नेपाल भर्सेस युएई : ‘प्लेयर्स टु वाच’

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा आज नेपालले युएईको सामना गर्दैछ । खेल ओमानको अल अमरेत क्रिकेट स्टेडियममा अपरान्ह पौने चार बजे सुरु हुनेछ ।

दुवै टोली आज फाइनल पुग्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदान उत्रिने छन् । यो खेलमा जित हात पार्दै फाइनल पुग्ने दुई टोली आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

सन् २०१४ यता नेपाल विश्वकपमा छनोट हुन सकेको छैन । युएईले पनि पछिल्लोपटक त्यही विश्वकप खेलेको थियो । लामो समय विश्वकप बाहिर रहेका यी दुवै टोलीलाई यसपटक भने मौका छ । नेपाल समूह ‘बी’ को विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले तीन खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेको थियो । 

ओमानलाई ३९ तथा फिलिपिन्सलाई १३६ रनले पराजित गरेको नेपालले अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हरायो । तीन खेलमा दुई जित र एक हारको नतिजासहित चार अंक जोडेको युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

युएईले टेस्ट टोली आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो । बहराइनसँग २ रनले पराजित भए पनि उसले नेटरनरेटमा माथि रहँदै सेमिफाइनमा स्थान बनायो ।

हेड टु हेड 



नेपाल र युएईले हालसम्म चार टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा दुवै टोलीले दुई/दुई जित हात पारेका छन् । यी दुई टोलीले सन् २०१९ मा पहिलोपटक एकअर्काविरुद्व टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । तीन खेलको टी–२० सिरिजअन्तर्गत भएको पहिलो भेटमा घरेलु टोली युएई २१ रनले विजयी भएको थियो ।

दोस्रो र तेस्रो खेलमा क्रमशः ४ विकेट र १४ रनले विजयी हुँदै नेपालले सिरिजमाथि कब्जा जमाएको थियो । छनोटअघि ओमानमै भएको चार देशीय सिरिजअन्तर्गतको पछिल्लो भेटमा युएई २५ रनले विजयी भएको थियो ।



‘प्लेर्स टु वाच’

वृत्य अरविन्द (युएई)

युएईका युवा विकेटकिपर ब्याटर वृत्य अरविन्द जारी छनोटमा उत्कृष्ट लयमा देखिएका छन् । छनोटको सर्वाधिक रनकर्ता उनले १४९.३२ को स्ट्राइक रेटमा तीन खेलमा दुई अर्धशतकसहित कुल २२१ रन बनाएका छन् । 

आयरल्यान्डविरुद्ध अविजित ९७ रन बनाएका अरविन्दले जर्मनीविरुद्ध ४० रन बनाउँदा बहराइनविरुद्ध अविजित ८४ रन जोडे । आफ्नो लयलाई कायम राख्न सके अरविन्द नेपालको दोस्रोपटक टी–२० विश्वकप खेल्ने सपनामा बाधक बन्न सक्छन् ।

जारी छनोटमा १४८ बलको सामना गरेका उनले २० चौका र आठ छक्का प्रहार गरेका छन् । अरविन्दले युएईका लागि १५ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा तीन अर्धशतकसहित ३७१ रन बनाएका छन् । 

सन्दीप लामिछाने (नेपाल)

नेपाली टोलीका कप्तान सन्दीप लामिछाने पनि जारी छनोटमा राम्रो लक्ष्यमा देखिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा शीर्ष स्थानमा रहेका उनले तीन खेलमा आठ विकेट हात पारेका छन् । 

लेग स्पिनर सन्दीपले फिलिपिन्स र क्यानडाविरुद्ध समान तीन विकेट हात पार्दा ओमानविरुद्ध दुई विकेट लिए । छनोटमा १२ ओभर बलिङ गरेका सन्दीपले ३.४१ को इकोनमीमा ४१ रन खर्चिएका छन् ।

यदी आफ्नो लयलाई आज पनि कायम राख्न सकेको खण्डमा उनी युएईका ब्याटरका लागि प्रमुख समस्या बन्न सक्छन् । सन्दीपले नेपालका लागि ३२ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ५८ विकेट हात पारेका छन् ।  

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार ११:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया