कांग्रेस बैठक : पार्टी र सरकारको डेलिभरीलाई लिएर देउवाको कडा आलोचना
फाइल तस्वीर

नेपाली कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापतिले पार्टी एकलौटी चलाउन खोज्दा समस्या भएको बताए । उनले गत महाधिवेशनमा पराजित शेखर कोइराला समूहलाई बाइपास गरेर अघि बढेको भन्दै सभापति देउवाको चर्को आलोचना गरेका छन् ।

‘शेखर कोइराला समूहलाई पूरै बाइपास गरेर अघि बढ्नु भएको छ, यसरी पार्टी चल्दैन’, उपसभापति गुरुङले भने, ‘त्यसमाथि सरकारले कुनै गतिलो काम गरेको छैन, प्रशासनिकबाहेक सम्झनायोग्य काम नगरेर सरकार कांग्रेसको हो भन्ने देखाउन सक्ने अवस्था छैन ।’

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सरकारको डेलिभरीको विषयलाई लिएर सभापति देउवाको आलोचना गरेका छन् । 

तत्कालीन केपी शर्मा ओलीको सरकारकै पथमा प्रधानमन्त्रीसमेत रहेको देउवा हिँडेको भन्दै संघीय संसदको निर्वाचनमा मत माग्ने एजेन्डा कांग्रेससँग नभएको टिप्पणी गरेका छन् ।



‘हिजो ओलीजीले जे–जे गलत गर्नुभयो, त्यसको हामीले आलोचना गर्दै आएका थियौ तर अहिले अहिले प्रधानमन्त्रीले त्यही त्यही काम गरेर हिँड्नु भएको छ, जसका कारण अबको निर्वाचनमा कांग्रेसले के भनेर भोट माग्ने ? त्यो सभापतिले देखाई दिनुपर्छ’, महामन्त्री थापाले बैठकमा भने । 

बहुमतको आधारमा संवैधानिक निकायमा नियुक्ति गर्न सकिने संवैधानिक परिषद् विधेयक ल्याएको विषयलाई जोड्दै सो विधेयक तत्काल फिर्ता गर्नुपर्ने थापाको जोड छ ।



अर्का महामन्त्री शर्माले पनि संवैधानिक परिषद् विधेयक सरकारले फिर्ता गर्नुपर्नेमा जोड गरेका छन् । 

‘संवैधानिक परिषद् विधेयक फिर्ता गर्नुपर्छ, सभापतिले त्यो फिर्ता गर्नु भएन भने हामीले टाउको लुकाएर हिँड्नु पर्ने दिन आउँछ,’ महामन्त्री शर्माले भने, ‘सभापतिले हामीलाई टाउको लुकाएर हिँड्नुपर्ने अवस्था बनाइदिनु भएन ।’ 

उता, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले नेपाल विद्यार्थी संघ र तरुण दलको नियुक्ति प्रक्रियामा शेखर कोइराला पक्षधरलाई बाइपास गरेर अघि बढेको भन्दै आलोचना गरेका थिए ।

  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २१:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया