logo-img

लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन् ।

झापाकाे दमक नगरपालिका-२ हुम्से-दुम्से सामुदायिक जंगलबाट अवैध लागुऔषध गाँजा १२ किलो र चरेस ६ ग्राम २६० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम माइसेबुङ गाउँपालिका-२ बस्ने ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँ बस्ने १९ वर्षीय नुवसन मुखिया रहेका छन् । 

उनीहरू उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 



यसैगरी दमक नगरपालिका-३ बेलडाँगी शिविर बस्ने २३ वर्षीय राजन तामाङलाई ९ ग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 



कास्कीकाे पोखरा महागनरपालिका-१ भैरव चोकबाट नियन्त्रित लागुऔषध १२१ एम्पुल डाइजेपाम, १२१ एम्पुल फेनारगन र १२१ एम्पुल नर्फिनसहित सोही महानगरपालिका-९ न्यूरोड बस्ने १९ वर्षीय रोहित बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



भक्तपुरकाे भक्तपुर नगरपालिका-५ खसी बजारबाट करिब ५६ ग्राम अवैध लागुऔषध गाँजा सहित सोही नगरपालिका भेलुखेल बस्ने ३७ वर्षीय लक्ष्मी नारायण देउलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बा.५३ प ७८२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियाकाे बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट करिब ७ ग्राम ४४० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँके कोहलपुर नगरपालिका-५ बस्ने ३० वर्षीय तुलाराम शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको रा.१ प ८४५६ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक शर्मालाई पक्राउ गरेको हो । 

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ बाट १ ग्राम ६०० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्त शाह र २७ वर्षीय वसन्त ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया