मोरङको धनपालथान गाउपालिका कमलपुरको बस्तीनजिकको उखुबारीको खाल्डोमा पुरिएको अवस्थामा भेटिएका दुईवटा शवमध्ये एकजनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसीका अनुसार बिहीबार खाल्डोबाट निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हो । शवको साथबाट सिमकार्ड, पर्स र सवारी चालक प्रमाणपत्र फेला परेको आधारमा शवको पहिचान गरिएको उनले बताए ।
सोही ठाउँदेखि ३० मिटरपूर्व उखुबारीमा बुधबार भेटिएको अर्का एक पुरुषको शवको पहिचान खुल्न बाँकी छ । दुवैजनालाई हत्या गरेर करिब ६ फिट गहिरो खाडल खनेर गाडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरी स्रोतका अनुसार अपराध भएको स्थान र शव गाडेको स्थान फरक–फरक भएको पाइएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘अन्य स्थानमा हत्या गरेर यहाँ खाडल खनेर गाडेको अवस्था छ,’ उनले भने, ‘केही क्लु खुल्दै छ, अनुसन्धान अगाडि बढिसकेको अवस्था छ ।’
प्रहरी उपरीक्षक जिसीका अनुसार श्रेष्ठको शवको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । यस्तै, खाडलमा शव हालेपछि माथिबाट नुन समेत प्रयोग गरिएको कारण घटना योजनाबद्ध हुन सक्ने प्रहरीको अनुमान छ ।
शव बेर्न प्लास्टिकको समेत प्रयोग भएको छ । बुधबार बरामद भएको शवलाई भने बोराभित्र हालेर गाडिएको छ ।
श्रेष्ठ भक्तपुरको लोकनथलीमा बस्ने गर्दथे । उनको आफन्त मात्र धरानमा रहेको प्रहरी स्रोतले जनाएको छ ।
जग्गा कारोबार गर्ने उनी झापा जान्छु भनी ४५ दिनअघि घरबाट हिँडेको बताइएको छ । उनको धरान र भक्तपुरमा रहेका आफन्त प्रहरी सम्पर्कमा आएका छन् ।
बुधबार बिहान उखु काट्ने क्रममा किसानले शंकास्पद खाल्डो भेटाएका थिए । खाल्डो भेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खनेर हेर्दा दुई पुरुषको शव भेटिएको थियो । घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।