logo-img

जनयुद्धका घाइतेको प्रश्न : हाम्रो सपना कहिले पूरा हुन्छ ?

मर्न तयार भयौँ बरु झुकेनौँ युद्धमा 
गोली खान तयार भयौँ लुकेनौँ युद्धमा
अवसरवादी भए हाम्रा सबै नेताहरु,
हामीलाई बर्बाद बनाइयो किन, लगेर युद्धमा ?

उनी पटक–पटक यही भाव बोल्छन् र मुक्तकमार्फत आफ्नो वेदना अरुलाई सुनाउँछन् । उनी विभाजित वर्ग परिवर्तन गर्न चाहन्थे । कोही धनी नहून्, कोही गरिब नहून् र कसैको पेट भोको नहोस् । कसैलाई दुःख पर्दा संरक्षक कोही भइदियोस् । यस्तै व्यवस्था आउने आशामा उनी तत्कालीन माओवादीको सशस्त्र युद्धमा होमिएका थिए । 

पञ्चपुरी नगरपालिका ८ विद्यापुर सुर्खेतका चेतन सिग्देल २०६० सालमा नेकपा माओवादीको जनसांस्कृतिक संघमा आबद्ध भएका हुन् । त्योभन्दा पहिले उनले गाउँमै बसेर पार्टीलाई सहयोग गरे । 

जनमिलिसियाको प्रमुखको रुपमा उनले विद्यापुरमै बसेर काम गरे । साँच्चै परिवर्तन गर्नका लागि भूमिगत नै हुनुपर्छ भन्दै उनी जनसांस्कृतिक संघमा नृत्य र अभिनय गर्ने विधामा सहभागी भए । त्यति मात्रै होइन, अब परिवर्तनका लागि हतियार नै उठाउनुपर्छ भन्दै उनले २०६१ सालमा जनमुक्ति सेनाको सैन्य तालिम लिएर युद्ध लड्न तयार भए । त्यही युद्ध लडेकै कारण उनी अहिले बेसाहारा भएका छन् । 



२०६२ साल चैत्र २५ गते कपिलवस्तुको तौलिहवामा भएको दोहोरो भिडन्तमा गोली खाएका उनको देब्रे हात र खुट्टामा प्यारालाइसिस भएको छ । सामान्य हिँड्न मिले पनि उनको हात भने चलाउन मिल्दैन । 

वीरेन्द्रनगर १० बामेखोला सुर्खेतमा बस्दै आएका उनको सहारा श्रीमती नै हुन्, तर श्रीमतीको समेत आयस्रोत नहुँदा उनीहरु अहिले संकटमा छन् ।
 
‘हिजो युद्धको कमाण्ड गर्नेहरु कैयौँपटक मन्त्री बने,’ उनले भने,‘तर एकपटक सम्झने फुर्सद नेताहरुलाई छैन । त्यही युद्धले हामी भोकै नांगै हिँड्नुपर्ने अवस्थामा पुग्यौँ । त्यही युद्धले कसैले महल ठडाए ।’



शान्ति सम्झौता भएको १५ वर्ष पुगिसक्दा समेत न्याय नपाउँदा अब आफ्नै नेतृत्वका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
 
हिजो वर्ग व्यवस्थाविरुद्धमा लडेको लडाइँ आज आफ्नै नेता विरुद्ध लड्नुपर्ने अवस्था आएको भन्दै उनी यसको लागि सबै द्वन्द्वपीडितहरु एकजुट भएर लाग्नुपर्ने बताउँछन् ।
 
कपिलवस्तुको तौलिहवामा भएको भिडन्तको नेतृत्व जनार्दन शर्माले गरेको र उनलाई शान्ति सम्झौतापछि आजसम्म पनि भेट्नै नपाएको सिग्देलको गुनासो छ । 

कमाण्डरकै भूमिकामा रहेका तत्कालीन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा  भने ४० हजार रुपैयाँ भए पनि आफूहरुले पाएको उनले सुनाए ।
 
घाइते अपांगलाई जीवननिर्वाह भत्ता भन्दै दिइने ६ हजार भत्ता दुई वर्ष भयो उनले पाएका छैनन् । जीवन गुजारा गर्ने सहारा नहुँदा कैयौँ रात भोकै सुत्नुपर्ने अवस्था भएको उनी दुखेसो पोख्छन् ।
 
‘हिजो जनयुद्धमा नजा बेसहारा भइन्छ भन्नेहरुलाई ओठे जवाफ लगाएर व्यवस्था परिवर्तन गर्छु भन्दै हिँडियो,’ उनले मलीन अनुहार लगाउँदै थपे, ‘आज मसँग केही जवाफ छैन । तिनै आफन्तसँग कहिलेकाहीँ सहयोग माग्दा आज उसैगरी जवाफ पाइन्छ ।’



आफूजस्ता युद्ध लडेकाहरुको मनोभावना आफ्नो नेतृत्वले नबुझेको उनी गुनासो गर्छन् । आज आएको परिवर्तनमा हिजो भूमिका खेल्नेहरुको मूल्यांकन नभएको उनले बताए । टाठा–बाठाहरुले केही अवसर पाए पनि आफूहरुजस्ता हजारौँ बेसहारा भएको उनले सुनाए ।
 
उनलाई महिनामा एक हजारभन्दा बढीको औषधि खानुपर्छ । जीवनभर औषधि खानुपर्ने अवस्थामा जीवन गुजारा गरेका सिग्देल आफ्नो ठाउँमा अरु कोही भएको भए आत्महत्या गर्ने भन्दै आफू अझै नेतृत्वको विरुद्धमा आन्दोलन गर्न तयार भएको बताउँछन् ।
 
उनी मात्रै होइन, कर्णाली प्रदेशमा थुप्रै व्यक्ति यस्ता छन् । जसले युद्धमा लगाएको गुन नेतृत्वमा बस्नेहरुले तिर्न सकेका छैनन् । पटक–पटक द्वन्द्द्वपीडित र घाइते अपांगता भएकाहरुको विषयमा आयोजना हुने कार्यक्रममा दुखेसो पोख्नेबाहेक अन्य उपलब्धि नभएको पीडितहरुको भनाइ छ ।
  
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशका अनुसार प्रदेशभर ३ हजार २ सय ४७ अपांगता भएका, बेपत्ता र हत्या गरिएका छन् । यी राज्य र विद्रोही पक्ष दुवैतर्फबाट पीडित भएकाहरुको तथ्यांक हो ।
 
जसमा अपांग भएका ४ सय ३२, बेपत्ता पारिएका १ सय ९ र हत्या गरिएका २ हजार ७ सय ६ रहेको इन्सेकको तथ्यांक छ ।

  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया