logo-img

गठबन्धन टुटे देश दुर्घटनातर्फ जान्छ : धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उपसभापति गुरुङले​ गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए । उनले आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्ने बताए ।

उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एकअर्काप्रति आरोपप्रत्यारोप गर्न नहुने पनि बताए । जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने पनि उनले उल्लेख गरे । उपसभापति गुरुङले गठबन्धनकै दलहरूले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए ।

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ । जहाज उडिसकेको छ । आकाशमा छ । तर ल्यान्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्यान्डिङ गर्नुपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ की भन्ने पनि हामीलाई त्रास छ । जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ । १० हजार, साढे १० हजार फिट माथि उडिरहेको छ, अहिले जहाज । अब त्यसलाई सेफ ल्यान्डिङ गर्ने बेलामा कसैले कांग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा सुरु गर्ने हो भने जहाजले सेफ ल्यान्डिङ गर्न सक्दैन,’ उनले भने । 

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेको पुष्टि हुने दाबी पनि गरे । उनले सधैँ देश गरिब बनाएर काम गर्न नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुन दृष्टि राख्न आवश्यक रहेको बताए ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया