मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै काम गरेको छु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन् । 

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका हुन् ।

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि सभामुख सापकोटाले बताए । े

‘मुख्यतः यो सदन भनेपछि पार्टीहरुकै भूमिका निर्णायक हुन्छ । सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिखेर सभामुखको भूमिका देखिँदै जान्छ । हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौँ । संविधानले, नियमले, कानुनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरू भोलि नै हुन्छ । अरू त क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो,’ उनले भने, ‘मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, उहाँहरूलाई खुलाउनुस्, सुचारु गरौँ भनेर उहाँहरूसित छलफल गर्ने र फेरि पार्टीहरूसँग छलफल गर्ने, आवश्यकताअनुसार फेरि सर्वदलीय बैठकहरू गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ ।’

सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत नभएको बताए । 

उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि दाबी गरे ।  ‘उहाँहरूले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानुनअनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् । जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरी त्यही गर्न म प्रतिवद्ध छु,’ सभामुख सापकोटाले भने ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १३:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया