[अन्तर्वार्ता] सभापति देउवाले तीन तहको निर्वाचनसम्मै गठबन्धन लैजाने संकेत गर्नुभएको छ

नेपाली कांग्रेसको १४औँ महाधिवेशन ‘पुस्तान्तरण’को महाधिवेशनको रूपमा चर्चित छ । पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यमा नयाँ अनुहारले स्थान पाएका कारण पनि पुस्तान्तरण भनिएको हो । यसपटक नयाँ अनुहार र पुराना अनुहारका नेताहरूको सम्मिश्रण बनेको कांग्रेसको केन्द्रीय समिति । अघिल्ला महाधिवेशनमा भन्दा यसपटक युवापुस्ताले तुलनात्मक रुपमा प्रतिनिधित्व पाएका छन् । यिनैमध्येका एक सहमहामन्त्री पदमा निर्वाचित भीष्मराज आङ्देम्बेले त यो अधिवेशनलाई  नेतृत्व हस्तान्तरणकै रूपमा लिएका छन् ।

नयाँ र पुराना अनुहार मिश्रित नेताहरू भएको यो समितिले कांग्रेसलाई गतिशील, क्रियाशील, ऊर्जाशील मात्रै होइन, विचारशील पनि बनाउनुपर्ने दायित्व रहेको उनको ठम्याइ छ । यससँगै नीतिगत रूपमा स्पष्टतासहित योजना तथा कार्यक्रम बनाएर आगामी तीन तहको निर्वाचनमा होमिँदा कांग्रेसलाई अब्बल पार्टी बनाउनुपर्ने अर्को महत्त्वपूर्ण दायित्व रहेको पनि उनी बताउँछन् । 

पुस्तान्तरण, टिममा भएको भनिएको घात–प्रतिघात, एमसिसी परियोजना, आगामी निर्वाचनमा गठबन्धनले निरन्तरता पाउने या नपाउने आदि विषयमा केन्द्रित रहेर सहमहामन्त्री आङ्देम्बेसँग फरकधारकर्मी जङ्ग तामाङले कुराकानी गरेका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ र पुराना अनुहारहरू पदाधिकारीमा देखिए । यसलाई कतिपयले ‘पुस्तान्तरण’ भन्न थालेका छन् । तपाईंले कसरी लिनुभएको छ ? पुस्तान्तरण भएकै हो ? 

यो चौधौँ महाधिवेशन हुँदै गर्दाखेरि पार्टीभित्रको शीर्ष नेतृत्वहरू जसले ६० वर्षभन्दा लामो राजनीतिक अनुभव बोक्नुभएको छ, उहाँहरूको नेतृत्वमा साह्रै धेरै युवा पदाधिकारी र केन्द्रीय कार्यसमितिमा रहोस् भन्ने निष्कर्षसहित महाधिवेशन सम्पन्न होस् भन्ने मेरो चाहना थियो । 

र, १४ औँ महाधिवेशनले त्यो कुरालाई इंगित पनि गर्यो । यो पुस्तान्तरण पनि हो, हस्तान्तरण पनि हो । नेपाली राजनीतिको लामो अनुभव बोक्नुभएका सभापति शेरबहादुर देउवा सभापतिमा दोहोरिनुभएको छ । धेरै युवानेता पदाधिकारी र केन्द्रीय समितिमा आउनुभएको छ । 



त्यसो भएकाले पुराना र नयाँ पुस्ताको भरोसाको बीचमा १४औँ महाधिवेशनले तोकेको कार्यभार हामी पूरा गर्छौं । र, नयाँ अनुहारहरूले १५औँ महाधिवेशनको नेतृत्व गर्छन् । यसलाई हामीले कार्यकर्ता र प्रतिनिधिले दिएको ‘म्यान्डेट’ र यसलाई पुस्तान्तरण र हस्तान्तरण दुवै भनेका छौँ । 

यो महाधिवेशनले राजनीतिक रूपमा समाजलाई के सन्देश दिन खोजेको हो ? 



अनुभवबाट खारिएका नेताहरूले दिएको मार्गदर्शनबाट नयाँ पुस्ताले काम सिकोस् । साढे आठ लाख क्रियाशील सदस्यता भएको पार्टीको पुष्टि पनि होस् । नेपाली जनताले हिमाल, तराई र पहाडभित्र जुनसुकै बेला नेपाली कांग्रेसलाई भेट्नुपर्दछ र कांग्रेस हरेक समवेदनाभित्र मल्हम बनेर उपस्थित पनि हुनुपर्दछ ।

हरेक राष्ट्रिय मुद्दाहरूमा वैचारिक स्पष्टता बोकेर पनि आउनुपर्दछ । यो १४औँ महाधिवेशनका प्रतिनिधिले दिएको ‘म्यान्डेट’ हो । त्यसकारण नेपाली कांग्रेस रूपान्तरित पार्टी भएर अगाडि बढ्छ । यसले २१औँ शताब्दीको सोचलाई बोकेर अगाडि जान्छ । मैले त्यो सन्देश महाधिवेशनले दिएको रूपमा लिएको छु । 

अधिकांश उम्मेदवारले कांग्रेसलाई गतिशील, ऊर्जाशील र विचारशील पार्टी बनाउने प्रतिबद्धता जनाएका थिए । तीमध्येका धेरैजना निर्वाचित पनि भए । के के साँच्चै अब, कांग्रेस गतिशील, विचारशील र ऊर्जाशील पार्टी बन्छ ? 

बन्नैपर्छ । किनभने कांग्रेससँग यो र त्यो बहानामा प्रस्तुत हुने विकल्प छैन । हामीले वैचारिक स्पष्टताको र गतिशीलताको कुरा उठाउँदै गर्दाखेरि युवापुस्तामा पार्टी रूपान्तरित हुनुपर्छ । यस अर्थमा पनि पुस्तान्तरण, हस्तान्तरण र रूपान्तरणको मुद्दा उठेको हो । आज सबै उमेर समूहका पार्टीमा देख्न सकिन्छ । ठ्याक्कै महसुस हुने गरी छ । यो उमेरकाहरूको उपस्थितिमा पनि पार्टीको विचार स्पष्ट पार्न सकिएन भने अब अर्को कुनै विकल्प हामीसँग बाँकी छैन कि १५औँ मा यसो गर्छु र १६औँ मा यसो गर्छु भनेर । 

त्यसकारण, पार्टी गतिशील भएर अगाडि बढ्नै पर्छ । वैचारिक स्पष्टताले थप गतिशील बनाउने हो, पार्टीलाई । विभिन्न कारणले यो महाधिवेशन नेतृत्व चयनतिर मात्रै लक्षित भयो । तर, हामी चाँडै महासमिति वा महाधिवेशन प्रतिनिधिहरूको बैठक बोलाएर नीतिगत बहसमा जान्छौँ । त्यसरी हामी वैचारिक रूपमा स्पष्ट पारेर जान्छौँ । पार्टीका हरेक विभागलाई क्रियाशील बनाएर गतिशील बनाउँछौँ । यसमा दुई मत छैन । 

महासमिति वा महाधिवेशन प्रतिनिधिहरूको बैठक कहिले बस्छ ? 

चाँडै बस्छ । समय धेरै छैन । हामीले वैचारिक स्पष्टताका निम्ति र पार्टीका हरेक संगठनलाई चाँडोभन्दा चाँडो क्रियाशील गरेर हिमाल, पहाड, तराई हरेक भूगोलमा उठ्ने समवेदनशीलतालाई ठ्याक्कै सम्बोधन गर्ने पार्टीको रूपमा रुपान्तरित गर्नका लागि अब वर्ष दिन वा डेढ वर्ष कुर्ने हामीसँग समय छैन । 

त्यसभन्दा अर्को बाध्यात्मक अवस्था के छ भने हामी तीनै तहको निर्वाचनमा जाँदै छौँ । तीनै तहको निर्वाचनमा कांग्रेसलाई प्रस्तुत गर्दैगर्दा वैचारिक स्पष्टताका साथसाथै अन्य धेरै योजनाका साथ उपस्थित हुनुपर्ने हुन्छ । र, साढे आठ लाख क्रियाशील सदस्यलाई वैचारिक स्पष्टताका साथ पार्टी अगाडि बढेको हामीले भन्न सक्नुपर्छ । हामी बढीमा पाँच महिनाभित्र नीतिगत रूपमा पार्टीलाई दिशाबोध गर्छौं । 

महाधिवेशनमा घात–प्रतिघात भएको कुरा पनि उठ्न थालेको छ नि, त्यो पनि तपाईं नै उम्मेदवार रहेको प्यानलमा ?

मैले त्यस्तो सुनेको छैन । 

महामन्त्रीको उम्मेदवार प्रकाशशरण महतले घात भयो भनिसक्नुभयो पत्रकार सम्मेलन गरेर !

उहाँले भन्नुभएको भन्ने मैले पनि सुनेँ । कति आधिकारिक हो, थाहा छैन । मलाई टिमभित्रबाटै घात भयो भनेको मैले खबरमा सुनेको छु । तर, यो प्यानललाई त्यो प्यानललाई सिध्याउन लाग्यो भन्ने ढंगबाट चाहिँ कहीँ पनि सुनिएको छैन । 

उम्मेदवारहरूको हार–जितपछि आन्तरिक रूपमा समीक्षा चाहिँ भयो कि भएन संस्थापन पक्षमा ? 

हुँदै जान्छ । टिमभित्र समीक्षा हुन्छ, गर्नुपर्छ । अहिले त्यस्तो खालको अनुभूति केही साथीले व्यक्त गरे पनि समग्रमा त्यो खालको देखिँदैन । टिम–टिम त हुने नै भयो । कोही जित्ने र कोही हार्ने त निश्चित रूपमा हुन्छ । यद्यपि, जित्नेले हार्नेलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्ने हुन्छ । 

अनि, सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङको व्यवस्थापन कसरी हुन्छ ? 

चुनौती छ । यसका बाबजुद व्यवस्थापन गर्नु छ । थोरै ठाउँ छन् । उहाँहरूले हारेपछि अस्तित्व सकियो वा हारेपछि विस्थापित हुनुभयो भन्ने कुरा पटक्कै होइन । किनभने उहाँहरूको महत्त्व हिजो पनि थियो । आज पनि छ र भोलि पनि रहिरहनेछ । त्यसले गर्दा महाधिवेशनमा कोही तल कोही माथि भयो होला, तर सबैलाई समेटेर अगाडि बढ्नुपर्छ र मलाई लाग्छ, यो कुरामा पार्टी सभापति गम्भीर हुनुहुन्छ । किनभने हामीसँग केही मनोनीत गर्ने ठाउँहरू पनि छन् । उहाँहरूलाई त्यसरी समेटेर नै पार्टी सभापतिले केन्द्रीय समितिलाई पूर्णता दिनुहुन्छ । 

अनि, नेता रामचन्द्र पौडेल, सिटौला सिंह, निधिलगायत नेताको वरीयताक्रम कस्तो हुन्छ ?
 
मलाई वरीयता तोक्न कुनै समिति गठन गरेको याद छैन । दुई–तीनवटा माप​दण्डको आधारमा वरीयता तोकेर जाने भन्ने कुरा आइरहेको छ । त्यसरी नै मिलाएर जाने हुन्छ । त्यत्रो ठूलो समस्या आउँदैन । 

तर, सभापति पदका प्रतिस्पर्धी डा. शेखर कोइरालालाई २०औँ वरीयतामा पुर्याइएछ नि ? 

दुई–तीनवटा मापदण्डमा छलफल भएको सुनिएको हो । पुराना पदाधिकारीलाई अगाडि राखेर वरीयताक्रम मिलाएको भन्ने कुरा आएको हो । सायद त्यसैअनुसार बनेको होला । र, उहाँले पहिलो बैठक त्यही कारणले छाड्नुभयो भन्ने त लाग्दैन । बरु मैले के सुनेको छु भने ‘वरीयताले सबै कुरा निर्धारण गर्दैन’ भन्ने सकारात्मक कुरा उहाँबाट सुनेको छु । 

१२ औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित शेरबहादुर देउवा वरिष्ठ नेता हुनुभयो । १३ औँ महाधिवेशननमा शेरहादुर देउवासँग पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुभयो । अहिले १४ औँ महाविधेशनमा सभापति शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइराला अनि किन वरिष्ठ नेता नहुने भनेर पनि कुरा उठेको छ नि ? 

होइन । त्यसरी हेर्दा त्यस्तो देखिन्छ । तर, पूर्वपदाधिकारी भन्ने आधार मानेर वरीयता सार्वजनिक भयो भन्ने आएको छ ।

पार्टीमा वर्षौं काम गरेका रामचन्द्र पौडेललाई पार्टीले कसरी व्यवस्थापन गर्ला ? कि, उहाँको पनि अवस्था कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको जस्तै हुने हो ?

उहाँले वैरग्यता लिनु भएको छैन । उहाँ निरास हुनुभएको छैन । राजनीतिबाट सन्न्यास लिनुभएको भन्ने कुरालाई त उहाँले नकार्नु भइसक्नुभयो । आफ्नो क्रियाशीलतालाई अल्पविराम भन्नुभयो । 

महाधिवेशनको प्रक्रियासम्म आइपुग्दा गुटभित्रको पीडा छचल्किएको होला । तर, सतहमा थुप्रै प्रश्न उब्जिए र उहाँले एकै शब्दमा के जवाफ दिनुभयो भने यो अल्पविराम हो । पूर्णकालीन होइन । म राजनीतिमा क्रियाशील छु र राजनीतिलाई थप शुद्धीकरण गर्न अभियानमा लागिरहन्छु भन्नुभएको छ । अनि, सभापतिको उम्मेदवार हुँदा त्यसबेला शेरबहादुर देउवाले पनि उपल्लो भेगहरूमा उहाँको उपस्थिति हुन सक्छ भनेर संकेत गरिसक्नु भएको छ । त्यसको संकेत समय सँगसँगै तुरुन्तै देखा पर्दै जाला । समकालीन उहाँ नेताहरूमा असन्तुष्टि थियो भन्ने हामीले सतहमा देख्दानदेख्दै पनि पीडा पर्दाखेरि नेता शेरबहादुर देउवा उहाँको घरमा पुग्नुभएको थियो ।

उहाँको पीडामा देउवाले साथ दिनुभएको थियो । त्यसो भएकोले उहाँको सम्बोधन कहीँ न कहीँ हुन्छ । र, कांग्रेसभित्र सम्वेदना अहिले पनि मरेको छैन । त्यसले गर्दा उहाँहरूको आवश्यकता पार्टीभित्र त छँदै छ । त्यही भएर उहाँलाई अहिले नै किसुनजी र गणेशमानजीको ठाउँमा राखेर हेर्नुको कुनै जरुरत छैन । किनभने रामचन्द्र दाइ हाम्रो नेता हुनुहुन्छ । उहाँले दिनुभएको मार्गनिर्देशन हाम्रा लागि प्रेरणा हो । उहाँ अहिले पनि हाम्रो बाटो हो । उहाँको क्रियाशीलता यो पार्टीलाई चाहिन्छ । त्यसको सबैभन्दा बढी बोध स्वयं पार्टी सभापतिले गर्नुभएको छ । 

निर्वाचनबाट कांग्रेसले बहुमत ल्याएको खण्डमा उहाँ (पौडेल) राष्ट्रपतिका पदको उम्मेदवार बन्ने हो ?

हो । उहाँको उम्मेदवार हुने हक छ । प्रस्टसाथ भन्दा सिंहदरबारमा वा शीतल निवासमा रामचन्द्र पौडेल दाइलाई म देख्न चाहन्छु । किनभन्दा उहाँहरूलाई देखेर हामीले राजनीति सिकेका हौँ । उहाँहरूले कति अफ्ठ्यारो परिस्थिति सामना गर्नुभयो होला ? लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन दिनुभएको छ । सम्पूर्ण गुमाउनुभएको छ । तैपनि होमिनुभएको छ । उहाँहरू शीतल निवासमा वा सिंहदरबारमा नदेखिनु नेपाली राजनीतिको विडम्बना हो । इतिहासले पनि भन्छ, उहाँको अवश्यकता छ – त्यो शीतल निवासमा पनि हुन सक्छ, सिंहदरबारमा पनि हुन सक्छ । 

त्यसका लागि त बहुमत चाहिन्छ । निर्वाचनमा जाँदा चाहिँ कांग्रेस एक्लै जान्छ कि अहिलेको सत्तारुढ गठबन्धन सँगसँगै जान्छ ? 

राष्ट्रिय सभा निर्वाचनमा हामी सँगै जान्छौँ । पार्टीको महाधिवेशनमा भने सभापतिले गठबन्धन सरकारको निरन्तरता पछिसम्मका लागि पनि सँगै हुन सक्छ भनेर संकेत गर्नुभएको छ । मुलुक र मुलुकको संविधानलाई जोगाउन र लोकतन्त्रलाई पनि जोगाउनको निम्ति गठबन्धन बनेको हो । जनताले दुईतिहाइ बहुमत दिएको केपी शर्मा ओलीजी नेतृत्वको कम्युनिस्ट सरकारले जसरी संविधान र देशलाई तहसनहस बनायो, त्यसविरुद्ध गठबन्धन भएको हो । र, कांग्रेसले इतिहासले संक्रमणकालीन व्यवस्थापनका लागि दिएको जिम्मेवारीलाई बहन गर्नुपरेको छ । 

विपरीत ध्रुवका कम्युनिस्टहरूसँग गठबन्धन गर्दा किन अप्ठ्यारो लाग्दैन ? नेपालको राजनीतिमा यो किन स्वाभाविक सुनिन्छ ?

इतिहासले पनि के भन्छ भने चारतिर फर्केका टाउकाहरूलाई नेपाली कांग्रेसले नै नेतृत्व दिँदोरहेछ । चाहे त्यो २०४६ को प्रजातन्त्र प्राप्तिको लडाइँ किन नहोस्, वा २०६२÷०६३ को आन्दोलनलाई मूर्त रूप दिँदाखेरि किन नहोस् ? यी सबै अवस्थामा  कम्युनिस्ट पार्टीहरूलाई पनि नेतृत्व नेपाली कांग्रेसले दिँदोरहेछ भनेर प्रमाणित भएको छ ।

तपाईंले यसो भनिरहँदा भोलि गठबन्धन भएको अवस्थामा कार्यकर्ता र जनताले चाहिँ सहज रूपमा लेलान् ? 

लिनुपर्छ भन्ने लाग्छ मलाई । 

तपाईं नेपाली कांग्रेसको सहमहामन्त्री । अहिले चर्चाको विषय छ, एमसिसी । एमसिसीबारे तपाईंको धारणा के हो ? पार्टीले के अडान लेओस् भन्ने लाग्छ ? 

सबैको सहमतिबाटै एमसिसीलाई पारित गरेर जानुपर्छ । अहिले जो–जो सतहमा निस्केर एमसिसीविरुद्ध बुरुक–बुरुक उफ्रेर विरोध गरिरहनुभएको छ । उहाँहरूलाई स्वयं केपी शर्मा ओलीजीले सदनभित्र पढ्दै नपढीकन विरोध गरेको भन्ने सुनेका छौँ । प्रचण्डजी हिजो पनि एमसिसीको विपक्षमा हुनुहुन्थेन । आजको मितिमा पनि हुनुहुन्छ जस्तो लागेको छैन । अन्य राजनीतिक पार्टीहरू पनि खासै (असहमत) मैले देखेको छैन । त्यही भएर सबैको सहमतिबाट यसलाई अनुमोदन गरेर जानुपर्दछ । 

अन्तिममा, आगामी निर्वाचनबाट कांग्रेसको स्थान कहाँ होला ? 

तीनै तहको निर्वाचनबाट कांग्रेस अब्बल पार्टी हुन्छ । नेपाली कांग्रेसलाई साह्रै ठूलो सजाय जनताले २०७४ मा दिएकै हो । हामीले पनि दुईतिहाइ बहुमतको अपिल गरेकै हो, जनतासँग तर, कम्युनिस्ट पार्टीले पायो । र, केपी शर्मा ओलीजीले नेतृत्व गर्नुभयो दुई तिहाइसहितको बहुमतीय सरकार । तर, मुलुकलाई अस्तव्यस्त बनाइदिनुभयो । परिणामतः संसदमा सानो संख्यामा रहेको कांग्रेसलाई जनताले ऐतिहासिक जिम्मेवारी दिएको छ । 

संक्रमणकालीन व्यवस्थापन गर्नुपरेको खण्डमा जनताले त नेपाली कांग्रेसलाई खोज्दोरहेछ । यसको मतलव नेपाली कांग्रेसलाई जनताले विश्वास गरेको रहेछ । भरोसा गरेको रहेछ ।  

  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार २१:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया