logo-img

कोमामा पुगेको एउटा स्कुलको कथा
काठमाडौंको एउटा स्कुल, जो सरकारी रेकर्डमा खुल्ला छ तर स्कुल भवन र चौरसँग विद्यार्थीहरुको सम्झना मात्र बाँकी छ

काठमाडौं– खण्डहरजस्तो लाग्ने एकतले भवन । आँगन र कोठामा निर्माण सामग्री राखिएका । झट्ट हेर्दा गोदामजस्तो लाग्ने यी कोठामा कुनै बेला स–साना नानीहरु पढ्थे । र, यो हो– कीर्तिपुर–१५, टौदहस्थित जलविनायक आधारभूत विद्यालय । 

विद्यालयका कोठा र चौरमा विद्यार्थी छैनन्, केवल उनीहरुको सम्झना मात्र बाँकी छ । कुनै ठेकेदारले गोदामका रुपमा प्रयोग गरिरहेको यो स्कुल अहिले बन्द छ । प्रधानाध्यापक प्रह्लाद बस्नेत स्वयं कीर्तिपुर नगरपालिकामा हाजिरी जनाइरहेका छन् । 

स्थानीय बासिन्दाका अनुसार दुई वर्षदेखि स्कुल बन्द छ । प्रधानाध्यापक बस्नेत भने गत साउनदेखि बन्द भएको दाबी गर्छन् । उता, सरकारी तथ्यांकमा भने यो विद्यालयमा अझै ९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।



शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंको २०७५ को विद्यार्थी विवरणले उक्त विद्यालयमा कक्षा १ मा ३ जना, कक्षा २ मा ४ जना र कक्षा ३ मा २ जना गरी जम्मा ९ जना विद्यार्थी अध्ययन गरिरहेको देखाउँछ । विद्यालय निरीक्षक लक्ष्मी धिताल पनि विद्यालयमा अझै ९ जना विद्यार्थी अध्ययनरत रहेको बताउँछिन् । 

गत पुस २ सम्म त्यस क्षेत्रमा विद्यालय निरीक्षक रहेका रामहरि थापा उक्त विद्यालयलाई अर्को विद्यालयमा मर्ज गर्ने कुरा भएको बताउँछन् । ‘विद्याथीे संख्या न्यून भएका कारण विद्यालयलाई मर्ज गर्ने छलफल तीन महिनाअगाडि नै चलेको हो,’ उनी भन्छन्, ‘तर तथ्यांकमा मर्ज भएको वा बन्द गरेको कुनै पनि जानकारी छैन ।’ 



स्थानीय सरकार गठन हुनुअघि स्रोतव्यक्ति र विद्यालय निरीक्षकले विद्यालय हेर्ने गर्थे । निरीक्षक थापा भन्छन्, ‘स्थानीय सरकार गठन भएपछि विद्यालय बन्द वा मर्ज के गर्ने, त्यो निर्णय गर्ने जिम्मा स्थानीय तहलाई नै छ । विद्यालय बन्द भएको भए तथ्यांक जिल्ला शिक्षा कार्यालयमा हुनुपर्ने हो । तर, त्यो जानकारी आएको छैन ।’ 



जिल्ला शिक्षा कार्यालय काठमाडौंको तथ्यांकमा विद्यालय बन्द भएको देखिँदैन छैन । शिक्षकशिक्षिकालाई भने अन्यत्र खटाइसकिएको छ । विद्यालय निरीक्षक धितालको तर्कचाहिँ अलि भिन्नै छ । विद्यार्थी नभएर शिक्षकशिक्षिकालाई अन्यत्र खटाइएको उनको तर्क छ । उनी भन्छिन्, ‘भोलि विद्यार्थी आए वा स्थानीयले विद्यार्थी पठाएमा फेरि सञ्चालन हुने भएकाले विद्यालयलाई बन्द भएको भन्न मिल्दैन ।’ 

विद्यालयलाई मर्ज वा बन्द गर्दा त्यहाँको भौतिक संरचनालाई पनि त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने उनी बताउँछिन् । उनको दाबी छ, ‘विद्यालयको भवन हुँदासम्म बन्द भएको भन्न मिल्दैन ।’ वैशाखमा भर्ना भएका विद्यार्थीको तथ्यांक सरकारी रेकर्डमा कायम रहेको उनको दाबी छ । विद्यार्थी फर्किएर आउने वा पुनः भर्ना भएर आउन सक्ने सम्भावना रहेसम्म तथ्यांकमा विद्यालय बन्द भएको भन्न नपाइने जिकिर उनी गर्छिन् । 

बाँकी केवल सम्झना

विद्यालयकै अघिल्तिर घर भएकी कान्छी रैलासँग यो स्कुलका धेरै सम्झना छन् । उनले देखेको सत्य के हो भने विगत दुई वर्षदेखि विद्यालयमा कोही आएका छैनन् । विद्यालयमा पढाइ सञ्चालन भएको पनि छैन ।

सुरुवातका दिनमा आफूले पनि स्कुललाई सहयोग गरेको सम्झिँदै रैला भन्छिन्, ‘चार गाउँका मानिस मिलेर स्कुल बनाएका थियौँ ।’ बोर्डमा स्थापना काल विसं २०४५ लेखिए पनि विद्यालयको सुरुवात त्योभन्दा अगाडि नै भएको रैलाको दाबी छ । पञ्चायतकालमा चोभारका प्रधानपञ्च ‘शिशिर बाजे’ले विद्यालय निर्माणमा सहयोग गरेको जानकारी उनले दिइन् ।

सानो टहराबाट सुरु गरेको स्कुलको भवन निर्माणमा स्थानीयको श्रम र सहयोग मिसिएको छ । कान्छीले पनि स्कुल भवन निर्माणका बेला ढुंगा, बालुवा बोकेकी थिइन् । उनी भन्छिन्, ‘गाउँमा कुनै स्कुल थिएन । सबैको सल्लाहले स्कुल सुरु गरेका थियौँ ।’

भवन निर्माण नहुँदासम्म टहरामा विद्यार्थी राखेर गाउँकै पढेलेखेका मधु र नवराज सरले पढाएको सम्झना उनलाई अझै टड्कारै आउँछ । पहिलो स्कुल राम्रो थियो, त्यस क्षेत्रमा महत्वपूर्ण पनि थियो । तर, उनको आँखैअगाडि स्कुल बिग्रँदै गयो र बन्द भयो ।

अर्का स्थानीय सागर बस्नेतसँग पनि यो स्कुलसँग जोडिएको सम्झना छन् । उनी सुनाउँछन्, ‘म जलविनायकमा पढ्दा वरपर कुनै पनि स्कुल थिएन । २०५० सालमा मैले यही स्कुलमा पढ्न सुरु गरेको थिएँ । पाँच कक्षासम्म यहीँ पढेपछि म टौदह स्कुलमा पढ्न गएको हुँ ।’

‘सबै छोराछोरी पाँच कक्षासम्म यहीँ पढ्थे,’ उनी सम्झनाका पोया फुकाउँछन्, ‘पछि अरु विद्यालयको पनि स्थापना हुन थाल्यो । जलविनायक विद्यालयमा पढाइको स्तर पनि खस्किँदै गयो । पछिल्लो समय सबैले आफ्ना छोराछोरीलाई निकालेर अरु विद्यालयमा पठाउन थाले ।’

विद्यार्थी घटेपछि स्थानीय युवाको पहलमा स्कुलको पर्चा छाप्ने र बाँड्ने काम पनि भएको थियो । त्यसबाट पनि कुनै उपलब्धि नभएको सम्झिँदै सागर भन्छन्, ‘स्कुलमा पढाइ नै राम्रो भएन, सबैको विश्वास हट्यो ।’

हरेक सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति हुन्छ । जलविनायक विद्यालयको भने व्यवस्थापन समिति पनि जीवित छैन । नगर शिक्षा अधिकृत ओमबहादुर विकका अनुसार नयाँ व्यवस्थापन समितिको गठन प्रक्रिया चल्दाचल्दै स्कुल बन्द भएको हो । 

  • प्रकाशित मिति : पुस १६, २०७५ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया