८२ प्रतिशतभन्दा धेरै प्यानल मत पाउँदा देउवाले किन गुमाए दुई महत्त्वपूर्ण पद ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नतिजा पूर्ण रुपमा आइसकेको छ । नेपाली कांग्रेसले काठमाडौंमा गरेको यो महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसमा सभापतिका रुपमा दोस्रो पटक निर्वाचित भएका छन् । सभापति चुन्नका लागि भएको दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन् । 

सभापतिसहित १३ पदाधिकारीका लागि भएको निर्वाचनमा देउवा प्यानलका अधिकांश नेताहरु विजयी भएका छन् । तर, पदाधिकारीमा देउवा प्यानलका महामन्त्रीका दुवै उम्मेदवार पराजित भएका छन् । यसपटक देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार थिए । उनीहरु दुवैलाई पराजित गरेर विश्वप्रकाश शर्मा र गगन थापा महामन्त्रीमा विजयी भएका छन् ।

पदाधिकारीकै लागि भएको निर्वाचनमा उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्काले जित हासिल गरेका छन् । दुई पदका लागि भएको यो निर्वाचनमा देउवा प्यानलका विजयकुमार गच्छदार पराजित हुँदा धनराज गुरुङ विजयी भएका छन् । 

आठ पदका लागि भएको सहमहामन्त्री पदमा ६ जना देउवा प्यानलका विजयी भएका छन् । आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे, महिला सहमहामनत्रीमा महालक्ष्मी उपाध्याय डिना, मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारु सहमहामन्त्रीमा उमाकान्त चौधरी, मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव, खसआर्य सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन् जो देउवा प्यानलका हुन् । सहमहामन्त्रीमा सभापतिका अर्का आकांक्षी शेखर कोइराला प्यानलबाट बद्री पाण्डे र जीवन परियार मात्र निर्वाचित भएका छन् ।

त्यस्तै, खुला ३५ केन्द्रीय सदस्यमा देउवा प्यानलका ९ जनाले मात्र हार व्यहोरेका छन् । ३५ मध्ये २५ पदमा देउवा प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । 

खुला महिलाको ८ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ८ जना डा. डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रमा कोइराला, सुशीला ढकाल, रंगमति शाही सबै जना देउवा प्यानलका हुन् । 



त्यस्तै, मधेशी खुलामा ५ जनामा ४ जनामा देउवा प्यानलका अजयकुमार चौरसिया, विनोद चौधरी, दिनेशकुमार यादव, महेन्द्रकुमार राय यादव निर्वाचित भएका छन् । मधेशी महिलामा ४ जनामा ४ जना नै देउवा प्यानलका निर्वाचित भएका छन् । मुक्ताकुमारी यादव, मिनाक्षी झा, मन्जुकुमारी यादव, नागिना यादव निर्वाचित भएकोमा सबै देउवा प्यानलका हुन् । प्रदेश २ को खुलाबाट २ केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् । यी दुवै देउवा प्यानलका नै हुन् । प्रदेश २ बा महिला एक जनामा चित्रलेखा यादव निर्वाचित भएकी छिन्, उनी पनि देउवा प्यानलबाट नै उम्मेदवार बनेकी थिइन् । 

त्यस्तै, बागमतीबाट महिलामा उर्मिला नेपाल केसी, बागमती प्रदेश खुलामा २मध्ये एक जना ध्यानगोविन्द रन्जित निर्वाचित भएका छन् । उनीहरु दुवै देउवा प्यानलका हुन् ।



अपागंताबाट केन्द्रीय सदस्य खुलामा एक जना, अल्पसंख्यकबाट एक जना, पिछडिएको क्षेत्रबाट एक जनामा पनि देउवा प्यानलकै विजयी भएका छन् । प्रदेश १ मा महिलामा एक जनामा एक जना, मुस्लिम खुलामा २ जनामा २ जना, मुस्लिम महिलामा पनि देउवा प्यानलबाट नै उम्मेदवार विजयी भएका छन् ।

गण्डकी, लुम्बिनी, कर्णालीबाट महिलामा क्रमशः सरस्वती अर्याल तिवारी, शिला शर्मा खड्का, जानकी सिंह निर्वाचित भएका छन् । एक पदका लािग भएको निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । उनीहरु सबै देउवा प्यानलका हुन् ।

थारु महिलामा दुई पदका लागि भएको निर्वाचनमा दुई जना, थारु खुलामा २ जनामा २, कर्णाली महिलामा १ मा एक, कर्णाली खुलामा २ मा दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका सबै देउवा प्यानलका हुन् ।

केन्द्रीय सदस्यका लागि भएका अरु सबै पदमा अधिकांशमा देउवा प्यानलका उम्मेदवारले नै जित निकालेका छन् ।

पदाधिकारीसहित देउवाले १ सय ३३ मध्ये १०९ पदमा जित निकालेको छ । शेखर पक्षले चाहिँ २१ पदमा जित निकालेको छ । ८ पदाधिकारी र १०१ केन्द्रीय सदस्यमा देउवा पक्षले जित्नु भनेको ८२ प्रतिशत पदमा उनी निर्वाचित हुनु हो । यसको अर्थ हो, कांग्रेस महाधिवेशनबाट छानिएको नयाँ समितिका लागि भएको निर्वाचनमा प्यानलमा मत खसेको थियो ।

तर, देउवा प्यानलबाट नै उठेका दुई महत्त्वपूर्ण पदमा किन दुवै उम्मेदवार पराजित भए ? अहिले कांग्रेस वृत्तमा र विशेषगरि देउवानिकट नेताहरुमा नै यो विषयले प्राथमिकता पाउन थालेको छ ।

‘यसको एउटै कारण भनेको अन्तर्घात हो,’ देउवानिकट एक नवनिर्वाचित केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘देउवा समूहमा रहेका र आफूलाई महामन्त्री वा त्यहाँभन्दा माथिको पदमा दाबी गरिरहेकाहरुले आफ्नै प्यानलका उम्मेदवारलाई अन्तर्घात गरे ।’

यसमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, सन्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्र कार्की, एनपी साउद, केन्द्रीय सदस्यमा निर्वाचित उदय राणा, शंकर भण्डारी र उपसभापतिमा निर्वाचित भएका पूर्णबहादुर खड्का, मोहन बस्नेतलागयतको नकारात्मक भूमिकाको टिप्पणी गरिन्छ ।

‘खाँण र कार्कीले आफूहरुले महामन्त्रीमा दाबी गरिरहेका थिए, कतिसम्म भने उनीहरु दुवै जना मन्त्री पद छोड्न तयार थिए तर कांग्रेस महामन्त्रीमा आफूहरुलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेका थिए,’ देउवानिकट एक नेता भन्छन्, ‘तर, देउवाले कृष्णप्रसाद सिटौलालाई मिलाउन प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । अनि प्रकाशशरणमाथि निकै धेरै विश्वास भएकाले उनलाई पनि महामन्त्री पदको उम्मेदवार बनाए । यसले गर्दा उनीहरु चिढिएका हुन् ।’

त्यस्तै, तनँहुकै भएकाले देउवा प्यानलकै भए पनि शंकर भण्डारीले पनि प्रदीप पौडेललाई हराउन भूमिका खेलेको ती नेताले बताए । 

‘उनीहरुलाई देउवा प्यानलकै प्रकाशशरणलाई उम्मेदवार बनाएको त मन परेको थिए, पौडेल त झन् आफूहरुभन्दा परका हुन् भन्ने सोचाइ थियो,’ ती नेताले भने, ‘यसले गर्दा महतले हारेका हुन् ।’

यस्तो अवस्थामा देउवा स्वयंले पनि भूमिका खेलेको हुनसक्ने आशंका पनि गरिएको छ । प्रदेश २ का नेता महेन्द्र यादवलाई देउवा स्वयंले नै महामन्त्रीमा विश्वप्रकाश शर्मालाई मत माग्न र दिन बताएको प्रदेश २ का अर्का एक नेताले फरकधारलाई बताए । 

‘प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश उठ्नुको कारण नै देउवाको ग्रिन सिग्नल हो,’ ती नेताको दाबी छ ।


  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १४:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया