिंह र उनीनिकट नेताहरू थापासँग रुष्ट भएको अनुमान गरिएको छ । यसले गर्दा प्रकाशमान सिंहका झन्डै २ सय महाधिवेशनमा प्रतिनिधिहरूले गगनलाई मत नदिने अनुमान गरिएको छ । एकातिर गगनको भोट काटिनु र अर्कोतिर पौडेलको भोट थपिनुले यो महाधिवेशनमा यी तीन महामन्त्रीका उम्मेदवारमा पौडेल सबैभन्दा बलिया देखिएका छन् ।

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १४:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया