कालीगण्डकी नदी छिट्टै विश्वसम्पदा सूचीमा सूचीकृत गरिनेछ : मुख्यमन्त्री पाेखरेल
फाइल फाेटाे

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको कालीगण्डकी नदीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । 

स्याङ्जाको चापाकोट नगरपालिका-८ खोरियाघाटमा जगदगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकीमाथि दार्शनिक प्रवचन कार्यक्रममा बाेल्दै पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका हुन्।

रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिबद्धता जनाएका छन् । 

उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्त्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’

विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरूले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए । 

गण्डकी प्रदेश सभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको उनको भनाइ थियो । 



कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ । 

त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्त्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । 



प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले जानकारी दिए।

गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले यसमा धार्मिक पर्यटन महत्त्वपूर्ण पाटो रहेको उनकाे भनाइ छ ।

स्याङ्जाको चापाकोटमा पहिलोपटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता पनि जनाए । 

कार्यक्रममा चापाकोट नगरपालिकाका मेयर शिव गिरीले झण्डै ५ वर्षको अवधिमा स्थानीय सरकारले नगरपालिकाको मुहार फेर्ने काम गरेको बताए ।

उक्त अवसरमा नगरपालिका उपमेयर विमला श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जा सचिव गुरुप्रसाद भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष भोजराज भण्डारी, स्थानीय रोहित विक, नवीन काफ्ले, गोकर्णप्रसाद भट्टराई लगायतले विकास निर्माणको आवश्यकताका बारेमा भनाइ राखेका थिए ।

  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार ८:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया