नेपाल आयल निगमले आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू गर्न माग गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले यसअघि जेठ महिनाभर आइतबार सार्वजनिक बिदा गरेको थियो ।
चौतर्फी विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको थियो । आइतबार बिदा गर्दा पेट्रोलियम पदार्थको खपतमा ११ प्रतिशतले कमी आएको निगमले बताएको थियो ।
सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमले सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । ‘एकपटकमा मोटरसाइकललाई बढीमा ५ लिटर तथा कार र जिपलाई २० लिटर मात्रै इन्धन दिन आग्रह गरिएको छ,’ प्रवक्ता उपाध्ययले भने, ‘यसबाहेक शनिबार देशका प्रमुख सहरमा सवारीसाधन निषेध गर्नेलगायत १० वटा सुझाब सरकारलाई पेस गरेका छौँ ।’
निगमले सरकारलाई पठाएको सुझाबमा डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रेसहितका सबैखाले सवारीसाधान पूर्ण क्षमतामा सञ्चालन गर्न, जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दूरीमा सवारी साधनको प्रयाग नगर्न, ढुवानीका सवारीसाधन पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
निगमले अधिकतम मात्रामा सवारीसाधन तथा घरायसी प्रयोगमा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई भनेको छ । इन्धनको खपत नघट्ने र आर्थिक स्रोत पनि नजुट्ने अवस्था बनेपछि सरकारसँग फेरि खपत कम गर्ने उपायका लागि आग्रह गरिएको उपाध्यायले बताए ।
‘गत चैत १३ गते पनि हामीले यस्तो प्रस्ताव गरेका थियौँ । बिदाले पेट्रोलको खपत घटेको पनि थियो, तर सरकारले त्यो व्यवस्था हटायो,’ उनले थपे, ‘अवस्था फेरि जटिल बन्दै गयो अब फेरि खपत कमका उपायमा नगई नहुने अवस्था बन्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।