logo-img

यी युवा जसले नेपालमा आफूले बनाएको ‘करिकुलम’ विदेशमा 'बेचिरहेका' छन्

हजुरबुबा मोरङको आदर्श स्कुलमा अंग्रेजी शिक्षक हुने थिएनन् भने रोशन राठीको जीवनले कुन मोड लिने थियो, त्यो उनी आफैंले पनि कहिल्यै अनुमान गरेका छैनन्, नबाँचिएको जीवनको त्यो अड्कलबाजीमा उनी स्वयं परेका छैनन् । 

तर, हजुरबुबा अंग्रेजी शिक्षक भएकै कारणले हुनुपर्छ, रोशनले आफ्नो करिअर छाने, शिक्षामा ।

‘हजुबुबा टिचर हुनुहुन्थ्यो स्कुलमा, उहाँको अंग्रेजी नेपालमा निकै राम्रो अंग्रेजी भएका व्यक्तिमध्ये पथ्र्यो,’ केही दिनअघि भनिमण्डलमा रोशनले आफ्ना बाल्यकालका दिन सम्झिए, ‘त्यही कारण हुनुपर्छ, उहाँलाई नेपालका ठूला घरानाका व्यक्तिहरु भेट्न आउँथे । त्यसले मेरो बाल्यकालमा प्रभाव पारेको हुनुपर्छ, म कताकताबाट शिक्षा क्षेत्रमा जोडिए ।’

हजुरबुबाको प्रभाव सानैमा पर्नु मात्र होइन, शिक्षा क्षेत्रमा लाग्नुमा रोशनलाई उनको स्कुले र कलेजको जीवनले पनि अमिट छाप परेको छ । एसएलसीसम्म विराटनगरको एउटा स्कुलमा पढेर भारत पुगेका राठीले बल्ल थाहा पाए– अरुकोभन्दा त आफ्नो कन्फिडेन्स निकै कमजोर पो रहेछ ।

‘म सिक्न सक्छु भन्ने थियो,’ रोशन सम्झिन्छन्, ‘तर, सन् २००० मा विराटनगरबाट भारतको कलकत्ताको अशोक हल स्कुल पुग्दा बल्ल मलाई मेरो लेभल थाहा भयो । त्यो अरुको तुलनामा निकै कम थियो ।’ तर, आफू कमजोर छु भनेर चुपचाप बस्न तयार थिएनन्, रोशन ।

त्यति बेला रोशनलाई कलेजमा पढाउने अंग्रेजी शिक्षक थिइन्, मेडम दास । ‘म सिक्न सक्छु भन्ने थियो, त्यही भएर मेडमले मलाई सिकाउन थाल्नु भयो,’ रोशन अहिले पनि सम्झिन्छन्, ‘त्यति बेला मैले स्कुलको एउटा फङ्सनमा अंग्रेजी, हिन्दी र बंगालीमा एउटै गीत गाएको थिएँ ।’



विराटनगरबाट कलकत्ता पढ्न जानु, त्यहाँको प्रतिष्ठित स्कुलको वार्षिक समारोहमा आफूले जान्दै नजानेको भाषामा समेत गीत गाउनुले रोशनलाई दिएको थियो, एउटा ‘स्पार्क’ । त्यो झिल्को जसले रोशनालाई बुझाएको थियो– एकजना राम्रो मेन्टर भएको खण्डमा एउटा व्यक्तिका लागि असम्भव भन्ने केही पनि हुँदैन ।



रोशनले एमबिए पनि भारतमै गरे, पुणेको एउटा कलेजमा । त्यो कलेजमा उनका एक जना शिक्षक थिए, उनले भनिरहेका हुन्थे– जहाँ समस्या छ, त्यहाँ अवसर पनि छ । पुणेमा एउटा सामान्य कृषक परिवारमा जन्मिएका ती शिक्षकले पुणेमा नै प्रतिष्ठित कलेज सन्चालन गरिरहेका थिए । तिनै शिक्षक हुन्, जसले रोशनलाई समस्यामा अवसर खोज्न सिकाए ।

एमबिए सकिएपछि रोशन नेपाल फर्किए । आफूले सिकेकाे शिक्षालाई व्यवहारमा उतार्ने धाेकाे थियाे उनकाे । उनले दुई वर्ष जागिर खाए ।

‘एमबिए सकिएपछि नेपाल आएर मैले जागिर खाएँ,’ रोशन सम्झिन्छन्, ‘२ वर्ष काम गरिसकेपछि मैले जागिर खानुभन्दा केही गर्नुपर्छ भन्ने सोचेँ । अनि म यसमा लागेँ ।’

रोशनले यसमा भनिरहेको विषय हो, एलसिसीआइ ग्लोबल क्वालिफिकेसन अर्थात् एलसिसिआइ जिक्यू । एलसिसिआइ अहिले नेपालमा मात्र होइन, अब विदेशमा शीप सिकाउनका लागि सबैभन्दा प्रभावकारी करिकुलमका रुपमा विकास भइरहेको छ, यसले अन्तर्राष्ट्रिय बजारमा आफूलाई अब स्थापित गरिसकेको छ । याेबीचमा उनले पिएचडी पनि गरिसकेका छन् ।

नेपालमा ‘भोकेसेनल ट्रेनिङ’लाई एकेडेमिक कोर्ससँग जोडेर अहिले पनि सहजै स्वीकार गरिँदैन । झन् आजभन्दा १२ वर्षअघि त त्यस्तो छँदै थिएन । आखिर सन् २००९ मा नै यो विषयमा किन सोचे त उनले ?

‘यो वास्तवमा त्यति बेला शिपको अभाव जहाँ छ, त्यहाँ हामीले काम गर्नुपर्छ भनेर यो सुरु गरेका हौँ,’ उनले भने, ‘त्यति बेला हामीले एक दिने तालिमदेखि २ वर्षसम्मका तालिमका कोर्सहरुलाई डिजाइन गरेका थियौँ ।’ अहिले त ‘सफ्ट स्किल्स’, ‘म्यानेजमेन्ट स्किल्स’ तथा हस्पिट्यालिटीको क्षेत्रमा ७५ वटा विभिन्न कोर्स सन्चालन गरिरहेको छ, एलसिसिआइ जिक्यूले ।

तर, यहाँसम्मको यात्रा सहज थिएन । किनकि सन् २००९ मा सुरु गर्दा नेपाली समाजमा न ‘सफ्ट स्किल्स’बारे राम्रोसँग बुझिएको थियो, न शैक्षिक सर्टिफिकेट नदिने यो कोर्सको महत्त्व नै थाहा भइसकेको थियो । यी अप्ठ्यारा र रमाइला क्षण रोशनले पनि अनुभव गरे । 

‘म आफैं गएर कलेजमा यो विषयमा छलफल गर्न गइरहेको थिएँ, त्यति बेला धेरै कलेजहरु खुलिरहेका थिए,’ उनले भने, ‘मैले विभिन्न कलेजमा आफूहरु किन फरक छौँ भनेर बुझाइरहेको थिएँ । त्यति बेला सफ्ट स्किल्स भनेको सफ्टवेयरबारे हो कि भन्ने पनि थियो ।’ आफ्ना कार्यक्रम नबुझिएला कि भन्ने डर रोशनलाई थियो, तर उनले हिम्मत हारेनन् ।

‘हाम्रो कन्टेक्स्टमा भोकेसेनल ट्रेनिङको व्याख्यालार्ई गलत तरिकाले गरिइरहिएको छ,’ रोशन भन्छन्, ‘भोकेसनल ट्रेनिङ त जसले पनि लिनुपर्छ, कलेज ड्रपआउटले मात्र भोकेसेनल ट्रेनिङ लिने भन्ने भाष्य गलत तरिकाले स्थापित भइरहेको छ ।’ उनी त लाइफ स्किल र भोकेसेनल स्किलका कोर्सहरु सबैले गर्नु पर्ने बताउँछन् । एउटा विज्ञान पढेको विद्यार्थीले आफ्नै व्यवसाय, स्टार्टअप सुरु गर्दै छ भने उसले म्यानेजमेन्ट वा एकाउन्टको तालिम लिँदा अझ उसलाई थप फाइदाजनक हुनसक्छ । 

‘अनि त्यस्तो अवस्थामा एलसिसिआइ जिक्यूलाई सम्झिनु भए हुन्छ,’ रोशन भन्छन्, ‘तर, हामी व्यक्तिगत तालिमलाई भन्दा पनि शिक्षण सँस्थाहरुसँग जोडिएर अझ प्रभावकारी रुपमा काम गरिरहेका छौँ भन्ने ठान्छौँ । यसको अर्थ व्यक्तिगत रुपमा हाम्रोमा तालिम लिन सकिँदैन भन्ने चाहिँ होइन ।’

त्यसो त विभिन्न कलेजहरुले सन् २०१० को सुरुवातमा रोशनहरुले आफ्ना करिकुलम वा प्रोगाम बनाउँदा पनि त्यसको महत्त्व पूर्णरुपमा बुझेका थिएनन् । त्यसैले यसका लागि निकै ठूलो चुनौतिको सामना गरे, रोशन र उनको टिमले ।

नेपालमा विस्तारै विदेशी डिग्री वा प्रोग्रामलाई पढाउन थालिएको थियो । त्यसको ठ्याक्कै उल्टो रोशनहरुले नेपालमा कोर्स, करिकुलम र प्रोग्राम बनाएका थिए, एउटा प्राइभेट संस्थामार्फत् र त्यसलाई नेपालका कलेजहरुमा नै बेच्न खोजिरहेका थिए ।

‘हामीले खासमा यो नयाँ आविष्कार गर्न खोजेका थियौँ,’ रोशन भन्छन्, ‘त्यति बेला विदेशका प्रोग्राम नेपालमा आउने कुरा सहजरुपमा लिन थालिएको थियो, नेपालका विश्वविद्यालयबाट सम्बन्धन लिने कलेज थिए । तर, तिनै कलेजमा हामी जाँदा त्यति सहज रुपमा हाम्रो प्रोग्रामलाई लिइएको थिएन ।’

हिम्मत त त्यति बेला पनि हारेका थिएनन्, रोशनले । अहिले त उनले सफलताको एउटा श्रेणी पार गरिसकेका छन् । अनि विगतलाई फर्किएर हेर्दा त्यसलाई सहज रुपमा लिन थालिसकेका छन् ।

अनि योबीचमा उनले बुझेका छन्, ‘हाम्रो कोर्सको भ्यालु एडिसनलाई कलेजहरुले बुझ्न थालेका छन्, नयाँ फ्लेवर, नयाँ कन्सेप्टका लागि पनि हाम्रो कोर्सहरुको आवश्यकता छ भन्ने बुझिसकेका छन् ।’ अब त उनीसँग यो कन्फिडेन्स किन पनि बढेको छ भने नेपालमा बनाएको यो कोर्सले अब विश्वस्तरीय बेन्चमार्क पनि पाइसकेको छ । 

‘हामीले युरोपियन क्वालिफिकेसन फ्रेमवर्कबाट बेन्चमार्क गरिसकेका छौँ,’ रोशन भन्छन्, ‘हामीले इनोभेटिभ कन्सेप्ट ल्याएका थियौँ, यसलाई विश्वस्तरमा आफूलाई बेन्चमार्क गर्न पनि हामी पछाडि परेनौँ ।’ त्यसैले अहिले एलसिसिआई जिक्यू गर्ने विद्यार्थीहरुले यसलाई युरोपेली युनियनबाट बेन्चमार्कका रुपमा लिनसक्छन्, त्यसको सर्टिफिकेट पाउन थाल्छन् । 

