निरन्तरको वर्षाले बाढी र पहिरो, कहाँ-कहाँ भए सडक अवरुद्ध ?
फरकधार / १५ असार, २०७९

अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । 

सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपी राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  



यस्तै। सिन्धुलीकै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दुवै स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ । 



दार्चुलाको शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको भएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

मोरङको लेटाङ नगरपालिका–३ फायर लाईनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रुख लडेर सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

बागलुङको गल्कोट नगरपालिका–७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

प्युठानको सरुमारानी गाउँपालिका–४ अँधेरी खोला, पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ । साथै माण्डबी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाडाँडा र अस्थायी प्रहरी पोष्ट चकचकेबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । 

धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वयमा सडक एकतर्फी सूचारु गराएको छ । 

दाङको घोराही उपमहानगरपालिका–१३ बगालेमा भेरे खोलामा मंगलबार राति आएको बाढीका कारण घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बाढीमा फसेका दुईवटा सवारी साधन निकाल्नुका साथै एउटा डबल क्याप जिप निकाल्ने पहल गरिरहेको छ ।  

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

नवलपरासी(पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल बर्षाको कारण बुधबार बिहान बगाएको छ । ड्राईभर्सन बगाउँदा पूर्वपश्विम राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

धनकुटाको धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

उदयपुरको कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी घुर्मीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका–१० खैराझोडा र सोही नगरपालिका–९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अवरोध भएको छ । उक्त स्थानमा तत्काल इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी खटिएको छ । 

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।   

  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १६:९:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया