विद्यार्थीले आफ्नो क्षमता वृद्धि गरेर लेखन रणनीति सिक्न अनि एक शीर्षकमा आफ्ना विचारहरू तिखारेर सुन्दर रचना सिर्जना गरी त्यसलाई दृष्टान्तसहित चित्रण गर्न सक्छन भन्ने मुख्य उद्देश्य राखी अक्षरा स्कुलमा लेखक कार्यशालाको आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्ने लेखक कार्यशालामा विद्यार्थीहरूले नेपाली र अङ्ग्रेजी दुवै भाषामा कम्तिमा एक/एक पुस्तक लेख्ने गरेका विद्यालयले जनाएको छ ।
प्रक्रियागत रुपमा गरिने उक्त कार्यशालामा मस्तिष्क मन्थनबाट सुरु भएर विचार छनोट, लिखित तथा मौखिक सामग्रीहरू संकलन, खेस्रा लेखन, साफी लेखन, लेखाइको गुणस्तर बढाउने कार्य र त्यसको संशोधन गर्ने, व्याकरणलाई सुधार गर्ने र सम्पादन गर्ने अनि लेखिएका लेखलाई प्रकाशित गर्दै अन्त्यमा आफ्नो रचना प्रस्तुत गर्ने गरिएको विद्यालयको भनाइ छ । स्कुलले उत्सव रुपमा युवा लेखन सम्मेलन नाममा मनाइने गरेको छ।
उक्त परम्परालाई कायम राखेर विद्यालयले एघारौँ वार्षिक मनाइरहँदा यही फाल्गुण २० गते शुक्रबार लेखक कार्यशाला अन्तर्गत युवा लेखक सम्मेलन धुमधामसाथ मनाएको छ ।
कक्षा ८ र ९ का ८४ जना युवा लेखकका १६८ भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको उक्त सम्मेलनमा पाठक स्रोताको रुचि एवं चाहनाबमोजिम लेखक स्वयंले आफ्नो पुस्तकका बारेमा अङ्ग्रेजी र नेपाली भाषाका माध्यममा जानकारी दिएका थिए ।
अभिभावक, शिक्षक र अन्य कक्षाका विद्यार्थीले रुचिपूर्वक उक्त प्रदर्शनीको अवलोकन गरेक थिए । केही युवा लेखक आफ्ना रचनाकै पात्र बनेर प्रस्तुति दिएका थिए भने केही बालकविले आफ्नो कविता वाचन गरेका थिए ।
अक्षराका अनुसार भाषा सिकाइमा एक महत्वपूर्ण अङ्ग लेखक कार्यशाला हो । जुन शिक्षण सिकाइमा एक विद्यार्थी केन्द्रित रूपरेखा हो र यसमा विद्यार्थीले उत्कृष्ट लेखन रणनीति सिक्नेछन्, जुन विद्यार्थी आफैँले छनोट गरेका विषयमा बारम्बार र बढी समयका लागि लेख्दा राम्रोसँग लेख्न सिक्छन् भन्ने विचारमा आधारित छ ।
कार्यशालामा विद्यार्थीलाई आफ्नो रूचिअनुसार विभिन्न विषय र लेखन शैलीका विधा छनोट गर्ने अवसर दिइने विद्यालयले जनाएको छ । उनीहरूको लेखनका लागि कथा, कविता, तथ्यमा आधारित विधा, निबन्ध, जीवनी, रहस्य, काल्पनिक(स्वप्न), अपराध कथा, आत्मकथा, जीवनी, इतिहास, साहसिक कथा, आत्मपरक कथा आदि विभिन्न विधा दिइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।