सिराहामा चिसो कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिराहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । 

घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् । 

चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।  





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ७:५४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया