हुम्ला विमानस्थलमा पहुँचवालाले पाउँछन् टिकट, सर्वसाधारणले खेप्छन् सास्ती

हुम्लाको सिमकोट गाउँपालिका–२, छेयका मनोज बोहोराले हुम्ला विमानस्थलमा विमानको टिकटका लागि धाउन थालेको एक हप्ता पुगिसकेको छ । स्थानीय निर्वाचनका लागि जन्मस्थान हुम्ला पुगेका बोहोरा गत ३ जेठदेखि सुर्खेत फर्कन खोजिरहेका थिए । तर, हालसम्म पनि बोहोराले प्लेनको टिकट भने पाएका छैनन् ।

उनले भने, ‘हरेक दिन एयरपोर्ट धाउनुपर्ने बाध्यता भएको छ । समयमै सुर्खेत झर्नुपर्ने आवश्यकता हो । तर, यता प्लेनको टिकट नपाएपछि भने सुर्खेत झर्न पाइएको छैन ।’

बोहोरा सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छात्र हुन् । विश्वविद्यालयमा सोमबारदेखि परीक्षा सञ्चालन हुँदैछ । फरधारकर्मीसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘सोमबारदेखि मेरो दोस्रो सेमेष्टरको परिक्षा सञ्चालन हुँदैछ । यता प्लेन टिकट नपाएर बसेको छु ।’

हुम्ला विमानस्थलमा अहिले सुर्खेत र नेपालगञ्जका लागि दैनिक एक–दुई उडान मात्र भएका छन् । निर्वाचनका लागि गाउँ फर्किएका यात्रुको चाप विमानस्थलमा बढेको छ ।

बोहोराका अनुसार हुम्ला विमानस्थलमा टिकट नपाएर सास्ती पाएका यात्रुहरूको संख्या ५०–६० जना रहेको छ । स्थानीय निर्वाचन समयमा नेताहरूले नै विमान चार्टर गरेर मतदातालाई जिल्ला भित्रिएका थिए ।



बोहोराले भने, ‘चुनाव अघि नेताहरूले विमान चार्टर गरेरै पनि ल्याएका थिए । अहिले फर्कने समयमा नियमित उडान नभएपछि टिकट पाउनै मुस्किल भएको छ ।’ विमान टिकट नपाउनेहरूमा धेरै विद्यार्थी रहेको बोहोराले बताए ।



टिकट नपाएर यात्रुले सास्ती भोगिरहेको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारसँग बुझ्न खोज्दा उनले यात्रुलाई सास्तीको अवस्था नरहेको बताइन् ।

निर्वाचन सकिएलगत्तै विमानस्थलमा यात्रुको चाप बढेको र कम संख्यामा उडान भइरहेको समयमा केही भीड भए पनि हाल विमानस्थलमा हवाई टिकटको पहुँच सहज रहेको प्रजिअ परियारले जनाइन् ।

विमानस्थलमा टिकटका विषयमा सीता एयरका हुम्ला प्रमुख सरस्वती लामासँग फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । यसका साथै सीता एयरका अर्का कर्मचारी नर्वुलामाको समेत फोन उठेको छैन ।

भिडियो

  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १५:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया