सुनसरी मोरङमा विजय गच्छदारको उपनाम छ 'बाघ उम्मेदवार' । उनको निर्वाचन क्षेत्र सुनसरी ३ मा जब गच्छदार आउँछन् तब कार्यकर्ता भन्छन्, 'बाघको आगमन भयो ।'
यो चर्चा संसदीय र स्थानीय तहको निर्वाचनका बेला मात्रै हुँदैन, पार्टीको आन्तरिक निर्वाचन, उद्योग वाणिज्य संघ, विद्यालय व्यवस्थापन समिति, सहकारी तथा अन्य विभिन्न संघसंस्थाको निर्वाचनका बेलासमेत हुने गर्छ ।
जिल्लामा हुने निर्वाचनमा जब गच्छदारको आगमन हुन्थ्यो परिणाम उनैको पक्षमा जान्थ्यो ।
जिल्लामा भन्दा बढी काठमाडौं बस्ने गच्छदार निर्वाचन हुनुभन्दा केही दिनअघि मात्र जिल्ला आउने गर्थे ।
अरू त अरू आफैँ प्रतिस्पर्धी भएको चुनावमा समेत उनी एक साताभन्दा अगाडि जिल्ला आउँदैन थिए । उनले जिल्लामा इन्ट्री गर्दा निर्वाचनणको परिणाम उल्ट्याउने ल्याकत र हैसियत राख्थे ।
त्यसैले नेता-कार्यकर्ता निर्वाचनका बेला गच्छदारको रणनीति पर्खन्थे ।
उनको निर्वाचन रणनीतिले अहिलेसम्म फेला खाएको थिएन । यसैले उनले संसदीय निर्वाचन हारेका पनि छैनन् । जस्तो सुकै कठिन परिस्थितिमा पनि उनले निर्वाचनलाई आफ्नो पक्षमा पारेरै छाड्ने गरेका छन् ।
संसदीय अभ्यास सुरु भएसँगै उनी निर्वाचनमा फरक फरक पार्टी र पृष्ठभूमिमा उम्मेदवार बने ।
२०४८ सालको आमनिर्वाचन, २०५१ सालको (मध्यावधि) र ०५६ सालको संसदीय निर्वाचनमा उनी कांग्रेसका तर्फबाट विजयी भए ।
२०६४ सालको संविधानसभाको निर्वाचन मधेसी जनाधिकार फोरम र ७० को संविधानसभाको निर्वाचनमा फोरम लोकतान्त्रिकका तर्फबाट चुनाव लडेर जिते ।
२०६४ को प्रतिनिधिसभाको निर्वाचनमा उनले पुनः नेपाली कांग्रेसका तर्फबाट जितेको स्वाद चाखे ।
२०६४ सालको संविधानसभाको निर्वाचन हुनुभन्दा ठीक दुई साताअघि उनले कांग्रेस छाडेर फोरम रोजेका थिए भने, ७० मा केही महिनाअघि मात्रै फोरम लोकतान्त्रिक गठन गरेर चुनावमा होमिएका थिए ।
७४ को प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्दासमेत उनी कांग्रेसमा फर्किएको लामो समय भएको थिएन ।
२०६४ सालमा देशभर कांग्रेस र एमाले विरोधी लहर चल्दा धेरै नेता पराजित भए । तर, उनले त्यो कठिन अवस्थामा पनि २३ हजार सात सय ६९ मत पाएका थिए ।
त्योबेला कांग्रेस उम्मेदवारले १० हजार आठ सय छ र एमाले उम्मेदवारले पाँच हजार सात सय २३ मत पाएका थिए ।
दुई साताअघि मात्रै आफूले रोजेको निर्वाचन क्षेत्रबाट टिकट नपाएको झ्वाकमा फोरममा लागेका गच्छदारले १७ हजार पाँच सय २४ मत ल्याए ।
उनले त्यो बेला एमालेकी उम्मेदवार भगवती चौधरीलाई तीन सय ६२ मतले पछि पारेका थिए ।
७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उनै चौधरीलाई गच्छदारले ३ सय ३२ मतले हराए । उनले ३८ हजार ९ सय ७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन् ।
झेली उम्मेदवार
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा धाँधली भएको भनेर निकटतम प्रतिस्पर्धी भगवती चौधरी अदालतमा गइन् ।
मतगणनास्थलमा नौ वटा मतपत्रको अर्धकट्टी भेटिएपछि छानबिनको मागसहित भगवतीले मत गणना बहिस्कार गरेकी थिइन् ।
पछि उनी संवैधानिक अदालतमा गइन् । तर ४ वर्ष पूरा भयो चौधरी र गच्छदारको मुद्दाको फैसला भएको छैन ।
संवैधानिक इजलास नै नबसेका कारण फैसला नभएको चौधरीको दाबी छ ।
सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत भएको निर्वाचनको मत गणनामा सुरुदेखि नै चौधरी अगाडि थिइन् ।
करिब ३५ सय मत गणना हुन बाँकी हुँदा चौधरीले १ सय २२ मतले लिड गरेकी थिइन् । त्यसपछि मतगणना रोकिएको थियो ।
लामो समय मतगणना रोकिएपछि सुरु भएको मतगणनाको परिणाम भने गच्छदारको पोल्टामा पर्यो ।
रोचक त के भयो भने रोकिएर सुचारु भएको भएको मतगणनामा भगवतीका पक्षमा खसेको ३ सय हाराहारी मत बदर भयो ।
७० को निर्वाचनमा पनि गच्छदारले धाँधली गरेको आरोप लाग्दै आएको छ । मतगणना अन्तिम अन्तिम समयमा पुगेपछि पत्रकार र पर्यवेक्षक सबैलाई मतगणनास्थलबाट निकालिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत तत्कालीन प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीको कमाण्डमा रहेको प्रहरीले माथिको आदेश भन्दै मतगणनास्थल शैक्षिक तालिम केन्द्रको हलबाट सबैलाई बाहिर पठाएको थियो ।
मतगणनास्थल बाहिर बस्न पाउनुपर्ने माग राखेका पत्रकार र पर्यवेक्षक माथिसमेत लाठी चार्ज भएको थियो ।
७० को निर्वाचनमा समेत झिनो मतान्तरले पराजित भएकी चौधरी सेटिङमा आफूलाई हराइएको आरोप लगाउँछिन् ।
५६ सालको आम निर्वाचनमा गच्छदारसँग लडेका एमाले नेता रेवतीरमण भण्डारी गच्छदारालाई निर्वाचनका चतुर खेलाडीका रूपमा सम्झना गर्छन् । उनले भने, 'गच्छदारले निर्वाचनका बेला साम, दाम, दण्ड, भेदको नीति अपनाउँछन् । उनका अगाडि जो कोहीलाई निर्वाचन लड्न गाह्रो छ ।'
समुदायअनुसार प्रभाव पार्न सक्ने खुबी उनका रहेको उनीसँग प्रतिस्पर्धा गरेका नेताहरू बताउँछन् ।
२ मतको महत्त्व
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिमा उम्मेदवारी दिएका गच्छदार २ मतले पराजित भए । संस्थापन पक्षबाट उम्मेदवार बनेका गच्छदारले १ हजार ९०६ मत पाए । उपसभापतिमा चुनिएका धनराज गुरुङले १ हजार ९०८ मत पाए ।
नगर तथा जिल्ला र प्रदेश अधिवेशन चलिरहँदा गच्छदार उम्मेदवार बन्ने कि नबन्ने टुंगो थिएन । तर उनी नगर, क्षेत्र र जिल्ला अधिवेशन हुँदा सुनसरीमा आउँदै महाधिवेशन प्रतिनिधि आफू निकटका चयनमा जोड दिन्थे ।
हुन त यस पटकको अधिवेशनमा पहिलाजस्तो उनको रणनीतिले काम गरेन । उनले आफ्नै नगर दुहवीमा समेत रोजेको व्यक्तिलाई सभापति जिताउन सकेनन् ।
उनका उम्मेदवार टेकचन्द्र विश्वासलाई भतिज वेद गच्छदारले सभापतिमा हराए । क्षेत्रीय अधिवेशनमा पनि उनको जोर बल चलेन ।
उनले सहमतिको नाममा आफूले रोजेका व्यक्तिलाई सभापति बनाउन कोशिस गरे । उनको रोजाइमा थिए प्रदीप चौधरी र कुमारजंग थापा ।
तर, उनको निर्वाचन क्षेत्र सुनसरी ३ मा उनले नचाहँदा नचाहँदै पनि मेहदी हुस्सेन क्षेत्रीय सभापति बने ।
जिल्लामा पनि उनले संस्थापन पक्षका उम्मेदवार सञ्जय श्रेष्ठलाई सघाए । तर, उनलाई केदार भण्डारीले हराए ।
रहला दबदाबा ?
नेपाली राजनीतिमा गच्छदारको २०४६ सालयता दबदबा रह्यो । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन जितेपछि राजनीतिमा चिनिएका हुन् । उनी २०५२, २०५३ र २०५६ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
पार्टी विभाजनपछि शेरबहादुर देउवासँगै उनी कांग्रेस प्रजातान्त्रिकमा लागेका थिए । उनी २०६० देखि २०६४ सालसम्म कांग्रेस प्रजातान्त्रिकको महामन्त्रीको बने ।
त्यसपछि मधेसी जनअधिकार फोरम र लोकतान्त्रिकको नेतृत्वमा रहे । फोरमबाट कांग्रेसमा आउँदा पनि उनी नेपाली राजनीतिको केन्द्रमै रहे । उनी कांग्रेसको उपसभापति मनोनीत भए ।
तर १४ औँ महाधिवेशनले भने उनलाई नेतृत्वबाट किनारामा पुर्याएको छ । जिल्लामा उनी इतरको नेतृत्व चयन भएको छ । १४ औँ अधिवेशनमा उनी निकटका नेताहरूले समेत जिल्ला साथ छाडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।