दशरथ रंगशालाकाे विकल्प दिनसक्ने काठमाडौं उपत्यकाका मैदान

नेपालमा अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशाला मात्र लायक छ । शनिबार यही रंगशालामा माेरिससविरुद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्यो ।

यसको हालत हेर्दा तालु खुइलिएको टाउको जस्तो थियो । अर्थात् लामो समयसम्म चलेको लिगका कारण मैदानको दुबो मरेर धुलो उड्न थालेको छ । एउटा मात्र मैदानमा लगातार खेल गराइरहँदा मैदानको अवस्था नाजुक भई खेलाडी घाइते हुनसक्ने सम्भावना बढी हुन्छ ।

तर, लिग तथा विभिन्न किसिमका प्रतियोगिता गराउन भने काठमाडौं उपत्यकामा अन्य मैदान पनि रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौं उपत्यकाभित्रका यी मैदानमध्ये चारवटा मैदानलाई उपयोग गर्नसक्छ । 

सशस्त्र प्रहरी मैदान, हलचोक 

हलचोककाे सशस्त्र प्रहरी मैदानमा नेपालका राष्ट्रिय प्रतियोगिता गराउन सकिन्छ । यस मैदानकाे सीट क्षमता ३ हजार ५०० रहेकाे छ । सन् २०१३ मा भएको साफ च्याम्पियनसिपका खेलहरू यही मैदानमै खेलाइएको थियो । 

त्यसयता पनि २०७५ सालमा ए डिभिजन लिगका खेलहरू पनि खेलाइएकाे थियाे । २०७६ असोजमा भएको यु-१८ प्रतियोगिताका खेल पनि यसै मैदानमा सम्पन्न भएका थिए ।  



यस मैदानमा राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ । तर, २०७६ पश्चात कुनै पनि प्रतियोगिताका लागि यो मैदान प्रयोग भएको छैन ।  

आर्मीको भद्रकाली मैदान



नेपाली सेनाको भद्रकाली मैदान पनि राष्ट्रिय प्रतियोगिताका लागि एउटा उपयुक्त विकल्प हुन सक्छ । मैदानमा नेपाली सेनाले अभ्यास खेलहरू खेलिरहेकाे देखिन्छ । 

घरेलु प्रतियोगिताका लागि पनि यो मैदान उपयोग गर्न सकिन्छ । तर, यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा एन्फाले नै साेच्न सक्छ ।

च्यासल मैदान

ए डिभिजन लिगका खेलहरूको लागि दशरथ रंगशालाको विकल्पको रूपमा प्रयोग गर्ने भनिएको च्यासल मैदान निमार्णधीन अवस्थामा छ । च्यासलका खेलाडीले पनि अभ्यासका लागि याे मैदान उपयोग गर्न पाएका छैनन् । 

च्यासलको मैदान किन उपयोग नगरिएको भन्ने प्रश्नमा एन्फा भने बारम्बार पूर्वाधारको दोष देखाउँदै आएको छ । 

एन्फा कम्प्लेक्स

एन्फाको मैदानमा पनि फुटबलका राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्न सकिन्छ । अघिल्लो संस्करणको ए डिभिजन लिगका खेलहरू एन्फा कम्प्लेक्समा पनि खेलाइएकाे थियाे । यस पटक भने नवौं चरणसम्म सबैजसो खेल दशरथ रंगशालामा नै भए । 

जस कारणले दशरथ रंगशालाकाे अवस्था नाजुक भएकाे छ । राष्ट्रिय स्तरका लिग र अन्तर्राष्ट्रिय खेलहरू पनि यही मैदानमा हुँदा अवस्था नाजुक भएकाे हाे ।

वैकल्पिक मैदानबारे एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्, ‘यी जति पनि मैदान छन् यी सबै सरकारी मातहतमा छन् । प्रहरी, सशस्त्र तथा आर्मीको मैदानमा उहाँहरूकै कति कार्यक्रमहरू भइरहेका हुन्छन्, हामीले कहिलेकाहीँ प्रशिक्षणका लागि पनि सीमित समयका लागि मात्र उपयोग गर्ने गरेका छौं ।’ 

‘कार्यक्रम धेरै हुँदा एउटा भएको मैदानले थेग्न नसक्नु स्वाभाविकै कुरा हो । अहिले हामीसँग वर्षभरि उपयोग गर्ने अधिकार प्राप्त मैदान भनेको सातदोबाटोको एन्फा कम्प्लेक्स र दशरथ रंगशाला नै हो’, छिरिङले थपे ।

मैदान भए पनि कोभिडका कारण कुनै पनि मैदान व्यवस्थित नरहेको र विभिन्न सैन्य मैदानहरूमा खेल गराउन सम्भव नरहेको एन्फा अध्यक्षले बताए ।

ए डिभिजन लिगका लागि पनि प्रयोगमा ल्याइन सक्ने बताइएको च्यासलको मैदान भने सरकार र ठेकेदारको सहमति हुन नसक्दा एन्फाले प्रयोग नपाएकाे छिरिङले जानकारी दिए ।

  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १३:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया