logo-img

नयाँ बसपार्क सामूहिक बलात्कार : नौ अभियुक्त पुर्पक्षका लागि जेल चलान

नयाँ बसपार्कमा भएको सामूहिक बलात्कारका नौजना अभियुक्तहरु पुर्पक्षका लागि जेल चलान भएका छन् । गत पुस १२ गते गाेंगबु इलाकाको मित्रनगरस्थित विभिन्न होटलमा लगेर नौजनाले एक महिलालाई बलात्कार गरेका थिए । 

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि सबै अभियुक्तलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतको आदेशबाट नौजना अभियुक्तलाई नै पुर्पक्षका लागि कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा पठाइएको हो । 

उक्त घटनामा प्रयोग भएका तीन होटलका सञ्चालकहरु जनही तीन–तीन लाख धरौटीमा छुटेका छन् । 

कामका लागि सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया महिलालाई पुस १२ गते साँझदेखि मित्रनगरका विभिन्न गेस्टहाउसमा लगेर नौजनाले बलात्कार गरेका थिए । उक्त घटना घटेको २४ घण्टाभित्रै प्रहरीले घटनामा संलग्न नौजनालाई नै पक्राउ गरेको थियो । 

थप अनुसन्धान गर्दा गेस्टहाउस सञ्चालकहरुको समेत गम्भीर लापरबाही देखिएकाले उनीहरुलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान सम्पन्न गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो । 
 
सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । 

थुनामा पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष छन् । 



वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका उनीहरुले बसपार्क क्षेत्रमा उभिइरहेकी ती महिलालाई विभिन्न प्रलोभनमा पारेर होटलमा लगेर बलात्कार गरेका थिए ।   

बलात्कृत भएपछि महिलाले प्रहरी प्रभाग बसपार्कलाई जानकारी गराएकी थिइन् । खबर पाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी आफैँ फिल्डमा खटिएका थिए । प्रहरी टोली उनको स्वास्थ्य परीक्षणसँगै आरोपितको खोजी कार्यमा जुटेको थियो । 



महिलासँगै एकजना पुरुष कुराकानी गर्दै गरेको सिसिटिभी फुटेजमा देखिएको थियो । सोही आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो । २४ घण्टा बित्न नपाउँदै सबै आरोपितलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो । 

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया