logo-img

कांग्रेस धनुषा : दोस्रो चरणको निर्वाचनमा शेखर समूहको समर्थन निधि समूहका पजियारलाई

नेपाली कांग्रेस धनुषाको बिहीबार हुने दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गर्ने निर्णय गरेको छ । 

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका शेखर समूहका सभापतिका उम्मेदवार दिनेशप्रसाद प्रसैला यादवले अन्ततः निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन् । 

बुधबार साँझ जनकपुरधामस्थित निधिको निवासमा पत्रकार सम्मेलन आयोजना गरी शेखर समूहका नेता रामकृष्ण यादवले आफूहरुले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । 

कांग्रेसका पूर्वउपसभापति निधिले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा प्रसैलाले आफ्ना उम्मेदवार पजियारलाई समर्थन गरेकोमा धन्यवाद दिएका छन् । 

उनले दिनभरीको आन्तरिक छलफलपश्चात अबेर साँझ सहमति जुटेको बताए । उनले निर्वाचनपश्चात जिल्लाको दीर्घकालीन राजनीतिक गतिविधिमा सहकार्य र सहमतिमार्फत नै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार बिहान पुनः निर्वाचन हुन लागेको छ ।  



सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका थिए भने सभापतिका अर्का प्रतिद्वन्द्वी संतोष यादवले ८८२ र प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए । 

धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो । प्रसैलाले पजियारलाई समर्थन गरेसँगै उनको जित लगभग सुनिश्चित भएको छ ।



  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया