logo-img

राष्ट्रियसभा निर्वाचन : मतदाता २०२५, भिडन्त गठबन्धन भर्सेस एमाले

चार बर्से अवधि सकिन लागेका १९ जना राष्ट्रियसभा सदस्यको स्थानमा १२ माघमा निर्वाचन हुँदै छ । निर्वाचनमा प्रतिस्पर्धा मुख्यतः सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच हुने निश्चित प्रायः छ ।

गठबन्धनका केही घटकभित्र प्रदेशगत रूपमा केही नेताले राष्ट्रियसभा सदस्यको उम्मेदवार हुने आकाङ्क्षा पनि व्यक्त गर्न थालेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रदेश १ मा भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा रहेको छ ।



संघीय संसदको ठूलो दल नेकपा एमालेबाट पनि प्रदेशगत रूपमा उम्मेदवार हुन आकाङ्क्षा व्यक्त गर्न थालेका छन् ।

यसरी सम्भावित उम्मेदवारले धमाधम आकाङ्क्षा व्यक्त गरिरहँदा निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरेको छ ।



आयोगका अनुसार कूल मतदाता २ हजार २५ जना छन् । त्यसमध्ये एक हजार ४९३ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदाता छन् । उनीहरूको कूल मतभार १८ हो ।

प्रदेशसभाको मतदाता भने ५३२ जना छन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ हो ।



यस्तो छ प्रदेशगत मतदाता

प्रदेश १

स्थानीय तह – २७२ जना

प्रदेशसभा – ९२ जना

प्रदेश २

स्थानीय तह – २६८ जना

प्रदेशसभा – १०४ जना

बागमती

स्थानीय तह – २३७ जना

प्रदेशसभा – १०९ जना

गण्डकी प्रदेश

स्थानीय तह – १७० जना

प्रदेशसभा – ५९ जना

लुम्बिनी प्रदेश

स्थानीय तह – २१५ जना

प्रदेशसभा – ८१ जना

कर्णाली प्रदेश

स्थानीय तह – १५६ जना

प्रदेशसभा – ३५ जना

सुदूरपश्चिम

स्थानीय तह – १७५ जना

प्रदेशसभा  – ५२ जना

०००

राष्ट्रियसभा निर्वाचनका लागि सर्वाधिक मतदाता प्रदेश २ छन् । त्यहाँ स्थानीय तह र प्रदेशमा गरी ३७२ जना मतदाता छन् । स्थानीय तहमा २६८ मतदाताको ४ हजार ८२४ मतभार छ । प्रदेशमा १०४ मतदाताको ४ हजार ९९२ मतभार गरी कूल ९ हजार ८१६ जना छन् ।

दोस्रो बढी मतदाता प्रदेश १ मा ३६४ जना छन् । त्यहाँको स्थानीय तहमा रहेका २७२ जना मतदाताको मतभार संख्या चार हजार ८९६ हो । ९२ जना प्रदेशसभा सदस्यको मतभार चार हजार ४१६ छ । यसरी प्रदेश १ को कूल मतभार ९ हजार ३१२ छ ।

यसपछि बागमती प्रदेशमा बढी मतदाता छन् । स्थानीय तहमा २१५ जना र प्रदेशमा १०९ जना मतदाता छन् । स्थानीय तहको मतभार ३ हजार ८७० र प्रदेशको ५ हजार २३२ मतभार गर्दा कूल ९ हजार १०२ छ ।

यस्तै, लुम्बिनी प्रदेशको स्थानीय तहमा २१५ जनाको ३ हजार ८७० र प्रदेशको ८१ जना मतदाताको ३ हजार ८८८ गरी ७ हजार ७५८ जना मतदाता छन् ।

गण्डकी प्रदेशको स्थानीय तहमा १७० जना मतदाताको मतभार ३ हजार ६० र प्रदेशसभाको ५९ जना मतदाताको मतभार २ हजार ८३२ गरी कूल ५ हजार ८९२ मतभार रहेको छ ।

यसपछि कम भने सुदूरपश्चिम प्रदेशमा छ । जहाँ १७५ जना स्थानी तहका मतदाताको मतभार ३ हजार १५० हुँदा ५२ जना प्रदेशसभाका मतदाताको मतभार २ हजार ४९६ रहेको छ । दुवै तहको मतभार जोड्दा  ५ हजार ६४६ छ ।

सर्वाधिक कम भने कर्णाली प्रदेशमा हो । त्यहाँ १५६ स्थानीय तहको मतदाताको २ हजार ८०८ र प्रदेशसभाको मतदाता ३५ जनाको मतभार १ हजार ६८० गरी कूल ४ हजार ४८८ रहेको छ ।

यी राष्ट्रियसभा सदस्यको स्थानमा हुँदै निर्वाचन

२०७४ मा भएको राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनबाट निर्वाचित भएकामध्ये चार बर्से कार्यकाल पूरा गरेका १९ जना सदस्ययको स्थानमा निर्वाचन हुन लागेको हो ।

चार बर्से कार्यकाल पूरा गरे पनि राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा भने निर्वाचन हुने छैन । किनभने उनी राष्ट्रपतिबाट मनोनीत हुन् । बिडारी माओवादी केन्द्रनिकट छन्  ।

अन्य १९ जनाको स्थानमा मात्रै निर्वाचन हुने भएको हो । यसमध्ये नेकपा एमालेका सर्वाधिक ८ जना छन् । प्रदेश १ बाट राष्ट्रियसभा सदस्य रहेका एमालेका अगमप्रसाद वान्तावा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, प्रदेश २ का सुमनराज प्याकुरेल, लुम्बिनीकी कोमल वली, राम लखन चमार, कर्णालीकी कविता बोगटी र सुदूरपश्चिमका चक्रप्रसाद स्नेहीको यही फागुन २० मा चार बर्से कार्यकाल पूरा हुँदैछ । उनीहरूको स्थानमा निर्वाचन हुने भएको हो ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) समान ४/४ जना र कांग्रेसको ३ जना राष्ट्रियसभा सदस्यको पनि पदावधि सकिँदै छ ।

संघीय संसद् सचिवालयले जनाएअनुसार माओवादी केन्द्रका प्रदेश २ बाट राष्ट्रियसभा सदस्य भएका शशीकला दाहाल, गण्डकीका खिमकुमार विक, दिननाथ शर्मा र कर्णालीका जीवन बुढाको स्थानमा पनि निर्वाचन हुन लागेको छ ।

नेकपा (एकीकृत समाजवादी) को प्रदेश २ बाट बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेकी उदया शर्मा पौडेल, गण्डकीकी शान्तिकुमारी अधिकारी जिसी, कर्णालीका ठगेन्द्रप्रकाश पुरी र सुदूरपश्चिमका शेरबहादुर कुँवरको पनि पदावधि सकिन्छ ।

उनीहरूको पदावधि २० फागुनमा सकिने हो । उनीहरूकै ठाउँमा निर्वाचन हुने भएको हो ।

बागमतीबाट राष्ट्रियसभा सदस्य भएका राधेश्याम अधिकारी, लुम्बिनीका दृगनारायण पाण्डेय र सुदूरपश्चिमकी तारादेवी भट्टको पनि कार्यकाल सकिन लागेको हो । उनीहरू तीनै जना कांग्रेसका हुन् ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया