कार्यसूचीमै प्रवेश नगरी कर्णाली प्रदेश सभा बैठक बुधबारसम्मका लागि स्थगित

कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको दशौं बैठक कार्यसूचीमै प्रवेश नगरी आगामी बुधबार सम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा  एमालेको अवरोधका कारण सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी आगामी बुधबारसम्मका लागि स्थगित भएको हो ।

कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको सात बुँदे सहमति हालसम्म पनि कार्यान्वयन हुन नसकेको भन्दै एमालेले सदन अवरुद्ध गरको हो।
 
बैठकमा बोल्दै एमालेका नेता यमलाल कँडेलले सरकारसँग गरिएको सातबुँदे सहमति कार्यान्वयन नभएको कारण उठेर बैठकको अवरोध गर्नुपर्ने अवस्था आएको बताए।

आर्थिक वर्ष २०७८/०७९ को बजेट टुक्रे भएकोले विभिन्न कार्यक्रममा १५ लाखभन्दा कम रकम विनियोजन गरिएका बजेट कार्यान्वयन नगरिने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन सम्बन्धमा कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेश सभाका सदस्यको भूमिकालाई यथावत राखिने लगायतका सातवटा बुँदामा सरकार लगायतका शीर्ष नेताहरूले हस्ताक्षर गरे पनि कार्यान्वयन नगरेका कारण बैठकमा उठेर अवरोध गर्नुपरेको उनकाे भनाइ छ ।

सरकारले लिखित सहमति नजनाएसम्म बैठकमा अवरोध जारी राख्ने कँडेलले बताए । 

गत माघ १८ गते कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच बजेट कार्यान्वयन लगायतका विषयमा सातबुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयनका लागि लिखित सहमति नभएको कारण एमालेले सदन अवरुद्ध गरेको हो । 



आर्थिक वर्ष २०७८/०७९ को आर्थिक अध्यादेश र विनियोजन अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकको टेबल गर्ने कार्यसूची भए पनि प्रतिपक्षले अवरोध गरेका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। 



  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १७:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया