नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्म आएको नतिजामा दुई उम्मेदवार दुई मतले पराजित भएका छन् ।
प्रदेश १ मा प्रदेश सभापतिका लागि भएको निर्वाचनमा गुरु घिमिरे दुई मतले पराजित भएका थिए । उनी प्रदेश अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका उद्धव थापासँग दुई मतले पराजित भएका हुन् ।
प्रदेशको अधिवेशन हुँदा गुरु संस्थापन इतर अर्थात् देउवाको विरोधी समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए । उनीसँग प्रतिस्पर्धामा भएका उद्धव थापा चाहिँ कांग्रेसमा कृष्णप्रसाद सिटौला पक्षधर हुन् ।
थापालाई प्रदेश अधिवेशनमा सभापति देउवाले पनि समर्थन गरेका थिए ।
गुरु घिमिरे पहिले केन्द्रमा महामन्त्री पदको उम्मेदवार हुने तयारीमा थिए । तर, पछि उनले महामन्त्रीको दाबी छाडेर प्रदेश सभापति रोजेका थिए । प्रदेश अधिवेशनमा भएको निर्वाचनमा घिमिरे २ मतले थापासँग पराजित भए ।
यता, सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका विजयकुमार गच्छदार पनि दुई मतले नै उपसभापतिमा पराजित भएका छन् ।
उनी पनि २ मतका कारण धनराज गुरुङभन्दा पछाडि परेका हुन् । सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका गच्छदार शेखर कोइराला प्यानलका उम्मेदवार धनराज गुरुङको भन्दा २ मत कम ल्याएकाले पराजित भएका हुन् ।
२ मतले पराजित यी दुवै उम्मेदवारले पुन मतगणना हुनु पर्ने माग राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।