३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) मोरङका अधिकांश उम्मेदवार टुंगो लगाएको छ । विराटनगर महानगरसहित केही पालिकामा बाँकी रहेपनि अन्य पालिकाका उम्मेदवार टुंगो लागेकाे हाे ।
एमालेले दक्षिण पूर्वी मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरादेवी दासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै रतुवामाई नगरपालिकाको मेयरको टिकट दुर्गा विष्टले पाएका छन् । नगरपालिकाको उपमेयरका भने टुंगो नलागेको जनाइएको छ । उपमेयरमा मा दमयन्तादेवी चुँडाल, सीता भुजेल, देवी गौतमको नाममा छलफल भइरहेको स्रोतकाे दाबी छ ।
रंगेली नगरपालिकाको मेयरमा दिलिप बगडीयालाई यसअघिनै सर्वसम्मत अघि सारिसकेको छ । उनलाई केही साता अघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओली रंगेली पगेर पार्टी प्रवेश गराएका थिए ।
बगडीया २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । एमालेले सो नगरपालिकाको उपमेयरमा भूमा पराजुलीलाई अघि सारेको छ ।
त्यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा मुसहरु मण्डल पनि सर्वसम्मत छनौट भएका थिए ।
उपाध्यक्षको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जहदाका उपाध्यक्षमा अनिता सोरेनको निश्चित हुँदा अध्यक्षको टुगो लाग्न बाँकी छ ।
कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीमा मेयरमा ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनले उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै उर्लाबारी नगरपालिकाको मेयरका लागि गंगा खरेल र उपमेयरमा मीना पौडेलको नाम फाइनल भएको एक नेताले जानकारी दिए ।
आइतबार र सोमबार उम्मेदवारी दर्ता हुने भएकाले नेताहरुले सवै पालिकाका प्रमुख र उपप्रमुखको नाम आइतबार विहानसम्म टुङ्ग्याउने बताइएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै, एउटामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुखमा विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।