जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी गरिएकाे छ ।
संविधान र बालबालिकासम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।
बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् ।
‘कक्षा ८ देखि १० सम्मका किशाेरकिशाेरीले पनि विवाह गरेको पाइयाे । यसलाई राेक्न विद्यालयस्तरमा कक्षा दिन थालिएकाे छ’, उनले भने ।
गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ ।
सातवटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएकाले उनले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने यो पालिका भएकाे दाबी गरे ।
उनका अनुसार बालविवाहमुक्त गाउँ (टोल) हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घाेषणा गरिनेछ ।
जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेकाे बताइन् ।
बालविवाह गर्ने गराउनेलाई ३ वर्ष कैद र जरिवानाकाे व्यवस्था रहेकाे बताउँदै उनले त्यस्ताे विवाह नै स्वतः रद्द हुने बताइन्
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।