यसको अर्थ हो– एलसिसिआइ जिक्यूको कोर्स गरिसकेको विद्यार्थीले नेपालमा पढिसकेको छ भने उसले अन्तर्राष्ट्रिय क्रेडिट आउर ट्रान्सफरको सुविधा पाएको छ । ‘हाम्रो कोर्स पढेको विद्यार्थीको मापदण्ड युरोपबाट बेन्चमार्क भएको हो, त्यसैले यो हाम्रो विद्यार्थीलाई झन् राम्रो कुरा हो,’ रोशन भन्छन्, ‘त्यसैले यो कोर्स स्विट्जरल्यान्डमा पढ्नु, युकेमा पढ्नु र नेपालमा पढ्नु भनेको एउटै हो ।’ यसका लागि उनीहरुले नेपालका विभिन्न सहरमा विभिन्न सेन्टरहरु पनि स्थापित गरेका छन् ।

एउटा कुनै विद्यार्थीले प्लस टु सकेपछि उसले कुनै कोर्समा भर्ना हुन खोजेको छ र त्यही समयमा वैकल्पिक शिक्षाका रुपमा एलसिसिआईलाई लिन सक्छ । ‘२१ महिनाको यो कोर्स सकेपछि विद्यार्थीले क्रेडिट आउर पाउँछ, अनि उसले विभिन्न कलेजमा नेपालमा वा विदेशमा भर्ना लिन पाउँछ,’ रोशन भन्छन्, ‘अब त हाम्रो कोर्स विदेशमा पनि गइसकेको छ ।’

त्यसैले त अहिले उनीहरुले आफ्नो स्लोगन नै बनाएका छन्– डेभलप्ड इन नेपाल, रिकगनाइज्ड ग्लोबल्ली ।

अनि यसको प्रमाण बनेको छ, बंगलादेश । बंगलादेशमा रोशनहरुले आफ्नो करिकुलमलाई त्यहाँको कलेजमा लागू गरे, सन् २०१८ मा । ‘अहिले त्यहाँ हाम्रो चौथो ब्याज पढिरहेको छ,’ रोशनले भने, ‘हामीले त्यहाँ सन् २०२१ मा एउटा कन्भोकेसन पनि गरेका थियौँ ।’

कन्भोकेसन पनि एलसिसिआईले त्यहाँको कुनै स्टार होटलमा गरेन । त्यहाँको नेपालस्थित राजदूतावासमा गर्यो ।

‘मैले पहिले राजदूत महामहिमलाई यो कोर्सबारे र हामीले गर्न खोजेको कार्यक्रमबारे बुझाएँ,’ रोशनको अनुहार उज्यालो भयो, ‘उहाँ हाम्रो कुरा सुनेर निकै खुसी हुनुभएको थियो ।’

अनि नेपालको झन्डालाई आफ्नो छेउमा राखेर विदेशमा पहिलो पटक नेपाली शैक्षिक करिकुलमलाई विदेशमा ‘बेचेको’ कुरामा गर्व गरे, रोशनले । अब त एलसिसिआई बंगलादेशमा मात्र होइन, रुवान्डामा पनि सुरु गर्ने तयारी गरिसकेका छन् उनीहरुले । अनि आइटी सर्टिफिकेसन, एनिमेसन र एड्भेन्चर टुरिजमको क्षेत्रमा पनि काम गर्ने तयारीमा छन्, उनीहरु ।

‘हामी यसलाई नेपालभित्र मात्र होइन, विदेशमा पनि बढाउँदै लैजाने तयारीमा छौँ,’ रोशन भन्छन्, ‘नेपालमा बनेको शिक्षाको करिकुलम विदेशमा बेचिरहेका छौँ भन्दा नै गर्व महसुस हुन्छ ।’

नहोस् पनि किन, हजुरबुबा शैक्षिक क्षेत्रमा लागेकाले नै रोशन राठीको मनमा यही क्षेत्रमा ‘हाम्फाल्ने’ भावना विकास भइसकेको थियो । अहिले उनी शिक्षाको क्षेत्रमा नेपालमा मात्र होइन, विदेशी समुद्रमा पनि पौडिन थालिसकेका छन् ।

  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया