कांग्रेस महाधिवेशनः के सभापतिको नतिजाबाट महामन्त्रीबारे पनि पूर्वानुमान गर्न सकिन्छ ?

देशको राजनीति यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रित भएको छ । नेपाली कांग्रेसले आगामि चार वर्षका लागि नेतृत्व छान्न १४ औं महाधिवेशनमा मतदानको प्रक्रिया सकाइसकेको छ । 

महाधिवेशनमा सभापति छान्नका लागि भएको निर्वाचनमा सभापतिका आकांक्षी कसैले पनि ५० प्रतिशत मत पाउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको छ । 

दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, शशांक कोइरालाको समेत समर्थन रहेको छ । यो अर्थमा उनी दोस्रो चरणमा सभापतिमा निर्वाचित हुने सम्भावना प्रचुर भएको छ । पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत पाएका थिए । यो सभापतिमा निर्वाचित हुन देउवाले पाउनु पर्ने मतभन्दा ८२ मत कम हो । उनीसँग प्रतिस्पर्धामा दोस्रो चरणमा पनि रहेका शेखर कोइरालाले १७२९ मत पाएका थिए । प्रकाशमान सिंहले ३ सय ७१ र विमलेन्द्र निधिले २ सय ४९ मत पाएका थिए ।

सभापतिका यी चारै उम्मेदवारले आफ्नो प्यानलमा महामन्त्रीका उम्मेदवार पनि खडा गरेका छन् । 

कांग्रेस महाधिवेशनको निर्वाचन समितिका अनुसार पहिले सभापतिको मतगणना सकिए पछि मात्र अरु पदको गणना सुरु हुँदैछ । सभापतिमा देउवा निर्वाचित हुने लगभग निश्चित भए पछि अब आम चासो छ, महामन्त्रीमा के होला ?

महामन्त्रीमा यी चारै उम्मेदवारले आआफ्नो प्यानलमा उम्मेदवार उठाएका छन् । तीमध्ये प्रकाशमान सिंह र विमलेन्द्र निधिका एक एक जना उम्मेदवार छन् भने शेरबहादुर देउवा र शेखर कोइरालाले एक एक जनालाई उम्मेदवारी दिन लगाएका छन् ।



यसपटक महामन्त्रीको भिडन्तमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् । शेखर प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार रहेका छन् ।

यीमध्ये अहिले चर्चा र चासोको केन्द्रमा छन्, विद्यार्थी राजनीतिबाट आएका र महामन्त्रीका उम्मेदवार बनेका तीन जना, गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्मा । 



फरक फरक प्यानलबाट उठेका उनीहरुबारे सभापतिमा आएको मतको आधारमा कुनै पूर्वानुमान गर्न सकिन्छ त ? आउनुहोस्, यसबारे चर्चा गरौँ ।

यो महाधिवेशनमा प्रतिनिधिहरुबीच पनि व्यापक चर्चा चलेको विषय हो, पुस्तान्तरण । महामन्त्री पदका यी तीनै उम्मेदवारले पनि पुस्तान्तरणको विषयमा आआफ्ना अवधारणा पत्र वा संकल्प पत्रमा चर्चा गरेका छन् । त्यसैले यसपटक महामन्त्रीमा युवा नेताहरुको बर्चश्व हुनसक्ने अनुमान गरिएको छ ।

अब तथ्यांकको हिसाबमा लागौँ । गगन थापा यसपटक महामन्त्री पदको उम्मेदवारका रुपमा निकै चर्चित देखिए । उनले उम्मेदवारी दिएको प्यानलका सभापति हुन्, शेखर कोइराला । कोइरालाले पहिलो चरणको निर्वाचनमा १७२९ मत पाएका थिए । यो त कोइरालाको प्यानललाई खसेको मत भयो । यीमध्ये सबै मत गगनलाई खसेको खण्डमा र उनको लोकप्रियताको आधारमा आएको उनकै आफ्नै मतको आधारलाई मान्ने हो भने उनले यसमा थप एक हजार मत थप्न सक्छन् । त्यस्तो भएको खण्डमा उनी महामन्त्रीमा निर्वाचित हुनेछन् ।

तर, प्रकाशमान सिंहनिकट नेताहरुले गगनको मतलाई कम बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ । प्रकाशमान सिंह र उनी मिल्दा उनको पक्षमा खस्ने सोचिएका मतमा कम्तिमा पनि ३ सय कम हुनसक्ने अनुमान गर्न सकिन्छ । किनकि प्रकाशमानले सभापतिमा ३ सय ७१ मत ल्याएका थिए । शेखर कोइरालालाई परेका सबै मत उनलाई खसेको खण्डमा र प्रकाशमान सिंहका मतदाताले पनि कुनै ‘क्रस भोटिङ’ नगरेको सन्दर्भमा गगनले २५ सयभन्दा बढी मत ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । तर, शेखर कोइरालाकै प्यानलका मिनेन्द्र रिजालको हकमा भने यो लागु नहुन सक्छ ।

त्यस्तै, देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रदीप पौडेललाई पनि देउवाका मतदाताले ‘धोका नदिएको’ खण्डमा उनले पनि २५ सयभन्दा बढी मत ल्याएर महामन्त्री सिट पक्का गर्न सक्छन् । देउवालाई खसेको मत २२५८ बाट केही मत घट्दा र प्रदीप पौडेलको लोकप्रियताका हिसाबले उनले आफ्नो प्रभावमा बनाएका थप ६ सय मतलाई ख्याल गर्ने हो भने पनि उनले २५ सयभन्दा बढी मत ल्याउन सक्छन् । 

तर, देउवाले आफूलाई सभापतिमा सुरक्षित हुन कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई यो पद दिएको कारण पौडेलमाथि देउवाका सबै मतदाताले मतदान नगरेका पनि हुनसक्छन् । यस्तो भएको खण्डमा प्रदीप पौडेलले कम्तिमा पनि १८ सयभन्दा बढी मत ल्याउने देखिन्छ । 

यसपटक महामन्त्री होउन् भन्ने धेरैको कामना र शुभेच्छा रहेका अर्का नेता हुन्, विश्वप्रकाश शर्मा । विडम्बना ! शर्माले महामन्त्रीमा उम्मेदवारी दिँदा राम्रो प्यानल पाएनन् । उनी देउवा प्यानल र कोइराला प्यानल दुवैमा अटाउन सकेनन् । अन्तिममा प्रकाशमान सिंहसँग जोडिन पुगेका शर्माले कति मत ल्याउलान् ? यसै भन्न सकिँदैन । यो किन पनि भने यसपटक उनको पक्षमा पनि महाधिवेशन प्रतिनिधिमा माहोल देखिएको थियो । उनलाई प्यानलको सबै मत र उनको मत सबै आउँदा पनि संख्या कम देखिन्छ । तर, लोकप्रियताका हिसाबले शेखर कोइराला समूहलाई हालिएका मत र देउवा समूहका अरु उम्मेदवारलाई हालिएका मत पनि उनलाई खसेको हुनसक्छ । 

फ्याक्ट्स नेपाल नामको संस्थाले गरेको एक एग्जिट पोलमा त विश्वप्रकाशले खसेको मध्ये २९ प्रतिशत मत पाउने अनुमान गरिएको छ । 

महामन्त्री पदमा चर्चामा गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेकाले अन्य तीन उम्मेदवार मीनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्कीको मत कम आउन सक्ने अनुमान धेरैले गरेका छन् । फ्याक्ट्स नेपालकै एक्जिट पोललाई हेर्दा पनि महत र मिनेन्द्र रिजाल महामन्त्री रेसमा चौथों र पाँचौ नम्बरमा छन् ।


  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १८:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया