[अन्तर्वार्ता] कांग्रेस सुध्रे कम्युनिस्ट सुध्रिन्छ, अनि देश बन्छ

कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट निर्वाचित नेता हुन् बद्री पाण्डे । उनले पार्टीमा पुस्तान्तरणको मुद्दा उठाउँदै आएका छन् ।

पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्दैगर्दा चार ‘ब’ लाई संगठन सुदृढीकरणका लागि कांग्रेसले व्यावहारिक रूपमा प्रयोगमा ल्याउनुपर्ने एजेन्डा पनि उठाएका थिए । र, उनको अर्को मत थियो – पार्टी सुधारेर राजनीति सुधार्नुपर्ने र राजनीति सुधारेर देश सुधार्नुपर्ने ।

पाण्डेसँग फरकधारकर्मी जङ्ग तामाङले उनले सार्वजनिक गरेका एजेन्डा कार्यान्वयनदेखि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतसहित जनअनुमोदित पार्टीको रूपमा स्थापित गर्न तय गरिने सम्भावित कार्यक्रमबारे गरेको कुराकानी :

सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्दा तपाईंको जोड पार्टीलाई पात्रप्रधान नभई पद्धतिप्रधान बनाउनुपर्ने थियो । त्यसपछि दल सुधार्ने, राजनीति सुधार्ने र अन्तिममा देश सुधार्ने भन्ने थियो । अब त निर्वाचित पनि भइसक्नुभयो । तपाईंको जोड के मा रहन्छ ?

पार्टी नै दलीय व्यवस्थाको परिवर्तन र रूपान्तरणको वाहक हो । किनभने पार्टी सुध्रिएपछि संसदको ‘बिजनेस’ सुध्रिन्छ, संसदले ‘पर्फर्मेन्स’ दिन्छ । संसदले राम्रो ढंगले जिम्मेवारी निर्वाह गर्दछ । जनमानसमा राजनीतिक र सामाजिक जागरणको संशय रहने सम्भावना रहन्न । त्यसैले दलीय व्यवस्थाको मुख्य दल भएकै कारणले दल सुधार नै महत्त्वपूर्ण मुद्दा हो ।

त्यसमा पनि कांग्रेस यो पद्धतिको ‘लिडिङ पार्टी’ हो । कम्युनिस्टहरू यो व्यवस्थामा आइपुगेका छन् । हामीले हार्दिकतापूर्वक उनीहरूको उपस्थितिलाई स्वागत गर्नुपर्छ । र, उनीहरू नवआगन्तुक हुन् यो प्रणालीमा ।



त्यो भनेको बहुदलीय प्रणालीमा ?

हो, किनभने उनीहरूको दर्शन नै एकदलीयतामा आधारित हो । यद्यपि, धेरै वर्ष भइसक्यो अइसकेको यो पद्धतिमा । तर, पनि हाम्रो अगाडि नवआगन्तुक हो । त्यसैले उनीहरूलाई दोष दिनुभन्दा अगाडि हाम्रा कमीकमजोरी छन् कि भनेर हेर्नुपर्छ । कतिपय दलहरू पञ्चायतको पृष्ठभूमिबाट आएका छन् । उनीहरू निदर्लीयतामा विश्वास गर्थे । अहिले पनि उनीहरू राजतन्त्र फर्काउनेसम्मका कुरा गर्छन् । उनीहरू पनि यो प्रणालीका लागि नवआगन्तुक हुन् ।



त्यसैले यो प्रणालीका लागि मूल बाहक कांग्रेस हो । घरभेटी हो । घरभेटीले आफैँलाई सुधार्नुपर्छ । घरभेटी सुध्रिए आगन्तुकहरू सुध्रिन्छन् ।

उसो भए कांग्रेस रूपान्तरित पार्टी हुनका लागि खास-खास सुधार गर्नुपर्ने पाटा के–के हुन् ?

पहिले त विधिको बाटोमा हिँड्नु पर्यो । अहिलेसम्म खडा भएका समस्या हामी विधिको बाटोमा नहिँड्नाले हो । त्यत्रो दूरदर्शी, विलक्ष्ण प्रतिभा र क्षमता भएका नेता विपी कोइरालाकै पालादेखि कांग्रेसले एक प्रकारले द्वन्द्व बेहोर्नुपर्यो । कार्यकारी सभापति को भन्नेमा विपी कोइराला र डा. डिल्लीरमण रेग्मी समूह विभाजित भयो । अन्ततः रेग्मी समूह पार्टीबाट बाहिरियो ।

त्यो बेलादेखिको अन्तरद्वन्द्व र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गर्न नसकेका कठिनाइ, समस्या र चुनौती आजसम्म पनि बेहोरिरहेका छौँ । अब १४ औँ महाधिवेशनपछि हामीले नयाँ शिराबाट जानुपर्छ । विगतमा भएका अन्तरद्वन्द्वलाई अन्त्य गर्ने विकल्पबारे सोच्नुपर्छ । त्यो भनेको विधिको सर्वोच्चता नै हो ।

त्यसका लागि गुटको अन्त्य होला नि पहिलो विकल्प । कसरी अन्त्य होला त गुट ?

नवनिर्वाचित कार्यसमितिले शनिबार प्रमाणपत्र ग्रहण गरेर त्यही दिन केन्द्रीय समिति बैठक पनि बस्दै छ । र, अहिले सभापतिमा प्रतिस्पर्धा गर्नुभएका मुख्य प्रतिस्पर्धी डा. शेखर कोइरालाले मतदातालाई धन्यवाद दिने कार्यक्रममा भन्नुभएको छ, ‘गुटबन्दीको न्यूनीकरणमा हाम्रो सम्पूर्ण प्राथमिकता हुन्छ । भागबण्डाको राजनीतिले आक्रान्त थियो पार्टी । त्यो भागबण्डाको राजनीतिबाट हामीचाहिँ पार्टीलाई मुक्त गर्छौँ । यो भागबण्डाको राजनीतिलाई निरन्तरता दिँदैनौँ/गर्दैनौँ र पार्टीमा न्याय सम्पादन पनि हुनुपर्छ ।’

म के कुरामा आशावादी छु भने, पुनः निर्वाचित सभापति १५औँ महाधिवेशनका लागि प्रतिस्पर्धी होइन हाम्रो विधानअनुसार । उहाँ राजनीतिक हिसाबले एक प्रकारले आफ्नो जीवनको उत्तरार्द्धमा हुनुहुन्छ । हाम्रा नेताहरू गिरिजाप्रसाद कोइरालाको नाम लिनुहोस्, सुशील कोइरालाको नाम लिनुहोस्, केही आलोचना राजनीतिक दौरानमा खेप्नु भए पनि जीवनको उत्तरार्द्धमा आफूलाई एउटा राजनीतिक उचाइमा पुर्याएर आफ्ना लागि पनि छवि निर्माण गर्नुभएको छ । पार्टी र देशका लागि पनि एउटा राजनेताको छवि निर्माण गर्नुभएको छ ।

मैले वर्तमान सभापतिमा त्यो अपेक्षा गरिरहेको छु । पार्टीको एउटा पदाधिकारीमा म निर्वाचित भएको नाताले पहिलो केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा मैले त्यो विश्वास गरिरहेको छु । त्यसैले उहाँ विधिको बाटो, विवेकको बाटो र न्यायको बाटोबाट चल्ने र आफूलाई मत हाल्ने/नहाल्ने सबैलाई चाहिँ साझा अभिभावक हुँ भन्ने नेता हुनुपर्छ । त्यो भावनाबाट ओतप्रोत हुन हामी सबैले उहाँलाई प्रेरित पनि गर्नुपर्छ ।

तर, कांग्रेसको १४ औँ महाधिवेशनबाट १३४ जनामा ८१ प्रतिशत सभापति देउवा समर्थितहरू निर्वाचित भएको देखियो । दलमा होस् वा संसद्मा बहुमतको कदर होस् भन्ने हुन्छ । त्यसो हुँदा तपाईंहरू स्वाभाविक रूपमा पार्टीमा अल्पमतमा देखिनुभएको छ । तपाईंहरूले उठान गर्नुभएको एजेन्डा बहुमतले पारित नगरेर अगाडि बढ्यो भने के हुन्छ ?

मलाई सम्झना छ, २०७४ सालपछि राष्ट्रियसभामा म उपसभामुखको प्रस्तावक थिएँ । हाम्रो बहुमत थिएन त्यहाँ । प्रस्तावक सदस्यको हिसाबले बोल्दा मैले प्रारम्भमै यो शब्दावली प्रयोग गरेको थिएँ कि, ‘यो अंकगणितको राजनीतिमा हामी धेरै नलागौँ । अंकगणितभन्दा धेरै महत्त्वपूर्ण कुरा राजनीति हो । राजनीतिको मर्मलाई र त्यसका मूल्य मान्यतालाई बेवास्ता गरेर अंकगणितको पछि लाग्यौँ भने अंकगणितको दम्भले दुर्घटनातिर उन्मुख हुन सक्छौँ ।’

यद्यपि, त्यो संसद्को कुरा थियो । यहाँ जोड्न खोजिएको कुरा के भने तर्क, विवेक र विधिको पक्षमा हामी सबै कांग्रेस एकाकार हुने भन्ने हो । त्यही भएर अंकगणितको कुरा आउँदैन भन्ने लाग्छ ।

राजनीतिक मुद्दालाई पार्टी सुदृढीकरणको सवालमा स्थापित गर्नुपर्छ र बहुमतलाई प्रधान ठान्नु हुँदैन भन्ने तपाईंको मत हो ?

हो, हामी पार्टीको पदाधिकारी बनेका छौँ । अब हामी कुनै गुटको प्रतिनिधि होइनौँ । कुनै टिमको प्रतिनिधि होइनौँ । पार्टीको पदाधिकारी हौँ । सभापति पार्टीको हो । त्यसैले अंकगणिततिर धेरै नजर लगाउने, अंकगणितका कारणले कोही निराश हुने, कोही दम्भ, अहं र तुष पाल्ने दिशामा जान हुँदैन । एउटा विधि र प्रक्रिया हामीले अवलम्बन गरेका थियौँ नेतृत्व चयनका सन्दर्भमा । कार्यसमिति बन्यो ।  बनेपछि हाम्रा साझा उद्देश्यहरू छन् । संयुक्त ‘मिसन’ छ ।

त्यो ‘मिसन’ के हो ?

त्यसको मतलव, अब तीन तहको निर्वाचन आउँछ । विगत २०७४ को चाहिँ जुन तितो अनुभव छ । त्यसलाई हामीले सच्याउनु छ । तीनै तहमा कांग्रेसलाई विजयी गराउनु छ । हामीले त्यहीबेला भनेका थियौँ – ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्रथम पटकमा नै सतपात्रको हातमा पुगेन ।’

त्यसैले हामी सतपात्र हुँ भनेर जनमानसलाई आश्वास्त पार्न जरुरी छ । यद्यपि, त्यो मनोविज्ञान जनमानसको देखिन्छ । त्यो मनोविज्ञानलाई टेकेर हामीले निर्वाचन जित्नुपर्ने पनि जरुरी छ ।

जितको स्वाभाविक हकदार कांग्रेसलाई चित्रण गरिरहँदा कांग्रेसले के गर्यो राजनीतिक परिवर्तनको नेतृत्वबाहेक जनजीविकाको सुधारमा ? जसका कारण कांग्रेस ठूलो पार्टी हुनुपर्छ ।

२०१६ सालमा दृढ इच्छाशक्ति र दूरदर्शी नेता विपी कोइरालाको नेतृत्वमा सरकार थियो । १५ वर्षभित्र यदि कांग्रेसले शासन गर्न सक्यो भने प्रत्येक नेपालीलाई आफू बराबरको बनाउँछ भन्नु भएको थियो ।

त्यो केवल भावना थिएन । उहाँले खाका कोर्नु भएको थियो । सडक सञ्जालको कुरा, त्यसको योजना, विद्युतीकरणको कुरासँगै हजारौँ स्कुल अभियानकै रूपमा त्यही समयमा खुले । तर, त्यो क्रम १८ महिनामै खण्डित भयो । २०४६ सालपछि पनि जुन आर्थिक, राजनीतिक प्रणाली स्थापना गरियो त्यसको बलमा आज पनि नेपालले धेरैवटा समस्या भोगेको छ । देशमा १० वर्ष द्वन्द्व थेग्यो । भूकम्प थेग्यौँ । अहिले कोभिड महामारी भोगिरहेका छौँ । कतिपय मानिसहरू भन्थे – ‘फेलियर स्टेट’ हुन्छ । ‘टाट पल्टिने भयो’ भन्थे । तर, पनि हामीले खडा गरेको जगले आजसम्म देश ‘फेलियर स्टेट’ हुनबाट जोगिएको छ ।

यो भन्दैगर्दा अरु विकासको पूर्वाधारको कुरामा हामी सन्तुष्ट छैनौँ । नागरिक सन्तुष्ट छैनन् । धेरै ठूलो अपेक्षा छ । धेरै ठूलो आकाङ्क्षा छ । तर, म के मान्दिनँ भने - केही पनि भएको थिएन र छैन ।

फेरि, कुरा पद्धतिकै गरौँ । अघि तपाईंले पार्टीलाई पद्धतिमा चलाऔँ भन्ने कुरालाई अलिक बढी जोड दिनुभयो । तर, कांग्रेसमा १ साउनदेखि २४ मंसिरअघिसम्म कुटपिटदेखि गोली प्रहारसम्मका ११ वटा घटना भए । त्यसलाई कांग्रेसको लोकतन्त्रको सौन्दर्यता भनेर बुझ्ने ?

हामीले लोकतन्त्र विचार र वचनमा होइन कि व्यवहार र संस्कारमा ग्रहण गर्नुपर्छ । महाधिवेशन आइरहन्छ र गइरहन्छ । यो आवधिक चुनाव हो । यसपटक म बन्दा पनि फरक पर्दैन, नबन्दा पनि फरक पर्दैन । यो एउटा स्वस्थ प्रतिस्पर्धा हो । म भएँ भने भएँ, नभए सिद्धियो भन्ने ढंगको सोचाइले यस्ता घटनाहरू निम्तिएका हुन् । यस्ता घटना न्यूनीकरणमा केवल विधिले मात्रै काम गर्दैन । यो त एउटा जागरणको पक्ष हो । संस्कार निर्माणको पक्ष हो । त्यो कामका लागि आगामी दिनमा पार्टीले प्रशिक्षण चलाउनुपर्छ ।

घटनाको मूल जड त क्रियाशील सदस्यता वितरण र नवीकरण होइन र ?

हो । यसकै लागि पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान उपसभापतिको नेतृत्वमा छ । त्यो यथाशीघ्र गठन गर्नुपर्छ र त्यसले प्रशिक्षण अभियान सञ्चालन गरिहाल्नुपर्छ, त्यसैगरि पार्टीका विभाग छन् संगठन विभागलगायतले पनि पूर्णता पाउनु पर्छ । विभागले विधानमा तोकिएको नियमावलीअनुसार काम प्रारम्भ गरिहाल्नुपर्छ ।

मैले अभियानकै रूपमा संगठन सुदृढीकरणका लागि भन्दै ल्याएको चार ‘बि’ छ । पहिलो ‘ब’ विचार, वैचारिक स्पष्टता र एकरूपता । पार्टीका प्रत्येक सदस्यमा त्यो खोज्नुपर्छ । भेटिएन भने विजारोपण गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । उत्प्रेरित गर्नुपर्छ । प्रत्येक पार्टीका सदस्यहरूमा वैचारिक स्पष्टता र एकरूपता अबको आवश्यकता हो ।

दोस्रो ‘ब’ विधानको अक्षरशः परिपालना । त्यो केन्द्रदेखि तलसम्म सबै संरचनाले पालना गर्ने गराउने । तेस्रो ‘ब’ हामीले बैठक नियमित गर्नुपर्छ । त्यसका अतिरिक्त बैठकहरू पनि बस्नुपर्छ । चौंथो ‘ब’ कार्यकर्ताहरूको व्यवस्थापन । सबै कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ । कार्यालयको व्यवस्थापन र अर्थ व्यवस्थापन गर्नुपर्छ । यति गरिएको खण्डमा पार्टीमा यस्ता क्रियाशील सदस्यताको विवाद आउँदैन ।

विनोद चौधरीसँगै उमेश श्रेष्ठलगायत धनाढ्यहरूको कांग्रेसमा भएको प्रवेशले के अर्थ राख्छ ? जसको पार्टी संगठन निर्माणमा त्यति भूमिका छैन ।

१३ औँ महाधिवेशनभन्दा यो केन्द्रीय समितिको आकार दोब्बरले ठूलो छ । विभिन्न क्षेत्र र क्लस्टरबाट नेताहरूको प्रवेश भएको छ । महाधिवेशनको ‘म्यान्डेट’ प्राप्त गरेर निर्वाचित भई प्रवेश भइसकेपछि हामीले भेदभावको नजरले हेर्नुहुँदैन । को ठूलो ? को सानो ? को धनी ? को गरिब ? कोही हुँदैन । अब, हामी सबै केन्द्रीय सदस्य र पदाधिकारीको रूपमा छौँ । र, कांग्रेस पार्टीको सोच के हो भने मजदुर किसान पनि अट्नुपर्छ । उद्योगी, व्यापारी, व्यवसायीहरू पनि अट्नुपर्छ । कांग्रेस त्यति ‘ओपन’ पार्टी हो । तर, धनी छु भन्ने बढपनलाई र दम्भलाई प्रदर्शन गरेर पार्टीभित्रका निष्ठावान कार्यकर्ताहरूलाई थिचोमिचो गर्ने काम हुनु भएन ।

यद्यपि, उहाँहरूले पार्टीलाई उद्योगधन्दा, कलकारखाना र व्यवसायको दिशामा उत्प्रेरित गर्ने आर्थिक कार्यक्रम ल्याउनुहुन्छ , हामीले राजनीतिक कार्यक्रम लिएर जान्छौँ । त्यसको अन्तरक्रियाबाट कांग्रेसलाई आर्थिक र राजनीतिक रूपमा अघि बढाउने खालको माहोल बन्छ । अहिल्यै पूर्वाग्रह राख्नुपर्छ भन्ने छैन ।

उसो भए कांग्रेस कोषाध्यक्ष विनोद चौधरी हो त ?

सभापतिले के सोच्नु भएको छ ? थाहा छैन । उहाँले प्रस्ताव गर्ने र केन्द्रीय कार्य समितिले निर्वाचित गर्ने प्रबन्ध छ । सभापतिले प्रस्ताव गर्दा पनि सबै पक्ष र औचित्य आवश्यकता हेर्नुहोला । अहिले म यसै भन्न सक्दिनँ ।

फेरि, निर्वाचनको लहर आउँदै छ । बहुमतबाट जनअनुमोदित पार्टी हुन कांग्रेसको खास कार्यक्रम के हुन्छ ?

महाधिवेशनमा हामीले निकै ठूलो अभ्यास गरेका छौँ । यो महानिर्वाचन जस्तो भयो । त्यो अभ्यासबाट प्राप्त ऊर्जा र अनुभवलाई हामीले उतापट्टीका निर्वाचनमा उपयोग गर्नुपर्छ । र, पार्टीका अधिवेशनका सिलसिलामा कहीँकतै मनमुटाव र अस्वस्थ प्रतिस्पर्धा भए भने त्यसबाट पुगेको क्षतिलाई हामीले न्यूनीकरण गरेर एकता र विश्वासको वातावरण पार्टीभित्र निर्माण गर्नुपर्छ ।

मलाई के लाग्छ भने २०७४ सालको निर्वाचनको बेला दुईवटा कम्युनिस्ट पार्टीहरू अनयासै एक ठाउँमा उभिए । र, जनमानसमा एउटा आशा सञ्चार पनि भयो । पछि त्यो भ्रम जस्तो देखियो । अब हाम्रा विपक्षीहरूसँग त्यस्तो आशा सञ्चार गर्ने कुनै विकल्प छैन । आशा हामीतिरै छ । खाली कांग्रेसले के गर्नुछ भने त्यो आशालाई कांग्रेसले धोका दिँदैन । सम्मान गर्छ । विगतमा भएका कतिपय कमीकमजोरीलाई समेत सच्याउँछ । कांग्रेस एउटा आधुनिक, लोकतान्त्रिक र नागरिकका समस्याहरूलाई अनुभूत गर्दै त्यसलाई समाधान गर्ने शक्तिशाली पार्टीको रूपमा विश्वास दिलाउनुपर्छ ।

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार २१:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया