संकटमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएर दादागिरी देखाए : नरेश कटुवाल (अन्तर्वार्ता)
फरकधार / १७ माघ, २०७८

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्रमा समेत असर पर्न थालेको छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैनन् । कतिपय व्यवसायी कारोना महामारीको कारण पलायन हुने अवस्थामा पुगेका छन् । अहिले बैंक वित्तीय संस्थामा देखिएको तरलताको चापले, खुद्रा बजारमा विविध समस्या थपिरहेका छन् । प्रस्तुत छ यही सन्दर्भमा साना उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालसँग गरिएको कुराकानीको अंश :



पछिल्लो समय साना व्यवसायीहरूको अवस्था कस्तो रहेको छ ?

कोरोना महामारीपछि अहिले साना/ठूला तथा मझौला सबै गरेर करिव ६० प्रतिशत उद्योगहरू बन्द रहेको अवस्था छ । त्योभन्दा पनि अहिले दर्दनाक अवस्थामा सटर व्यवसायीहरू रहेका छन् । जसले दैनिक १२ घण्टा सटरमा बसेर व्यवसाय गर्ने व्यापारी दुई वर्ष अगाडिदेखिको कोरोना महामारीको कारण भएको लकडाउनको कारण सटर व्यवसायीहरू धरासायी अवस्थामा पुगेका छन् । उनीहरूले घरभाडासमेत दिन सक्ने स्थितिमा छैनन् । बैंकको ब्याज तथा राज्यलाई बुझाउनुपर्ने करको कारण दुई वर्षदेखि व्यवसायीहरू धरासायी हुँदै गएको स्थिति रहेको छ । पछिल्लो समय केही ठूला उद्योगहरू सञ्चालनमा आए पनि अन्य बाँकी उद्योगहरू सञ्चालनमा आएका छैनन् । लामो समयसम्म चीनसँगको नाका सहज रूपमा नखोल्नुले व्यवसायीहरूलाई ठूलो मार परेको छ । 



नाका खोल्नको लागि नेपाल सरकारले चीन सरकारसँग कुटनीतिक पहल नगर्नु, चीनबाट आएको हजारौँ कन्टेनरहरू नाकामा रोकिनु, कच्चा पदार्थहरू नआउनु, नेपालमा भएको दक्ष जनशक्ति भारत पलायन हुँदै जानुको कारणले व्यवसाय बिग्रदै गएको अवस्था छ । यसरी कोरोना महामारीको कारण तथा चीनतर्फको नाका सहज रूपमा सञ्चालनमा नआएर व्यवसायी मारमा परेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएर दादागिरी देखाएका छन् । त्यो विषयमा संघले प्रेस विज्ञप्ति नै जारी गरेर र ज्ञापन पत्र समेत बुझाएका छौँ । बैंकहरूले देखाएको नौटङ्की बन्द हुनुपर्छ । समग्रमा दुई वर्षको अवधिमा हेर्दा उद्योग व्यवसाय क्षेत्र धरासायी बन्दै गएको अवस्था छ । सबै उद्योगी व्यवसायीहरूले अब आ-आफ्नो तालाचाबी सरकारको ढोकामा जानुपर्ने स्थिति बन्दै गएको छ ।



कोरोना महामारीबाट प्रभावित व्यवसायीलाई पुनरुत्थान गर्नको लागि सरकारले बजेट तथा मौद्रिक नीतिमार्फत दुई/तीन वटा पुनर्कर्जा, बैंकको ब्याज घटाउनेलगायतका सहुलियत ल्याएको थियो । सरकारको ल्याएको यो सुविधा सबै व्यवसायीले किन पाउन सकेनन् ? 

कोरोना महामारीबाट प्रभावित व्यवसाय पुनरुत्थानको लागि ल्याएको सहुलियत जुन छ । सरकारले नीति ल्याउने मात्रै भएको छ । जुन सरकारको बजेट भाषण र मौद्रिक नीतिमार्फत ल्याएका नीतिको हामी व्यवसायीहरूले पनि समर्थन गर्‍यौँ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोरोना प्रभावित व्यवसायीहरूको लागि भने नीति ल्याएको नहुने रहेछ । त्यस्तो सहुलियत अहिलेसम्म लागू भएको देखिएको छैन ।

पुनर्कर्जाले केही निश्चित मान्छेहरूलाई मात्रै लाभान्वित बनायो । बिनाधितो महिला उद्यमी कर्जा भनिएको थियो । त्यो वास्तविक महिला उद्यमीहरूले त्यो सहुलियत पाउन सक्नु भएन । बैंकहरूमा कर्जाको लागि प्रक्रिया पूरा गरेर जाने तर बैंकहरूले धितो खोजियो । जसले बैंकले बिनाधितो कर्जा प्रवाह गर्दो रहेनछ भन्ने देखिन्छ । बैंकहरूले यो सहुलियत दिएको भएपनि आफ्नो नातागोताभन्दा बाहिर अन्य अरूलाई दिएको देखिँदैन । बिना स्वार्थ सरकारले ल्याएको नीतिमा अंकित गरेकाहरूले यस्तो सहुलियत लिएका छैनन् । सरकारले कोरोना प्रभावित वा अन्य व्यवसायीहरूको लागि ल्याएका नीतिहरू छन् । त्यस्ता नीतिहरू सम्बन्धित उद्योगी व्यवसायीहरूमा लागू भएको देखिँदैन ।

केही व्यवसायीहरूले पाएका होलान् तर हामीसँग जोडिएका उद्योगी व्यवसायीहरूले सरकारले ल्याएका त्यस्ता सहुलियत पूर्ण राहतबाट लाभान्वित हुन पाएका छैनन् । सरकारले कस्ता व्यवसायीहरूले सरकारले ल्याएको सहुलियत पाए भनेर अनुगमन गरेको समेत छैन ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै गरिसक्यो यता सरकारले बजेटको समीक्षा गर्ने तयारी गरिरहेको छ । यो बीचमा सरकार तथा राष्ट्र बैंकलाई वकालत गरेनौँ ?

यो विषयमा धेरै वकालत गर्‍याैँ । सम्बन्धित निकायहरूको ढोकामा पुग्यौँ । त्यतिले नपुगेर सडकमासमेत पुग्यौँ । दुई वर्षको अवधिमा सरकारले ल्याएका नीतिहरू हुबहु पालना गर्न पर्ने र प्रभावित व्यवसायीहरूले राहत पाउनुपर्ने माग राख्दै राज्यका सबै नियमन तथा नियन्त्रण गर्ने सबै निकायमा पुग्यौँ । त्यति मात्रै नभएर सम्बन्धित मन्त्रालय तथा मन्त्रालय मातहतका सबै विभागमा ज्ञापनपत्र बुझाएका छौँ । यतिले नभएर सरकारका प्रधानमन्त्री तथा सबै राजनीति दलका प्रमुख नेताहरू समेतलाई ज्ञापनपत्र बुझाएका छौँ । उहाँहरूलाई उद्योग व्यवसायमा परेका भन्सार नाकाको समस्या, चीन नाका कन्टेनर रोकिएकोदेखि सरकारले ल्याएका नीति लागू नभएको समस्याका विषयमा जानकारी दिँदै यस्ता समस्याले उद्योगहरू चल्न नसक्ने अवस्थामा पुगिसकेको भनेका थियौँ । तर सरकार नेपाली जनताको लागि बनेको छैन । 

अहिलेसम्म उद्योगी व्यवसायीको समस्या बुझ्ने सरकार पाउन सकेका छैनौँ । सरकार आफ्नो कुर्सी बचाउनबाहेक केहीमा ध्यान दिन सकेको छैन । राजनीतिक दलहरूको ध्यान कहाँ कसलाई केमा नियुक्ति गर्ने भन्नेमा छ । अहिलेसम्म उद्योगी व्यवसायीहरू बचाउनुपर्छ भन्ने सरकार बन्न सकेन । हामी व्यवसायीहरूले बुझाएका ज्ञापनपत्रहरू पढ्ने र बुझ्ने काम गरिएको छैन । राज्यका निकायदेखि नेताहरूसम्मलाई उद्योगी व्यवसायीका समस्याका विषयमा मतलब नै छैन ।

सरकारले नीति बनाउने हो तर कार्यान्वयन सम्बन्धित विभागले गर्छ । ती विभागले केही गरिदिएनन् ? सबै बैंकले धितो खोज्ने कामले मात्रै नभएको त होइन होला ? व्यवसायीहरूले पनि सबै प्रक्रिया पूरा गरेर पुनकर्जाको लागि योग्य बन्नु पर्दैन ?

पहिलो कारण धितो नै हो । नत्र त्यस्तो सुविधा लिनको लागि सरकारमा भएको पार्टीको सदस्य नै हुनु पर्‍यो । तर, सहुलियत पूर्ण ऋण लिनको लागि व्यवसायी सरकारमा भएको सम्बन्धित दलको सदस्य नभएको हुनसक्छ । मैले के भन्ने खोजेको भने सरकारले प्रशस्त ऋण प्रवाह गरेको छ । राष्ट्र बैंकको तर्फबाट त्यो देखिन्छ । तर, सानो उद्योग चलाएको थियो । उसको उद्योगमा कोरोना महामारीले पीडित बनायो । उसले त्यो सुविधा पाएन भन्ने मात्रै कुरा हो । 

ऋण नै कसैले पाएन भन्ने चाहिँ होइन । ऋण धेरैले पाएर चलाएका छन् । अहिले साना तथा मझौला व्यवसायीहरू सरकारसँग प्रत्यक्ष रूपमा समन्वय छैन । किनकी सरकारको त्यसमा ध्यान छैन । साना व्यवसायीको सरकारको पहुँचमा पुग्ने क्षमता पनि पुग्दैन । किनकी सटरमा पसल राख्ने व्यवसायीहरूले महिना पुग्नेवित्तिकै घरभाडा, बैंकको किस्ता ब्याज र घर परिवार पाल्नुपर्छ राजनीतिक पार्टीको झण्डा बोकेर जिन्दावाद भन्न जान सक्दैन । 

पहिलो कुरा त सरकारले ल्याएको सहुलियत आफूले पनि पाउँछु भनेर थाहा पाएर जाँदा जाँदै प्रायः प्रक्रिया सकिएको हुन्छ । तीतो यथार्थ के हो भने साना व्यवसायीहरू सरकारको पहुँचमा व्यवसायी छैनन् । तर, सरकार पटकपटक नीजि क्षेत्रसँग समन्वय गछौँ । तर सरकारको नगरमा नीजि क्षेत्र भनेको को कति हो थाहा छैन । जस्तो बैंकहरूको छाता संगठन छ त्यसले बैंकको लागि सबै काम गर्दछ । त्यहीअनुसार नीजि क्षेत्रको पनि त्यस्तै एउटा झुण्ड छ । जो सरकारसँग लविङ गर्छ । सरकारलाई आफ्नै मात्रै कुरा राख्छ, जो उद्योगी व्यवसायीहरूको हक हितमा बोल्दैन । तर, सरकार उसैलाई मात्रै चिन्छ अरुलाई चिन्दैन । नीजि क्षेत्रको नाममा बैंकर वा वित्तीय क्षेत्रको नाममा निश्चित मान्छेको हालीमुहाली छ । 

मुलुकमा गनेर नै भन्न सकिन्छ ६०  देखि ६५ जना माथि वा सय जनाको पेरिफेरीको हातमा अर्थतन्त्र छ । सय जना मान्छेले जे-जे भने त्यही त्यही हुने हो । सरकारले कानून तथा अर्थतन्त्रसँग सम्बन्धित नियमहरु सबै ती नै मान्छेको लागि बनाउने हो । त्यसैले सरकार र नीजि क्षेत्रबीचमा एउटा समन्वय समितिको आवश्यकता छ । किन भने केही मान्छेहरू मात्रै जताततै देखिन्छन् । यसरी सरकारले नीजि क्षेत्रसँग समन्वय गरेको हो त ? नीजि क्षेत्र त्यति मात्रै हो । नीजि क्षेत्रको दायरा कति हो ? नीजि क्षेत्र भनेर के–केलाई मानिन्छ ? जबसम्म सरकारले छाती खोलेर निजी क्षेत्रका हरेक संगठनहरूलाई सम्बोधन गर्दैन तबसम्म यस्ता खालका समस्याको समाधान हुँदैन । त्यसकारण कोरोनाले साना व्यवसायीहरू र अर्थतन्त्र थला परेको छ । धरासायी भएका व्यवसायीहरूलाई माथि उकास्नको लागि सरकारले राहतका प्याकेजहरू ल्याउनु पर्छ । साना व्यवसायीलाई दुई वर्षको अवधिमा केही न केही दिनुपर्छ । तर, त्यस्तो भएको छैन । अब सरकारले कोरोनाका कारण पलायन हुन लागेको व्यवसायीको पहिचान गरेर राहत दिनुपर्छ भन्ने सरकारसँग महासंघ माग गर्दछ । 

अहिले पुनः कोरोना संक्रमण बढ्दो अवस्थामा छ । तर बजार खुला रहेको छ । तर, ग्राहक शून्य जस्तै छन् । यस्तो अवस्थामा महासंघले त्यस्ता व्यवसायीहरूको हकहितको लागि सरकारसँग राहतको प्याकेज मागभन्दा अन्य के–के काम गरिरहेको छ ?

अहिले महासंघले गर्ने भनेको चेतनामूलक कार्यक्रम नै हो । नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशका महासंघप्रति आस्था राख्ने उद्योगी व्यवसायीलगायत नेपालीलाई कोरोना महामारीले छाडेको अवस्था छैन । यसमा सरकारले तोकिएका सुरक्षाका मापदण्ड लगायत व्यवसायीहरूले पनि सुरक्षित भएर काम गर्नुपर्छ भन्दै आएका छौँ । कोरोनाको कारण व्यवसाय धरासायी बन्न लागेका व्यवसायीलाई बचाउनको लागि महासंघले सहयोगी भावना राख्नुपर्छ भनेर अभियान चलाएका छौँ । त्यस्तै यस्तो अवस्थामा नेपाल सरकार नै हामी सबैको अभिभावक भएकाले राहतको प्योकज ल्याउनुपर्छ भनेर लागि रहेका छौँ । तर, सरकारको ध्यान यस्ता व्यवसायलाई बचाउनु पर्छ भन्ने तिर गएको छैन । 

सरकारले कोरोना महामारी नियन्त्रण गर्ने नाममा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नु गलत हो । यसले कोरोना बढ्न थप प्रोत्साहन गर्दछ । यसको अर्थ छैन । अब कोरोना महामारी नियन्त्रण गर्ने नाममा लकडाउन भन्ने शब्द नै सबैको डायरीबाट हटाउनुपर्छ । लकडाउनले कसैलाई पनि राम्रो काम गर्दैन । लकडाउने मुलुकको अर्थतन्त्र थप डामाडोल बनाउँछ । अन्य कुनै पनि क्षेत्र चलायमान हुन सक्दैनन् । अब हामी आफैँ कोरोना महामारीबाट बच्न सुरक्षित भएर हिँड्नुपर्छ । अहिलेका कुनै पनि नेपालीहरू चेतनाविहीन छैनन् । 

अब अर्थतन्त्र चलायमान बनाउनको लागि सवारीसाधनमा जोरबिजोरको अन्त्य, लकडाउन गर्ने विषय सरकारले सोच्नु हुँदैन । सरकारले उद्योगी व्यवसायीहरूको लागि एक किसिमको राहत प्याकेज ल्याउनुपर्छ ।

निजी क्षेत्रमा अन्य ठूला व्यवसायी संगठनहरू रहेका छन् । यी सबै छाता संगठनहरूको अन्तरसम्बन्ध कस्तो छ ? सबै संगठनसँग तपाईँहरूको समन्वय छ कि छैन ?

सबै छाता संगठनहरूसँग समन्वय रहेको छ । निजी क्षेत्रका संगठनहरूसँग व्यवसायीका विषयमा छलफल हुन्छ । एकअर्काले बोलेका कुराको समर्थन गर्ने कुराहरू हुन्छ । जुन एकआपसमा अन्तरसम्बन्ध भन्ने कुरा छ । यसमा कतिपय कुराहरूमा समन्वय हुन्छ र हुँदैन पनि । किनकी महासंघ, संगठनहरू निजी क्षेत्रभित्र पर्ने सबैलाई नेपाल सरकारले समन्वय समिति बनाएर काम गर्दैन तबसम्म कतिपय कुराहरू नहुन सक्छन् ।

संगठनमा साथीहरूलाई नीतिसँगका सम्बन्धित कुराहरूमा एकजुट भएर नेपाल सरकारसँग हातेमालो गर्दा सबैले मुलुकमा रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने काम गर्ने भएकाले सबै संगठनहरूसँग हातेमाले गरेर अगाडि बढ्न आग्रह गर्छु । हामी बीचमा भएका अन्तरद्वन्द्वहरूलाई छाडेर उद्योगी व्यवसायीको हक र हितका लागि अगाडि बढ्न आवश्यक छ । 

  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १२:२५:३१,   अन्तिम अपडेट : माघ १७, २०७८ साेमबार १२:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया