ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको इजाजतपत्र दिइने बताएकी छिन् । सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भए पनि प्रक्रियागत रुपमा कानुन मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उनले बताइन् । संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको इजाजतपत्र दिइने उनले बताइन् ।
‘हामीले झन्डै तीन महिना लगाएर एकदमै विज्ञ, विशेषज्ञ सबैलाई राखेर अध्ययन गराएर अनि लाइसेन्स दिने कार्यविधि, नियमावली सबै तयार पा¥यौँ,’ उनले भनिन्, ‘अब हामी एउटा क्यबिनेटमा लगेर ल्याउँछौँ भन्ने बेलामा हामीले अर्थ र कानुन पठाउने हाम्रो प्रावधान छ ।’
मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । पेट्रोलियम पदार्थको विकल्पका रुपमा जलविद्युत्लाई लिइनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘पेट्रोलियम पदार्थको बेलगाम मूल्यवृद्धि भइराखेको छ । संसारका कोही देशलाई त्यसको सायदै विकल्प होला, हामी नेपालीसित विकल्प छ । हामीसित जलस्रोत छ ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय उपकरणको प्रयोगलाई बढावा दिनेगरी नीतिगत रुपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने पनि बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।